२५ जेठ २०८३, सोमबार
संसद्‌मा गुञ्जिदै किसानका समस्या

किसानको खेत सुक्खा हुँदा केवल बाली मर्दैन, देशको भविष्य कमजोर हुन्छ- दीपक बोहोरा

जेठ ७, २०८३
काठमाडौं
किसानको खेत सुक्खा हुँदा केवल बाली मर्दैन, देशको भविष्य कमजोर हुन्छ- दीपक बोहोरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहोराले देशको अर्थतन्त्र बलियो बनाउन किसान र कृषि क्षेत्रलाई बचाउनु पर्ने बताएका छन् । किसानको खेत सुक्खा हुँदा देशको भविष्य कमजोर हुने उनको भनाइ छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा रास्वपा सांसद बोहोराले यसवर्षको मनसुनमा कम पानी पर्ने पूर्वसूचना आएकोले किसानलाई राहत दिन सरकारले सोही अनुसार तयारी गर्नुपर्ने बताएका हुन् ।

‘यसपटक मनसुनको समयमा कम पानी पर्ने पूर्वानुमान आएको छ । त्यसो हुँदा खेतमा पानी कम हुनेछ, धान रोपाइँ ढिला हुनेछ । वनमा डढेलो लाग्नेछ’, बोहोराले भने, ‘किसानको खेत सुक्खा हुँदा केवल बाली मर्दैन, देशको भविष्य कमजोर हुनछ । देशको अर्थतन्त्रमा असर पर्छ, किसानको खेतमा धान नफल्दा जनताको भान्सा सुक्छ ।’

सांसद बोहोराले सुक्खा संकटबाट किसानलाई राहत दिन कम पानीमा फल्ने धानबारे पर्याप्त सूचना दिनुपर्ने बताए । ‘म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, कम पानीमा हुने धानको बिउबारे व्यापक सूचना दिइयोस्, सुक्खा सहन सक्ने बिउ सबै किसानसम्म पुर्‍याइयोस्’, बोहोराले भने ।

बोहोराले मोटरसाइकलमा क्यान झुण्डाएर दूध बेच्ने किसानलाई ट्राफिक प्रहरीले हैरानी दिएको विषयमा समेत सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

‘मोटरसाइकलमा दूध बेच्न हिँडेका किसानलाई ट्राफिकले चिट काट्छ, यो देशभरको समस्या हो । एकातर्फ हामी युवालाई देशमा केही गर भन्छौं, अर्कोतर्फ मेहनत गरेर दूध बेच्न हिँडेका किसानलाई बाटोमा अवरोध खडा गर्छौं’, बोहोराले भने, ‘विदेश जानेलाई विमानस्थल खुला छ, गाउँमा दूध ल्याउने किसानलाई सडकमा महँगो पारेको छ । दूध बेच्ने प्रणाली जोखिमपूर्ण छ भने सरकारले तीनपाङ्ग्रे र चारपाङ्ग्रे सवारीमा सहुलियत देओस् ।’

बोहोराले अर्थतन्त्र बचाउने कुरा ठूला भाषणले भन्दा पनि किसान र कृषि बचाएर सम्भव हुने उनले बताए ।

‘किसानको खेत सुक्खा हुँदा केवल बाली मर्दैन, देशको भविष्य कमजोर हुन्छ । समयमा तयारी गरौं किसानलाई बचाऔं, कृषिलाई बचाऔं, देशको भोलिलाई बचाऔं !’, बोहोराले भने ।

सांसद बोहोराले ७ मिनेटको विशेष समय पूरै किसानका समस्यामा खर्चिएका थिए । कञ्चनपुर-२ बाट प्रत्यक्ष निर्वाचित सांसद बोहोराले आफ्नो क्षेत्रमा किसानले मोटो धान मात्र रोप्ने गरेकाले मसिनो धानको बिउ सहुलियतमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

salt training

कमेन्ट गर्नुहोस्