२५ जेठ २०८३, सोमबार

अभिभावक अपाङ्गता भएका र संरक्षित परिवारका बालबालिकालाई पनि महानगरको छात्रवृत्ति कोटा

जेठ ४, २०८३
काठमाडौं
अभिभावक अपाङ्गता भएका र संरक्षित परिवारका बालबालिकालाई पनि महानगरको छात्रवृत्ति कोटा

काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिमा अपाङ्गता भएका अभिभावकका सन्तति र संरक्षित परिवारका बालबालिकालाई आरक्षित समूहमा आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । 

जेठ ३ गते बसेको ४९ औं कार्यपालिका बैठकबाट पारित गरिएको काठमाडौं महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८३ मा यो व्यवस्था थप गरिएको हो । 

यसअघि नीतिबाट सञ्चालन भइरहेको छात्रवृत्ति वितरणलाई व्यवस्थित, गुणस्तरीय, न्यायोचित, विश्वसनीय, स्वचालित र दिगो बनाउने उद्देश्यले कार्यविधि जारी गरिएको हो ।

कार्यपालिका बैठकमा शिक्षा स्वास्थ्य समितिका तर्फबाट शिक्षा अधिकारीले कार्यविधि पेस गरेका थिए । यसमा भएका व्यवस्था माथि आशामान संगत, दलबहादुर कार्की, विमलकुमार होडा र रामकुमार केसीले धारणा राखेका थिए ।

उनीहरूले पेस गरेको संशोधन सम्बन्धी बुँदालाई समेटेर बैठकका अध्यक्ष तथा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यविधि पारित गर्ने प्रस्ताव पेस गरेकी थिइन् । 

कार्यविधिमा छात्रवृत्तिलाई परिभाषित गर्दै कक्षा ११ र १२ मा निजी शिक्षण संस्थाले काठमाडौं महानगरपालिकाबाट यसै कार्यविधि अनुसार छनोट गरेर अध्ययनका लागि सिफारिस गरेका विद्यार्थी वा तिनका अभिभावकबाट प्रचलित कानूनबमोजिम सरकारलाई तिर्नुपर्ने शुल्क वा दस्तुर बाहेकका कुनै पनि शीर्षकमा कुनै पनि शुल्क नलिने गरी प्रदान गरिने अध्ययन सुविधा भनेर परिभाषित गरेको छ । 

गएको वर्षसम्म सबै विद्यालयले १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनु पर्ने थियो । अब विद्यार्थी संख्याको आधारमा छात्रवृत्ति निर्धारण हुनेछ । जसअनुसार ५ सयजना भन्दा कम विद्यार्थी भएका विद्यालयले न्यूनतम्  १० प्रतिशत, ५ सयदेखि ८ सय जनासम्म विद्यार्थी भएका विद्यालयहरूले न्यूनतम् १२ प्रतिशत र ८ सयजनाभन्दा धेरै विद्यार्थी भएका विद्यालयले न्यूनतम् १५ प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्नेछ । 

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ बमोजिम कार्यविधिमा यो वर्गीकरण राखिएको हो । यस प्रयोजनका लागि विद्यार्थी गणना गर्दा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थी गणनामा राखिने छैन । 

कार्यविधिले महानगरपालिका भित्रका स्थायी बसोबास भएका संस्थागत र सामुदायिक जुनसुकै विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई १९ प्रतिशत, जुनसुकै स्थानका भए पनि संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्तिको संख्या १० प्रतिशत बनाएको छ । 

छात्रवृत्ति वितरण कार्यलाई व्यवस्थित गर्न तथा परीक्षालाई गुणस्तरीय, न्यायोचित र व्यवस्थित बनाउन शिक्षा अधिकारीको अध्यक्षतामा छात्रवृत्ति समितिको व्यवस्था गरेको छ । यसमा शिक्षा अधिकारीले मनोनीत गरेको परीक्षा सञ्चालनको ज्ञान भएको सूचना प्रविधि सम्बन्धी विज्ञ एकजना, शिक्षा अधिकारीले मनोनीत गरेका शिक्षा विभागका अधिकृत स्तरका कर्मचारी दुई सदस्य र शिक्षा अधिकारीले तोकेको महानगरपालिकाको अधिकृत स्तरको कर्मचारी सदस्य–सचिव रहनेछन् । परीक्षा सम्बन्धी सबै विषयमा समितिले गरेको निर्णय नै अन्तिम हुनेछ ।

null

समितिले गरेका काममा सुनुवाइ तथा निरीक्षणको काम शिक्षा तथा स्वास्थ्य समितिले गर्नेछ । छात्रवृत्ति परीक्षाको पाठ्यक्रम, पाठ्यभार तथा न्यूनतम् योग्यता निर्धारण गर्ने, पाठ्यक्रम तथा प्रश्नपत्र निर्माणमा संलग्न हुने विशेषज्ञको मापदण्ड निर्धारण गर्ने, निवेदनको प्रक्रिया र ढाँचा निर्धारण गर्ने, परीक्षामा संलग्न हुने पदाधिकारीको नियुक्ति गर्ने तथा परीक्षार्थीको आचार संहिता तय गरी लागू गर्ने लगायत काम समितिले गर्नेछ । 

यस्तै, परीक्षा केन्द्र तोक्ने, प्रश्नपत्र तथा उत्तरकुञ्जिका निर्माण गर्ने, परिमार्जन गर्ने, अन्तिम ढाँचा बनाउने, छपाई गर्ने, प्याकेजिङ गर्ने, परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षणका लागि आवश्यक व्यवस्था मिलाउने काम समितिको जिम्मेवारीमा राखिएको छ । 

उत्तर पुस्तिका परीक्षणमा आधुनिक कम्प्युटर स्क्यानिङ प्रविधिको प्रयोग गर्ने वा अन्य विश्वसनीय व्यवस्था मिलाउने, टाइ व्रेकर निर्धारण गरेर नतिजा प्रशोधनका लागि उपलब्ध गराउने, परीक्षा सम्बन्धी कार्यको निरीक्षण तथा अनुगमन गर्ने गराउने, परीक्षाको नतिजा प्रकाशन गर्ने तथा पुनर्योगको व्यवस्था गर्ने काम समितिले गर्नेछ । 

छात्रवृत्ति परीक्षामा सामेल हुन चाहने परीक्षार्थीले सोही शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) वा सोसरहको परीक्षामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले तोके बमोजिमको न्यूनतम जीपीए प्राप्त गरेको हुनुपर्नेछ । 

परीक्षार्थीले अनलाइनमार्फत आवेदन दिनु पर्नेछ । यसरी दिइने आवेदनमा न्यूनतम् शैक्षिक योग्यताको ग्रेड सिट र चारित्रिक प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाणपत्र, प्रतिशत वा ग्रेड नखुलेको भए सम्बन्धित संस्थाले प्रतिशत वा ग्रेड खुलाएको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकता र सो नभएमा जन्म दर्ताको प्रमाणपत्र, सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि सिफारिस, आरक्षणका लागि आवश्यक प्रमाणका कागजात, समितिले मागेका अन्य कागजात अपलोड गर्नुपर्छ । 

परीक्षाबाट योग्यताक्रम निर्धारण भएर भर्नाको अवसर प्राप्त गर्ने निवेदकले सम्बन्धित विद्यालयमा भर्ना हुँदा निवेदन फारामका साथ पेस गरेका सम्बन्धित कागजातको प्रतिलिपि र सक्कल अनिवार्य पेस गर्नुपर्छ । 

कुनै निवेदकले निवेदनका समयमा पेस गरेको विवरण र अपलोड गरेका शैक्षिक प्रमाणपत्र तथा कागजात झुटो प्रमाणित भएमा उक्त विद्यार्थीको नाम जुनसुकै वखत योग्यता क्रमको सूचीबाट हटाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ । आरक्षित समूहमा निवेदन दिने व्यक्तिले आफू सो समूहमा पर्ने ब्यहोरा प्रमाणित गर्नु पर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्