३१ जेठ २०८३, आइतबार
सरसर्ती २४ घण्टा

कर्मचारीको तलब बढाउने तयारीदेखि हर्क साम्पाङलाई सभामुखको चेतावनीसम्म

जेठ ७, २०८३
काठमाडौं
कर्मचारीको तलब बढाउने तयारीदेखि हर्क साम्पाङलाई सभामुखको चेतावनीसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्नुको कारण माग गर्दै सरकारका नाममा 'कारण देखाऊ आदेश' जारी गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा रहेका प्रसाईंलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश गरेको हो ।
००००
प्रधानन्यायाधीश सिफारिशविरुद्ध परेका रिट निवेदन सर्वोच्च अदालत प्रशासनले बुधबार दर्ता गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार गरेको आदेश सर्वोच्च प्रशासनले दुई दिनपछि कार्यान्वयनमा ल्याएको हो ।

गत सोमबार मल्लले दरपीठ भएका निवेदन दिउँसो १ बजेभित्रै दर्ता गर्न मुख्य रजिस्ट्रार र रजिस्ट्रारका नाममा आदेश गरेकी थिइन् । तर उक्त दिन दर्ता भएका थिएनन् ।
००००
महँगी दिनदिनै बढिरहेको छ । बजारभाउ आकाशिएको छ । तर, सरकारी कर्मचारीको तलब भने तीन वर्षदेखि उही ठाउँमा रोकिएको छ ।

यस्तैमा प्रश्न उठिरहेको छ— के यसपटकको बजेटले राष्ट्रसेवक कर्मचारीको त्यो लामो प्रतीक्षा अन्त्य गर्ला ?
सरकारी संयन्त्रभित्रबाट आएको एउटा बलियो संकेतले यसपटक कर्मचारीका लागि ‘खुशीको खबर’ आउन सक्ने देखाएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषणको मिति नजिकिँदै गर्दा कर्मचारी वृत्तमा एउटा प्रश्न निकै चर्चामा छ- के यो वर्ष तलब बढ्छ?

हाम्रो विशेष खोजीले भन्छ, सरकारले कर्मचारीको तलब बढाउनका लागि प्रतिवेदनको मस्यौदा (ड्राफ्ट) समेत तयार पारिसकेको छ ।
००००
शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न/गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो ।
००००
घुस लिएको आरोपमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी लिई थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मङ्गलबार गरेको आदेशमा आज सार्वजनिक भएको लिखित आदेशमा उक्त धरौटी लिएर पूर्वमन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न उल्लेख छ ।
००००
नेपाली कांग्रेसले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै 'निर्वाचन ब्युरो' मा १७ जना सदस्यहरू मनोनयन गरेको छ। 


पार्टीका उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित उक्त ब्युरोमा नेता गगनकुमार थापाले बुधबार विभिन्न जिल्लाका १७ जना व्यक्तित्वहरूलाई जिम्मेवारी तोक्दै कार्यदेश (टिओआर) समेत प्रदान गरेका हुन् ।
००००
द हिडन ट्रेजरले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ । नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीहरूलाई आवेदन दिन आह्वान गरिएको आयोजकले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । आवेदन दिने अन्तिम मिति जेठ २५ सम्मलाई तोकिएको छ ।
००००
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टाभाइरस सङ्क्रमणको जोखिम न्यून रहेको बताएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हान्टाभाइरस समूहको ‘एन्डिज भाइरस’बाट सङ्क्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टाभाइरसको जोखिम अत्यन्त न्यून रहेको बताए ।
००००
शिक्षा मन्त्रालयले विभिन्न विश्वविद्यालयका उपकुलपति पदका लागि कुल २१८ वटा आवेदन प्राप्त भएको जनाएको छ ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार अनलाइनमार्फत आवेदन सङ्कलन गरिएको जनाएको हो ।
००००
बागमती प्रदेश सरकारले आफ्नै स्थायी प्रशासनिक भवन निर्माणको तयारी थालेसँगै हेटौँडा–१६ र १७ क्षेत्रमा रहेका सामुदायिक वनमा रुख छपान तथा कटान कार्य सुरु भएको छ ।

प्रदेश सरकार गठन भएको सात वर्षपछि पहिलो पटक मन्त्रालय, सेवा केन्द्र तथा केही सरकारी निवासलाई एउटै परिसरमा राख्ने गरी एकीकृत प्रशासनिक संरचना निर्माणको योजना अघि बढाइएको हो ।
००००
सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो ।
००००
काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर नगरपालिकाले १० हजार रुपैयाँ क्षतिपूर्ति दिएको छ ।

कालीकोट घर भई हाल वीरेन्द्रनगर–३ सुर्खेत बस्ने अन्दाजी ४२ वर्षीया धमिला चौलागाईलाई नगर प्रहरीले काफल पोखाइदिँदै दुर्व्यवहार गरेको थियो । उक्त नगरपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै जेठ ५ गते मङ्गलबार साँझ नगर प्रहरीद्वारा सडकपेटी र फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगरपालिका–६ स्थित सिटी बसपार्कमा डालामा काफल बेच्दै गरेकी चौलागाईमाथि भएको व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
००००
सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा कुपोषण हुने बालबालिकाको सङ्ख्या बढेको पाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता सञ्चालन गरेको अभियानमा बालबालिकामा विगतको भन्दा बढी सङ्ख्यामा कुपोषण देखिएको हो ।
००००
प्रतिनिधि सभाको बैठकमा दैनिक प्लेकार्ड देखाएर अभद्र व्यवहार गरेको भन्दै सभामुख डोलप्रसाद अर्यालले हर्क साम्पाङ (अध्यक्षसहित) श्रम संस्कृति पार्टीका सांसदलाई चेतावनी दिएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले शुरूमा मर्यादा कायम गर्न आग्रह गर्दै चेतावनी दिएका हुन् ।

'प्रतिनिधि सभाको मर्यादा कायम गर्नु सबैको कर्तव्य हो । नियम २० को खण्ड (झ) बमोजिम आग्रह गर्दछु । यस्तै, नियम ३० मा रहेको व्यवस्थातर्फ ध्यानाकर्षण गराउँछु,' अर्यालले भने, 'श्रम संस्कृति पार्टीका सांसद हर्क राईसहितका सांसदले नियमित रूपमा संसदमा प्लेकार्ड र अभद्र व्यवहार देखाएकाले व्यवहार सच्चाउन नियम ३० अनुसार चेतावनी दिन्छु ।'

प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० मा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ । त्यसपछि तुरुन्तै सदस्यले आफ्नो व्यवहार सच्च्याउनुपर्छ । साथै सभामुखले निलम्बनको चेतावनी समेत दिएका छन् । 
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक बुधबार ३० दशमलव शून्य आठ अङ्कले उकालो लागेर दुई हजार ७५४ दशमलव ४८ मा पुगेको छ । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो ।
००००
सर्वोच्च अदालतले बागमती सभ्यतालाई जोगाउन 'बागमती सभ्यता ऐन'जस्ता छुट्टै कानून बनाउन सरकारका नाममा आदेश गरेको छ ।

साथै, नदी किनारका सुकुम्बासीहरूको पहिचान गरी उचित व्यवस्थापन गर्न र नदीमा ढल मिसाउने कार्य पूर्णतः बन्द गर्न पनि आदेश दिएको छ  ।

२०८२ माघ ४ गते सर्वोच्चका न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले उक्त आदेश गरेको हो । आदेशको पूर्णपाठ अदालतले हालसालै सार्वजनिक गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्