
फिफा विश्वकपको सातौं संस्करण सन् १९६२ को मे ३० देखि जुन १७ तारिखसम्म आयोजना भएको थियो । यो विश्वकप दक्षिण अमेरिकी राष्ट्र चिलीमा आयोजना भएको थियो ।
विश्वकपको यो संस्करणमा पनि एसिया र अफ्रिकाबाट कुनै राष्ट्र सहभागी थिएनन् । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मेक्सिको सहभागी थियो ।
दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया र उरुग्वे सहभागी थिए । युरोपबाट भने १० राष्ट्रले भाग लिएका थिए ।
युरोपबाट बुल्गेरिया, चेकोस्लोभाकिया, इङ्ल्यान्ड, हंगेरी, इटाली, सोभियत संघ, स्पेन, स्विट्जरल्यान्ड, पश्चिम जर्मनी र युगोस्लाभिया सहभागी थिए ।
कोलम्बिया र बुल्गेरियाको भने यो पहिलो विश्वकप थियो । विश्वकपको सातौँ संस्करणमा कुल ३२ खेल खेलाइएको थियो ।
००

आयोजक छनोटमै दबाब, जब चिलीसामु निरीह बन्यो अर्जेन्टिना
सन् १९६२ को फिफा विश्वकपको आयोजक छनोटलाई फूटबल इतिहासकै एउटा निकै रोचक र कूटनीतिक प्रतिस्पर्धा मानिन्छ ।
‘हामीसँग सबैथोक छ’ भन्दै अहंकार प्रस्तुत गर्ने बलियो दाबेदार अर्जेन्टिनालाई पछि पार्दै, ‘हामीसँग केही छैन, त्यसैले हामी सबै गर्न चाहन्छौँ’ भन्ने नारा बोकेको चिलीले विश्वकपको अधिकार हात पारेको थियो ।
यो विश्वकप आयोजनाका लागि पश्चिम जर्मनीले पनि दाबी गरेको थियो । तर, अन्तिम समयमा आएर पश्चिम जर्मनीले नाम फिर्ता लिएको थियो ।
खासमा, सन् १९३४ र सन् १९३८ को विश्वकप युरोपमा आयोजना भएपछि, अमेरिकी राष्ट्रहरूको फूटबल महासंघले सन् १९६२ को संस्करण दक्षिण अमेरिकामा हुनुपर्ने अडान लिएको थियो ।
युरोपमा लगातार प्रतियोगिता आयोजना भएमा दक्षिण अमेरिकी देशहरूले सन् १९३८ को जस्तै यसपटक पनि विश्वकप ‘बहिष्कार’ गर्ने चेतावनी दिएपछि फिफा दबाबमा परेको थियो ।
त्यतिबेला आयोजकका लागि अर्जेन्टिना सबैभन्दा बलियो र स्वभाविक दाबेदार थियो । अर्जेन्टिनासँग खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार र अन्तर्राष्ट्रिय प्रतिष्ठा दुवै थियो ।
अर्जेन्टिनाका प्रतिनिधि राउल कोलम्बोले सन् १९५६ को जुन १० मा पोर्चुगलको लिस्बनमा भएको फिफा कंग्रेसमा आत्मविश्वासका साथ भनेका थिए, ‘हामी भोलिबाटै विश्वकप शुरू गर्न सक्छौँ । हामीसँग सबैथोक छ ।’
अर्जेन्टिनाको दाबीसामु चिली निकै कमजोर देखिन्थ्यो । तर, चिलीका फूटबल संघका नेता कार्लोस डिटबोर्न र हुवाँ पिन्टो डुरानले हार मानेनन् ।

उनीहरूले विभिन्न देशका फूटबल संघहरूलाई भेटेर चिलीको क्षमता र प्रतिबद्धताबारे विश्वस्त पार्ने प्रयास गरे । उनीहरूले यसका लागि विभिन्न आधार प्रस्तुत गरेका थिए ।
त्यसमध्ये फिफाका कार्यक्रमहरूमा चिलीको निरन्तर सहभागिता, खेलकुदका लागि उपयुक्त वातावरण, जातीय र धार्मिक सहिष्णुता तथा देशको राजनीतिक र संस्थागत स्थिरता मुख्य आधार थिए ।
खासगरी, डिटबोर्नले फिफाको विधानको धारा २ लाई उल्लेख गर्दै विश्वकपको मुख्य उद्देश्य नै ‘विकासोन्मुख’ देशहरूमा फूटबलको प्रवर्द्धन गर्नु हो भन्ने दाबी गरेका थिए ।
उनले अर्जेन्टिनाको ‘हामीसँग सबैथोक छ’ भन्ने अहंकारपूर्ण दाबीलाई खण्डन गर्दै निकै भावुक र प्रभावकारी नारा अगाडि सारे, ‘हामीसँग केही नभएकाले नै, हामी सबैथोक गर्न चाहन्छौँ ।’
अन्तत: आयोजक छनोट गर्न भएको मतदानामा चिलीले ३२ मत पायो भने अर्जेन्टिनाको पक्षमा केवल १० मत परेको थियो । १४ सदस्य भने अनुपस्थित थिए ।
यसरी, राम्रो पूर्वाधार भएको अर्जेन्टिनालाई हराएर स्रोत–साधनको कमी भए पनि दृढ इच्छाशक्ति बोकेको चिली विश्वकपको आयोजक बन्न सफल भएको थियो ।
००
विनाशको घेरामा विश्वकपको तयारी
फूटबल इतिहासमा सन् १९६२ को विश्वकप निकै उतार–चाढावपूर्ण र विशेष घटनाक्रमका लागि स्मरणीय थियो । यो विश्वकप खेल मैदानको प्रतिस्पर्धा मात्र नभएर प्राकृतिक विपत्ति र मैदानभित्रको अनुशासनहीनताका कारण पनि इतिहासको पानामा ‘कलंकित’ र ‘रोचक’ दुवै रूपमा दरिन पुग्यो ।
पालो अर्जेन्टिनाको भए पनि राजनीतिक अस्थिरताका कारण आयोजकको जिम्मेवारी अनपेक्षित रूपमा चिलीको काँधमा पुग्यो । तर, प्रतियोगिताको तयारी भइरहँदा चिलीमा गएको ९.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पले सारा देशलाई तहसनहस बनायो ।
सन् १९६० को मे २२ तारिखमा चिलीको भाल्दिभियामा गएको इतिहासकै शक्तिशाली भूकम्पले ५० हजारभन्दा बढी मानिसको ज्यान लियो । लाखौँ मानिस प्रभावित भएको त्यो विपत्तिले विश्वकपको तयारीलाई पनि नराम्ररी प्रभावित गर्यो ।
यस्तो अवस्थामा पनि आयोजक समितिका प्रमुख कार्लोस डिटबोर्नले हिम्मत हारेनन् । उनलेसारा संसारलाई चकित पार्दै छोटो समयमै रंगशालाहरूको पून:निर्माण गराए ।
त्यसपछि निर्धारित समयमै विश्वकप सम्पन्न पनि भयो । दुर्भाग्य, डिटबोर्न आफैँले भने आफ्नो सपना पूरा भएको देख्न पाएनन् । प्रतियोगिता शुरू हुनु एक महिनाअघि नै उनको निधन भयो ।
शुरूमा आठवटा रंगशालामा खेल खेलाउने योजना रहे पनि भूकम्पका कारण पूर्वाधारमा ठूलो क्षति पुगेकाले अन्तत: प्रतियोगिता तीनवटा शहरका सीमित रंगशालामा खुम्चिन बाध्य भयो ।
००
गोलअन्तरको नयाँ नियम र रक्षात्मक फूटबल
विश्वकपको यो संस्करणमा फिफाले अंक बराबरी हुँदा ‘गोल अन्तर’लाई आधार मान्ने नयाँ नियम लागू गरेको थियो । यसले टोलीहरूलाई थप गोल खानबाट जोगिन प्रेरित गर्यो ।
परिणाम स्वरूप, सहभागी टोलीहरू खेल अवधिभर रक्षात्मक बन्न पुगे । कसरी बढी गोल गर्नेभन्दा पनि कसरी कम गोल खाने भन्ने रणनीति टोलीहरूले अपनाएका थिए ।
त्यसैले यो विश्वकपमा प्रतिखेल २.७८ गोलमात्र भयो, जुन त्यो समयसम्मको विश्वकपमा सबैभन्दा कम औसत थियो । कतिपय आलोचकले त्यो विश्वकपका धेरै खेल उदेकलाग्दो भएको टिप्पणीसमेत गरेका थिए ।
००
‘सान्टियागोको युद्ध’ र मैदानभित्रको हिंसा
सन् १९६२ को विश्वकप मैदानभित्रको अनुशासनहीनताका कारण पनि निकै कुख्यात बन्न पुग्यो । खेलाडीहरूबीच मुक्का हानाहान र लात प्रहारका दृश्यहरू सामान्यजस्तै बनेका थिए ।
चिली र इटालीबीचको खेल त विश्वकप इतिहासकै सबैभन्दा विवादास्पद खेलका रूपमा दर्ज भएको थियो । त्यो खेललाई अहिले पनि ‘ला ब्याटाल्ला डी सान्टियागो’ अर्थात, (स्यान्टियागोको युद्ध) भनेर चिनिन्छ ।

त्यो खेलमा प्रहरीले मैदानभित्रै छिरेर खेलाडीहरूलाई कुटाकुट गर्नबाट छुट्याउनुपरेको थियो । त्यो समयमा रातो वा पहेँलो कार्डको व्यवस्था नभए पनि, ६ पटक खेलाडीहरूलाई मैदानबाट बाहिर पठाइएको थियो ।
खासमा, इटालीका पत्रकारहरूले चिलीको राजधानी सान्टियागोलाई ‘पिछडिएको, गरिबी र अपराध तथा वेश्यावृत्तिले भरिएको शहर’ भनेर समाचार लेखेका थिए । त्यसबाट स्थानीयहरू निकै चिढिन पुगेका थिए । त्यसको असर पनि खेल मैदानमा देखिएको थियो ।
००
ब्राजिलको जादू र गारिन्चाको चर्चा
साविक विजेता ब्राजिल उपाधि रक्षा गर्ने धुनमा थियो । तर, प्रतियोगिताको दोस्रो खेलमै सुपरस्टार पेले घाइते भए । पेले घाइते भएपछि ब्राजिलको टोली कमजोर हुने अनुमान गरिएको थियो ।

त्यसपछि पेलेको अनुपस्थितिमा सबैको आँखा अर्का खेलाडी प्रभावशाली गारिन्चामाथि टिक्यो । गारिन्चाले पनि समर्थकको विश्वासमाथि तुसारापात गरेनन् ।
गारिन्चाको जादुमय प्रदर्शनले ब्राजिलको टोलीमा ऊर्जा थप्यो । फाइनलमा चेकोस्लोभाकियालाई ३–१ गोलले हराउँदै अन्तत: ब्राजिलले उपाधि रक्षा गर्यो ।

यसअघि, सन् १९३४ र सन् १९३८ मा इटालीले लगातार दुईपटक विश्वकप जितेको थियो । ब्राजिल विश्वकपको उपाधि जोगाउने दोस्रो राष्ट्र बन्यो । त्यसयता हालसम्म कुनै पनि देशले लगातार दुईपटक विश्वकपको उपाधि जित्न सकेका छैनन् ।
अर्कोतर्फ, घरेलु टोली चिलीले सोभियत संघजस्तो बलियो टोलीलाई हराउँदै तेस्रो स्थान हासिल गरेर घरमै खेल्दाको फाइदा उठायो ।
००
५४ खेलाडीको ८९ गोल
विश्वकपको सातौँ संस्करणमा ५४ खेलाडीले कुल ८९ गोल गरे । तुलनात्मक रूपमा विश्वकपको इतिहासमा यो निकै कम गोल हो ।
हंगेरीका फ्लोरिन अल्बर्ट, ब्राजिलका गारिन्चा, सोभियत संघका भ्यालेन्टिन इभानोभ, युगोस्लाभियाका ड्राजन जेर्कोभिच, आयोजक चिलीका लियोनल सान्चेज र ब्राजिलका भाभाले चार–चार गोल गरे ।
००

विविधताको अभाव
यो विश्वकपमा एसियाली र अफ्रिकी राष्ट्रहरूले छनोट खेल्ने मौका पाए पनि अन्तिम चरणमा केवल युरोपेली र अमेरिकी राष्ट्रहरूको मात्र सहभागिता रह्यो ।
छनोट प्रक्रियामा एसिया र अफ्रिकाका टोलीहरूलाई युरोपेली टोलीसँग खेल्नुपर्ने कडा नियमका कारण उनीहरूले विश्वकपमा स्थान बनाउन सकेनन् ।
यसरी, थुप्रै अवरोध, विवाद र नयाँ नियमका बीच सम्पन्न सन् १९६२ को विश्वकप विश्व फूटबललाई रक्षात्मक रणनीति र मैदानभित्रको अनुशासनको पाठ सिकाउँदै बिदा भयो ।
समग्रमा, सन् १९६२ को विश्वकपले फूटबललाई खेलको रूपमा मात्र नभई राष्ट्रिय गौरव, कूटनीति र रणनीतिको जटिल खेलको रूपमा पनि स्थापित गर्यो ।
प्राकृतिक विपत्ति, मैदानको हिंसा र खेलको नयाँ नियमका कारण यो विश्वकप फूटबल इतिहासको एउटा कठिन तर, अविस्मरणीय परिच्छेद बन्न पुग्यो ।
००

सातौँ विश्वकपसँग जोडिएका केही रोचक कथा :
० स्थानान्तरणको नियम : त्यो समयसम्म एकभन्दा बढी राष्ट्रका लागि विश्वकप खेल्ने खेलाडीहरू थुप्रै थिए । यसलाई सामान्य पनि मानिन्थ्यो ।
फेरेन्क पुस्कास (हंगेरीबाट स्पेन) र जोसे सान्तामारिया (उरुग्वेबाट स्पेन) यसका उदाहरण हुन् । यस्तो घटना बढ्न थालेपछि फिफाले ‘कुनै खेलाडीले विश्वकप छनोट वा मुख्य प्रतियोगितामा एउटा देशबाट खेलिसकेपछि अर्को देशबाट खेल्न नपाउने’ कडा नियम ल्याएको थियो ।
० आयोजनामा विविधताको अभाव : त्यो समयको कठिन यात्रा र छनोट प्रक्रियाका कारण सन् १९६२ को विश्वकप युरोप र अमेरिका बाहिरका राष्ट्रहरूको सहभागिता बिना नै सम्पन्न भएको थियो ।
० सबैभन्दा कम रंगशाला प्रयोग : भूकम्पका कारण रंगशालाको अभावमा यो संस्करणमा निकै कम रंगशाला (चारवटा)मा मात्र खेलाइएको थियो । सन् १९३० को विश्वकपपछि यो नै सबैभन्दा कम रंगशाला प्रयोग भएको संस्करण हो ।
० प्रधानमन्त्रीको दबाबपछि गारिन्चाको निलम्बन फुकुवा : ब्राजिलका गारिन्चालाई सेमिफाइनलमा मैदानबाट निकालिएको थियो । उनले फाइनल खेल गुमाउने बलियो सम्भावना थियो । तर, ब्राजिलका प्रधानमन्त्री ट्यान्क्रेडो नेभेस फिफाबाट गारिन्चाको प्रतिबन्धको निर्णय उल्ट्याउन सफल भए ।
० रेफ्रीको चर्चित भनाइ : समूहगत चरणमा धेरै खराब खेलहरू भएका थिए । त्यसमध्ये सबैभन्दा निराशाजनक खेल इटाली र आयोजक चिलीबीचको थियो । त्यो खेलको बारेमा पछि रेफ्री केन एस्टनले भनेका थिए, ‘त्यो वास्तवमै सान्टियागोको युद्ध नै थियो । म फूटबलको फाइनलमा रेफ्रीको भूमिका निर्वाह गरिरहेको थिइनँ । बरु म सैन्य अभ्यासमा मध्यस्थर्ताको भूमिका निर्वाह गरिरहेको थिएँ ।’






पढ्नुहोस् यो पनि :
विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग
पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म
दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम
द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो
पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव
छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय