
नेपाली कांग्रेसका सचेतक निश्कल राईले सभामुखलाई विगतका गतिविधि सम्झाएर मर्यादाको पाठ पढाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै राईले अघिल्लो संसदमा अहिलेको सत्तारुढ दल (राष्ट्रिय स्वतन्त्र पार्टी)ले गरेको गतिविधि सम्झाउँदै अहिले भइरहेको विरोधलाई मात्रै अमर्यादित भनिनु उचित नभएको बताएका हुन् ।
श्रम संस्कृति पार्टीका सांसदहरूले संसदमा प्लेकार्ड प्रदर्शन गरेको सन्दर्भमा उनले भने– 'आजको सत्तारुढ दल हिजो विपक्षमा थियो । सरकारको जवाफदेहिता खोज्दै नीलो स्कार्फ बेरेर वेल घेरेको थियो, वेलमा पलेँटी कसेर बस्ने र पुस्तक पढ्ने काम गरेको थियो थियो । पहिले त्यही कुरा मर्यादित, अहिले कसरी अमर्यादित भयो ?'
त्यतिबेलाको गतिविधि र अहिलेको क्रियाकलाप दुवै अमर्यादित हुन् भन्ने आफूहरूको मान्यता रहेको उनले बताए ।
'त्यो पनि गलत थियो र अहिले पनि गलत भइरहेको छ भन्ने हाम्रो मान्यता छ,' राईले भने ।
सभामुख डोलप्रसाद अर्यालले बुधबार श्रम संस्कृति पार्टीका सांसदलाई अमर्यादित गतिविधि नगर्न भन्दै चेतावनी दिएका थिए ।
सांसद राईले प्रधानमन्त्री वालेन्द्र शाहप्रति लक्षित टिप्पणी गर्दै सरकार संसद्प्रति उत्तरदायी बन्न नसकेको आरोप लगाए।
'प्रधानमन्त्रीले सदनलाई देखी नसहने, संसद् देखेपछि एलर्जी नै हुने,' उनले कटाक्ष गरे ।