जिल्ला प्रहरी कार्यालय सल्यानका निवर्तमान प्रमुख, डीएसपी डा. हेमबहादुर केसीको सरुवासँगै सल्यानमा भावुक दृश्य देखिएको छ । उनको बिदाइमा स्थानीय भावुक बने भने सामाजिक सञ्जालमा पनि उनको कामको प्रशंसा भइरहेको छ ।
प्रहरी संगठनभित्र करिब ७९ हजार जनशक्ति रहे पनि डीएसपी केसीले सल्यानमा रहँदा गरेको कामले उनलाई फरक पहिचान दिलाएको छ । उनले अपराध नियन्त्रण र शान्ति सुरक्षाको जिम्मेवारीसँगै सामाजिक तथा मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
डीएसपी केसीले जिल्लाका गरिब, दु:खी, बेसहारा तथा टुहुरा बालबालिकालाई विभिन्न किसिमले सहयोग गरेका थिए । कतिपय विपन्न परिवारमा खाद्यान्न, नुन–तेल तथा कपडाको अभाव हुँदा प्रहरीकै गाडीमार्फत राहत सामग्री पुर्याइएको थियो । प्रहरीको गाडी पक्राउका लागि मात्र होइन, सहयोग र आशाको प्रतीक बनेको स्थानीय बताउँछन् ।
स्थानीय जनकल्याण आधारभूत विद्यालयको छात्रावासमा पुगेर उनले टुहुरा तथा चरम गरिबीमा रहेका बालबालिकालाई जुत्ता, कपडा र झोला वितरण गरेका थिए । सहयोग पाएपछि बालबालिकाले आफूहरूलाई राज्यले सम्झिएको अनुभूति गरेको स्थानीयको भनाइ छ ।
सल्यानकी ७६ वर्षीया पार्वती नामकी वृद्धाको जीवनमा पनि डीएसपी केसीले महत्त्वपूर्ण सहयोग गरे । अभावमा जीवन बिताइरहेकी ती वृद्धाको अवस्था देखेपछि उनले व्यक्तिगत रूपमा सहयोग पुर्याएका थिए । त्यति मात्र होइन, लामो समयसम्म नागरिकताविहीन रहेकी पार्वतीलाई नागरिकता दिलाउन समेत उनले पहल गरेका थिए ।
कालीमाटी गाउँपालिका लक्ष्मीपुरमा ६ महिनामै आमा गुमाएको एक शिशुको पालनपोषणका लागि दूध किन्न समेत समस्या भएपछि डीएसपी केसीले विभिन्न सहयोगी हातहरू जुटाएर ७० हजार रूपैयाँ सहयोग संकलन गरिदिएका थिए ।
वनगाड कुभिण्डे नगरपालिका माझकाँडाका मोहन पुरीका बुबा कारागार चलान भएपछि र आमा घर छाडेर गएपछि उनी बेसहारा बनेका थिए । डीएसपी केसीले उनलाई जनकल्याण विद्यालयको छात्रावासमा भर्ना गराइदिएर अभिभावकत्वको अनुभूति दिलाएका थिए ।
दुवै मिर्गौला फेल भएर उपचाररत नवीन गन्धर्वका लागि उनले जिल्ला प्रहरी कार्यालयमार्फत आर्थिक सहयोग जुटाएका थिए । अर्का बिरामी भीमबहादुर खड्काका लागि पनि आर्थिक सहयोगसँगै जिल्ला अस्पताल सल्यानमा नि:शुल्क उपचारको व्यवस्था मिलाइएको थियो ।
सल्यानको रिम गाउँमा दलबहादुर विकको घर आगलागीबाट पूर्ण रूपमा नष्ट भएपछि डीएसपी केसीकै पहलमा आर्थिक सहयोग संकलन गरी घर पुनर्निर्माणमा सहयोग गरिएको थियो । प्रहरी भ्यानमार्फत खाद्यान्न र कपडा समेत पुर्याइएको थियो ।
उनले सामाजिक सेवामा मात्र होइन, जिल्ला प्रहरी कार्यालय सल्यानको भौतिक सुधारमा पनि सक्रियता देखाएका थिए । कार्यालय रंगरोगन, गार्डेन निर्माण तथा परिसर व्यवस्थापनका काममा उनले विशेष चासो दिएका थिए । स्थानीय स्तरमा बाटो निर्माण र काठे पुल निर्माणमा समेत उनको पहल देखिएको थियो ।
शारदा नगरपालिकामा निर्माण गरिएको काठे पुल एक वृद्ध आमाबाट उद्घाटन गराइएको दृश्य स्थानीयले अहिले पनि स्मरण गर्ने गरेका छन् । स्थानीयका अनुसार त्यो पुलले केवल दुई किनारा मात्र होइन, प्रहरी र जनताबीचको सम्बन्ध पनि जोडेको थियो ।
डीएसपी केसीको सरुवापछि उनी सल्यानबाट बाहिरिए पनि उनले कमाएको सम्मान, विश्वास र माया भने सल्यानीहरूको मनमा जीवित रहने स्थानीय बताउँछन् ।
हेर्नुहोस् भिडियो सामग्री :