२३ जेठ २०८३, शनिबार
विश्वकप फूटबल शृंखला- ६

छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय

जेठ ५, २०८३
काठमाडौं
छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय

फिफा विश्वकपको छैटौँ संस्करण सन् १९५८ को जन ८ देखि २९ तारिखसम्म स्विडेनमा आयोजना भएको थियो । यो विश्वकपमा पनि १६ वटा टोलीले सहभागिता जनाएका थिए । १२ रंगशालामा कुल ३५ खेल खेलाइएको थियो ।

विश्वकपको यो संस्करणमा एसिया र अफ्रिकाबाट कुनै पनि राष्ट्रले सहभागिता जनाएनन् । लामो समयपछि अर्जेन्टिना भने विश्वकपमा फर्किएको थियो । उत्तरी आयरल्यान्ड, सोभियत युनियन र वेल्सका लागि विश्वकपमा यो पहिलो सहभागिता थियो ।

फूटबल इतिहासमा सन् १९५८ को विश्वकपलाई भुल्नै नसकिने क्षणको रूपमा लिइन्छ । यही संस्करणमार्फत विश्व फूटबलमा पेलेजस्ता सर्वकालीन महान् खेलाडीको उदय भएको थियो । जस्ट फोन्टेनको अविश्वसनीय कीर्तिमान पनि यही विश्वकपमा कायम भएको थियो ।

यसैगरी, हालसम्म कुनै पनि नर्डिक राष्ट्रमा आयोजना भएको यो एकमात्र विश्वकप पनि हो । यसका अतिरिक्त, यही संस्करणमार्फत ब्राजिल पहिलोपटक च्याम्पियन बनेको थियो । कालान्तरमा ब्राजिल सबैभन्दा बढी उपाधि चुम्ने राष्ट्र समेत बन्न पुग्यो ।

null

सन् १९५८ को विश्वकपमा केही नयाँ नियम अभ्यासमा ल्याइएको थियो । प्रतियोगितामा पहिलोपटक ‘गोल औसत’का आधारमा टोलीहरूको वरीयता निर्धारण गरिएको थियो ।

००

राजनीतिको छायाँ फूटबल मैदानसम्म

सन् १९५८ को छनोट प्रक्रियाले धेरै राष्ट्रलाई अवसर प्रदान गरेको थियो । तर, छनोट चरणमा केही राजनीतिक विवाद पनि देखियो । विश्व राजनीतिको छायाँ फूटबल मैदानमा परेपछि केही राष्ट्रले खेल बहिष्कार पनि गरे ।

छनोट चरणमा इन्डोनेसिया, सुडान र टर्कीले इजरायलविरुद्ध खेल्न अस्वीकार गरे । सोही कारणले तीनवटै राष्ट्र प्रतियोगिताबाट बाहिरिएका थिए । इजरायल भने वेल्ससँगको प्ले–अफ खेलमा पराजित भयो । सोही कारणले फिफाले त्यसपछिका विश्वकपमा आफ्नो नियम परिवर्तन गरेको थियो ।

००

null

टोलीहरूको रोचक संयोग

यो विश्वकपमा संयुक्त अधिराज्यअन्तर्गतका राष्ट्रहरूसँग गतिलो संयोग जुरेको थियो । यूकेका चारवटै राष्ट« इङ्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डले यो संस्करणमा सहभागिता जनाएका थिए । त्यसयता यी चारवटै राष्ट्रले एकैपटक कुनै पनि विश्वकप खेलेका छैनन् ।

यसैगरी, वेल्सले त इतिहासमै पहिलोपटक विश्वकपमा सहभागिता जनाएको थियो । त्यसपछि, वेल्सले दोस्रोपटक विश्वकप खेल्न ६४ वर्ष लामो प्रतीक्षा गर्नुपरेको थियो ।

उत्तरी आयरल्यान्ड र सोभियत संघका लागि पनि यो पहिलो सहभागिता थियो । दुईपटकको च्याम्पियन उरुग्वे र इटालीका लागि भने यो विश्वकप दूर्भाग्यपूर्ण रह्यो । इटाली विश्वकपमा छनोट हुन असफल भएको यो पहिलो अवसर थियो ।

यो विश्वकपमा इङ्ल्यान्डले ‘म्युनिख एयर डिजास्टर’का कारण आफ्ना केही प्रभावशाली खेलाडी गुमाउनु परेको थियो । त्यसको प्रत्यक्ष असर इङ्ल्यान्डको प्रदर्शनमा देखिएको थियो ।

००

null

ब्राजिलको ऐतिहासिक जीत

फाइनलमा आयोजक स्वीडेनलाई ५–२ गोलले पराजित गर्दै ब्राजिलले इतिहासमै पहिलोपटक विश्वकपको उपाधि उचाल्यो ।

फाइनलमा ब्राजिलले आयोजक स्विडेनलाई ५–२ गोलले हराएको थियो । यसअघि, दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले मात्र विश्वकप जितेको थियो । फाइनल खेलमा ब्राजिल शुरूमै एक गोलले पछि परे पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधिसम्म पुगेको थियो ।

विभिन्न महादेशका राष्ट्र (युरोप र दक्षिण अमेरिका) फाइनलमा आमनेसामने भएको यो नै पहिलो अवसर थियो । साथै, युरोपेली महादेशमा आयोजना भएको विश्वकप युरोपेली राष्ट्रले नजितेको पनि यो पहिलो र एकमात्र उदाहरण हो ।

००

null

१७ वर्षीय पेलेको चमत्कार

आफ्नो राष्ट्रलाई च्याम्पियन बनाउन १७ वर्षीय युवा खेलाडी पेलेले दुई गोलको योगदान गरे । उनले निर्धारित समयको ५५औँ र ९०औँ मिनेटमा गोल गरेका थिए ।

पेले फिफा विश्वकपको फाइनल खेल्ने, फाइनलमा गोल गर्ने र उपाधि जित्ने सबैभन्दा कान्छा खेलाडी समेत बन्न पुगे ।

यही संस्करणपछि पेलेले विश्व फूटबलमा आफूलाई प्रभावशाली खेलाडीका रूपमा उभ्याएका थिए । यद्यपि उनी ब्राजिलको पहिलो दुई खेलमा सहभागी थिएनन् ।

null

तर, बाँकी चार खेलमा ६ गोल गर्दै उनले आफ्नो जादु देखाए । क्वार्टरफाइनलमा वेल्सविरुद्ध निर्णायक गोल गरेका पेलेले सेमिफाइनलमा फ्रान्सविरुद्ध ह्याट्रिक गरेर विश्वलाई चकित पारे ।

फाइनलमा पनि दुई गोल गर्दै उनले ब्राजिललाई पहिलो विश्वकप उपाधि दिलाए । उनी १७ वर्ष दुई सय ४९ दिनको उमेरमा विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका हुन् ।

अर्कोतिर, स्वीडेनका निल्स लिडहोमले विश्वकपको फाइनलमा गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडीको कीर्तिमान बनाए । फाइनल खेल शुरू भएको चौथो मिनेटमै उनले गोल गरेका थिए । त्यो गोल गर्दा उनको उमेर ३५ वर्ष दुई ६३ दिन थियो ।

००

पेले र गारिञ्चाको जादूमा जब स्वीडेनका राजा नतमस्तक भए

सन् १९५८ को फिफा विश्वकपको फाइनल । स्टकहोमको रासुन्डा स्टेडियममा ५० हजार दर्शकको उपस्थिति । घरेलु टोली स्वीडेन आफैँ उपाधिको दाबेदारका रूपमा मैदानमा ।

खेलको चौथो मिनेटमै निल्स लिडहोमले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए । तर, ब्राजिलको जवाफ तत्कालै आयो । गारिञ्चाको उत्कृष्ट ड्रिब्लिङ र पासमा भाभाले बराबरी गोल फर्काए ।

त्यसपछि, पेलेको उदय भयो । पेलेले ‘सोम्ब्रेरो’ (बललाई टाउको माथिबाट छक्काउने) कला प्रदर्शन गर्दै गोल गरेपछि स्टेडियममा रहेका स्वीडेनका राजा गुस्ताफ छैटौँ एडोल्फसमेत उठेर ताली बजाउन बाध्य भए ।

त्यो ऐतिहासिक क्षणको विषयमा पछि पेलेले भनेका थिए, ‘त्यतिबेला म केवल १७ वर्षको थिएँ । विश्वकप फाइनलमा दुई गोल गरेँ । स्वीडेनका राजा स्वयंले मलाई अँगालो हालेर प्रशंसा गरे । यस्तो अनुभव एउटा १७ वर्षे केटाका लागि अविश्वसनीय थियो ।’

ब्राजिलका लागि भाभाले दुई, पेलेले दुई र जगालोले एक गोल गरे । स्वीडेनका लागि साइमन्सनले अर्को एक गोल फर्काए ।

ब्राजिलको प्रदर्शन यति प्रभावशाली थियो कि स्वीडेनका डिफेन्डर सिगे पार्लिङले पनि पछि भनेका थिए, ‘जब उनीहरूले पाँचौँ गोल गरे, मलाई उनीहरूलाई रोक्नुभन्दा ताली बजाउन मन लाग्यो ।’

null

००

जस्ट फोन्टेनको कीर्तिमान

विश्वकपको छैटौँ संस्करण फ्रान्सेली स्ट्राइकर जस्ट फोन्टेनका लागि पनि अविस्मरणीय बन्न पुग्यो । उनले प्रतियोगिता अवधिभर कूल १३ गोल गरे । विश्वकपको इतिहासमा एउटै संस्करणमा कुनै पनि खेलाडीले गरेको यो हालसम्मकै सर्वाधिक गोलको कीर्तिमान हो ।

समग्रमा, सन् १९५८ को फाइनल केवल एउटा खेल थिएन, त्यो एउटा यस्तो प्रदर्शन थियो जसले फूटबललाई खेलमात्र नभई एउटा कलाका रूपमा विश्वसामु स्थापित गराएको थियो । पेले र गारिञ्चाको जोडीले ब्राजिललाई पहिलो ‘स्टार’ दिलाउँदै फूटबलको रंगीन इतिहास कोरेको थियो ।

०० 

null

छैटौँ विश्वकपसँग जोडिएका केही रोचक कथा :   

० फाइनलमा सर्वाधिक गोल : पेले र ब्राजिलको उदय यो विश्वकपको सबैभन्दा ठूलो उपलब्धि थियो । फाइनलमा कुल सात गोल भयो । हालसम्म विश्वकपको फाइनलमा यति धेरै गोल भएको छैन ।

० अर्जेन्टिनाको खराब प्रदर्शन र समर्थकको आक्रोश : लामो समयपछि विश्वकपमा फर्केको अर्जेन्टिनाका लागि यो संस्करण बिर्सनलायक रह्यो । समूहगत चरणमा १० गोल खाएर बाहिरिएको अर्जेन्टिनी टोली स्वदेश फर्कँदा आक्रोशित फ्यानहरूले ठूलै उत्पात मच्चाएका थिए ।

० निलो रको जर्सीको कथा : स्वीडेनले टस जितेर आफ्नो परम्परागत पहेँलो जर्सी रोजेपछि ब्राजिललाई जर्सीको समस्या परेको थियो । अन्तिम समयमा ब्राजिलका अधिकारीहरूले बजारबाट १३ वटा निलो टिसर्ट किनेर त्यसमा फिफाको ब्याज टाँसी मैदानमा उत्रिएका थिए । जुन पछि ब्राजिलको भाग्यमानी रङ बन्यो ।

० बेलिनीको ट्रफी उचाल्ने त्यो ऐतिहासिक शैली : अहिले कुनै पनि टोलीले विश्वकप जित्दा कप्तानले ट«फी उचाल्ने जुन परम्परा छ । त्यसको शुरूवात भने यही फाइनलमा ब्राजिलका कप्तान बेलिनीले गरेका थिए । फोटोग्राफरहरूलाई ट«फीको तस्बिर लिन सजिलो होस् भनेर उनले ट«फी माथि उठाएका थिए, जुन पछि गएर फूटबलको स्थायी संस्कार बन्यो ।

० लिन्डहोमको गजबको वाचा : फाइनलअघि स्वीडेनका मिडफिल्डर लिन्डहोमले यदि स्वीडेन फाइनलमा पुगे आफूले टाउकोको कपाल खौरने शर्त राखेका थिए । उनको टोली फाइनलमा पुग्यो र उनले आफ्नो बाचा पनि पूरा गर्नुपर्‍यो ।

null

० उमेरको ठूलो भिन्नता : फाइनलमा खेल्ने स्वीडेनका गुन्नार ग्रेन (३७ वर्ष २४१ दिन) र ब्राजिलका पेले (१७ वर्ष २४९ दिन) बीच २० वर्षको आश्चर्यजनक अन्तर थियो ।

० पहिलोपटक विदेशी कोच : इङ्ल्यान्डका जर्ज रेनर विश्वकप फाइनलमा टोलीको नेतृत्व गर्ने पहिलो विदेशी प्रशिक्षक बनेका थिए ।

० अभूतपूर्व परिवर्तन : ब्राजिलले आफ्नो पहिलो खेलको तुलनामा फाइनलमा पाँचजना नयाँ खेलाडीलाई पहिलो रोजाइमा मैदान उतारेको थियो, जुन कुनै पनि विश्वकप विजेता टोलीका लागि दुर्लभ परिवर्तन हो ।

nullnullnullnullnullnullnullnullnull

null

पढ्नुहोस् यो पनि :

विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग

पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म

दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम

द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो

पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव

salt training

कमेन्ट गर्नुहोस्