
प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले बाँदर आतंक नियन्त्रणका लागि सरकारलाई सात दिनको अल्टिमेटम दिएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद राईले सात दिनभित्र बाँदर समस्या समाधानको स्पष्ट योजना नल्याए सदन चल्न नदिने चेतावनी दिएका हुन् ।
सांसद राईले बिहान १० बजे धनकुटाबाट आएको एक स्थानीयको टेलिफोन गुनासो संसद्मा सुनाएका थिए । बार्दलीमा राखेको बच्चाको लुगा बाँदरले लगेको र शान्तिपूर्वक भात खान समेत नदिएको गुनासो आएको उल्लेख गर्दै उनले आम नागरिकलाई आफूले यसको जवाफ कसरी दिने भन्दै सरकारलाई प्रश्न गरे ।
कुनै मानिसले बदमासी गर्दा प्रहरीले समातेर जेल हाल्ने व्यवस्था भए पनि बाँदरले सयौं परिवारको उठिबास लगाउँदा समेत सरकार गम्भीर नभएको भन्दै उनले कडा असन्तुष्टि व्यक्त गरे । 'सात दिनभित्र बाँदर समस्या समाधान भएन भने सात दिन पछाडि सबै सदस्यहरूले यो कुरा उठाउनुहुन्छ र सदन चल्न गाह्रो हुन्छ,' राईले भने ।