
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
००००
सर्वोच्च अदालतले मंगलबार नयाँ प्रधानन्यायाधीश पाएको छ । सर्वोच्चका न्यायाधीश डा. मनोज कुमार शर्मा प्रधानन्यायाधीश नियुक्त भएका छन् ।
संवैधानिक परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सर्वोच्च न्यायिक पदमा नियुक्त गरेका हुन् ।
मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ दिलाए ।
प्रधानन्यायाधीश नियुक्त भएका शर्माले शपथपछि मंगलबार बेलुका नै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेका छन् ।
२०२७ साल असार ४ गते पर्सा जिल्लाको वीरगञ्जमा जन्मिएका शर्मा वकालतको यात्रा गरी न्यायाधीश हुँदै न्यायपालिकाको सर्वोच्च शिखरमा पुग्न सफल भएका हुन् ।
००००
संसदीय सुनुवाइका क्रममा यसअघि शर्माले आफ्नो योग्यता र क्षमतामा प्रश्न उठ्ने ठाउँ नरहेको बताएका थिए । उनले आफू आफ्नो क्षमता र योग्यताले न्यायाधीश बनेको उल्लेख गरे ।
००००
सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको भन्दै कानून व्यवसायीहरूले दिउँसै लालटिन बालेर विरोध जनाएका छन् ।
कानून व्यवसायीहरूले मंगलबार दिउँसो नेपाल बार एसोसिएसन परिसरमा भेला भएर विरोध गरेका हुन् ।
००००
सरकारले जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक उपचार खर्च उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा घाइतेको वर्गीकरण गरी ती घाइतेको उपचारका लागि मासिक उपचार खर्च उपलब्ध गराउन थालिएको मन्त्रालयको स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
००००
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सामाजिक सञ्जालमार्फत परीक्षाअगावै प्रश्नपत्रसँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको भीमसेन थापा गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका नागार्जुन नगरपालिका–१ रानीवन बस्दै आएका २९ वर्षीय सन्तोष बन्जारा तथा धादिङको गण्डकी गाउँपालिका–३ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–१ वनस्थली बस्दै आएका २० वर्षीय अश्विन अधिकारी छन् ।
००००
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट (बढी निगरानीमा राखिएको मुलुकहरूको सूची) बाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताएका छन् ।
अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा मङ्गलबार भएको एसिया प्रशान्त मुद्रा शुद्धीकरण निगरानी समूहको अन्तर्राष्ट्रिय सहकार्य समीक्षा समूहको कार्ययोजना सम्बन्धी छलफलमा उनले यस्तो धारणा राखेका हुन् ।
००००
पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि तीन दिनको म्याद दिएको छ ।
व्यवसायी तथा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नेपालका संयोजक प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा तीन दिन म्याद थप भएको हो ।
००००
सरुवा सूचीअनुसार पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाएर पठाइएको छ।
अध्यागमन कार्यालय गौतमबुद्ध विमानस्थलका प्रमुख अध्यागमन अधिकृत निश्चलराज पाण्डेलाई दाङको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ ।
यसैगरी, कारागार व्यवस्थापन विभागका महानिर्देशक शशीधर घिमिरेलाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
००००
के नेपालको अर्थतन्त्र साँच्चै जटिल मोडमा पुगेको हो ? महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ प्रतिवेदनले नेपालको वित्तीय स्वास्थ्य 'भेन्टिलेटर' मा रहेको डरलाग्दो संकेत गरेको छ ।
नेपालको सार्वजनिक प्रशासन र वित्त व्यवस्थापन कति धराशायी र अनुशासनहीन बनेको छ भन्ने तथ्य महालेखाको प्रतिवेदन,२०८३ केलाउँदा छर्लङ्ग देख्न सकिन्छ ।
प्रतिवेदनको सबैभन्दा डरलाग्दो पक्ष हो- बेरुजू । नेपालको कुल बेरुजू अहिले ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यो केवल अंक होइन, यो अनुशासनहीनताको पराकाष्ठा हो ।
आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणले केवल एक वर्षमा ८८ अर्ब ९ करोड रुपैयाँ नयाँ बेरुजू थपिएको देखाएको छ । कुल बेरुजूमध्ये ३७.०६ प्रतिशत त सिधै असुल गर्नुपर्ने रकम हो, तर असुलउपर हुन सकेको छैन ।
त्यसैगरी, नियमित गर्नुपर्ने बेरुजू ५७.०६ प्रतिशत छ । यसमा प्रमाण नपुगेको, प्रक्रिया मिचिएको र कागजी प्रक्रिया नपुर्याई गरिएको आदि खर्च पर्दछ ।
००००
सरकारले स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्विस फ्याङ्क अनुदान स्वीकार गर्ने निर्ण गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्विस फ्याङ्क अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यस्तै, अरनिको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय भएको उनले जानकारी दिए ।
००००
सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लगायतले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको र उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न भनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको विषयमा सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको हो ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक छ दशमलव ५१ अङ्कले ओरालो लागेर दुई हजार ७२४ दशमलव ३९ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६८ अङ्कले ओरालो लागेर ४६७ दशमलव ३७ मा सीमित भएको छ ।
००००
स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि दुई लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।