२३ जेठ २०८३, शनिबार
विश्वकप फूटबल शृंखला- ९

आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो

जेठ ७, २०८३
काठमाडौं
आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो

सन् १९६६ को जुलाई महिना । फूटबलको जन्मभूमि मानिने इङ्ल्यान्डले पहिलोपटक फिफा पुरुष विश्वकप आयोजना गर्ने अवसर पायो ।

आठौँ संस्करण जुलाई ११ देखि ३० तारिखसम्म आयोजना भएको थियो । विश्वकपको यो संस्करण खेलप्रेमीका लागि मात्र होइन, इतिहासकारका लागि पनि उत्तिकै चासोको विषय बनेको थियो ।

अझै पनि रंगीन तस्वीरको जमाना आउन बाँकी नै थियो । दर्शकले खेल टेलिभिजनको ‘ब्ल्याक एन्ड ह्वाइट’ पर्दामै हेर्नुपर्ने बाध्यता पनि कायमै थियो ।

तर, विश्वकपको यो संस्करणमा टेलिभिजनमा केही परिवर्तन भने भएको थियो । पहिलोपटक ‘स्लो–मोशन रिप्ले’को जादु देख्न पाएका दर्शकको लागि पक्कै पनि त्यो अनुभव नौलो र रोमाञ्चक थियो ।

आधुनिक फूटबलको जग बसाल्ने देशका रूपमा चिनिने इङ्ल्यान्डका लागि यो विश्वकप केवल एक खेल मात्र थिएन, आफ्नै घरमा विश्व विजेता बन्ने अवसर पनि थियो ।

null

प्रविधिले भरिएको वर्तमान फूटबल विश्वभन्दा निकै टाढाको, त्यो विश्वकप आज पनि केही रोचक र विवादास्पद किस्साहरूका कारण इतिहासको पानामा स्वर्णिम अक्षरले कुँदिएको छ ।

००

जब कुकुरले बचायो ‘विश्वकप ट्रफी’

प्रतियोगिता शुरू हुनुभन्दा चार महिनाअघि इङ्ल्यान्डमा एउटा ठूलो हलचल मच्चियो । विश्वकप विजेतालाई दिइने ‘जुल्स रिमेट ट्रफी’ चोरी भयो ।

सिङ्गो देशमा खैलाबैला मच्चियो । यो विषय इङ्ल्यान्डको प्रतिष्ठासँग पनि जोडिएको थियो । प्रहरीले ट्रफीको खोजी तीव्र बनायो ।

ट्रफी चोरी भएपछि आत्तिएको इङ्ल्यान्डले आपतकालीन अवस्थाका लागि भनेर ट्रफीको एउटा प्रतिलिपि (रेप्लिका) समेत तयार पारिसकेको थियो ।

अन्तत: ‘पिकल्स’ नामको एउटा कुकुरले लन्डनको एक बगैँचामा झाडीमुनि लुकाइएको अवस्थामा विश्वकप ट्रफी फेला पार्‍यो ।

००

null

एसियाको प्रतिनिधि उत्तर कोरिया

विश्वकपको इतिहासमा निकै लामो समयपछि एसियाली राष्ट्रले सहभागिता जनाउने अवसर पाएको थियो । आठौँ संस्करणमा एसियाको प्रतिनिधित्व उत्तर कोरियाले गरेको थियो ।

अफ्रिका र ओसेनिया क्षेत्रबाट भने कुनै पनि टोली यो विश्वकपमा सहभागी थिएनन् । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मेक्सिको प्रतियोगितामा सहभागी थियो ।

दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, चिली र उरुग्वेले यो विश्वकप खेलेका थिए । युरोपबाट सबैभन्दा बढी १० टोली सहभागी थिए ।

null

युरोपको प्रतनिधित्व बुल्गेरिया, इङ्ल्यान्ड, फ्रान्स, हंगेरी, इटाली, पोर्चुगल, सोभियत संघ, स्पेन, स्विट्जरल्यान्ड र पश्चिम जर्मनीले गरेका थिए । उत्तर कोरिया र पोर्चुगलको फिफा पुरुष विश्वकपमा यो पहिलो सहभागिता थियो ।

००

रुष्ट अफ्रिकी राष्ट्रहरूले मैदान छाडे

सन् १९६६ को विश्वकपको पृष्ठभूमि त्यति सुखद् थिएन । फिफासँगको विवाद चुलिएपछि अफ्रिकी राष्ट्रहरूले यो विश्वकप बहिष्कार गरेका थिए ।

खासमा, अफ्रिकी राष्ट्रहरू विश्वकपका लागि अफ्रिकाबाट निश्चित कोटा चाहान्थे । तर, फिफा यसका लागि तयार भएन ।

फिफाले अफ्रिका र एसियाका विजेताहरूबीच ‘प्ले–अफ’ गराउने विवादास्पद निर्णय गरेको थियो । त्यसैले अफ्रिकी महादेशका १५ वटै राष्ट्रले यो विश्वकप बहिष्कार गर्ने निर्णय लिएका थिए ।

सोही कारणले छनोट प्रक्रियामै ठूलो असर परेको थियो । एसियाबाट उत्तर कोरियाले पहिलोपटक विश्वकपमा स्थान बनायो ।

उत्तर कोरियाको सहभागिताको जरो पनि अफ्रिकी राष्ट्रहरूको बहिष्कारसँगै जोडिएको थियो । तर, विश्वकपमा उत्तर कोरियाको प्रदर्शनले भने फूटबल जगतलाई नै चकित पारेको थियो ।

००

विवादको भूमरीमा फाइनल

प्रतियोगिताको मुख्य आकर्षण थियो, इङ्ल्यान्ड र पश्चिम जर्मनीबीचको फाइनल खेल । वेम्बली स्टेडियममा करिब एक लाख दर्शकको उपस्थितिमा खेलिएको फाइनल खेललाई फूटबल इतिहासकै सबैभन्दा धेरै बहस गरिएको खेलमध्ये एक मानिन्छ । 

null

खेल शुरू भएको १२औँ मिनेटमै हेल्मट हलरले पश्चिम जर्मनीलाई अग्रता दिलाएका थिए । तर, जर्मनीको त्यो अग्रता लामो समय टिक्न सकेन ।

निर्धारित समयको १८औँ मिनेटमा इङ्ल्यान्डका जेफ हर्स्टले जवाफी गोल गरे । ७८औँ मिनेटमा मार्टिन पिटर्सले इङ्ल्यान्डलाई २–१ गोलले अगाडि बढाए ।

त्यसलगत्तै, ८९औँ मिनेटमा पश्चिम जर्मनीका उल्फग्याङ वेबरले बराबरी गोल फर्काए । यसरी निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

त्यसपछिको खेल भने निकै विवादित बन्न पुग्यो । खेलको अतिरिक्त समयमा इङ्ल्यान्डका जेफ हर्स्टले प्रहार गरेको बल क्रसबारमा ठोक्किएर ‘गोल लाइन’नजिकै खस्यो ।

स्विट्जरल्यान्डका रेफ्री गोटफ्राइड डायन्स्टले पनि त्यसलाई गोलको मान्यता दिए । तर, त्यो गोलको विषयलाई लिएर मैदानमा लामै समय विवाद भएको थियो ।

त्यही गोलले इङ्ल्यान्डलाई उपाधिको नजिक पुर्‍यायो । अतिरिक्त समयमा हर्स्टले नै अर्को गोल पनि गरेका थिए । तर, दशकौँसम्म त्यो विवादास्पद गोलको वैधानिकतामाथि निरन्तर प्रश्न उठिरह्यो ।

आधुनिक प्रविधि प्रयोग गरेर पछि गरिएको अनुसन्धानले उक्त बलले ‘गोल लाइन’ नै पार नगरेको देखायो । तर, त्यतिबेलासम्म निकै ढिलो भइसकेको थियो ।

इतिहासले इङ्ल्यान्डलाई विश्वकप च्याम्पियन बनाइसकेको थियो ।

००

null

पेलेको पीडा र उत्तर कोरियाको उदय

साविक विजेता ब्राजिलका लागि सन् १९६६ को विश्वकप बिर्सनलायक रह्यो । चोटग्रस्त पेले विपक्षी खेलाडीहरूको कठोर ट्याकलबाट जोगिन सकेनन् ।

मैदानमा पेले निरन्तर विपक्षी टोलीका खेलाडीहरूको निशानामा परिरहे । पेलेको खेललाई विपक्षीले आफ्नो कौशलले भन्दा पनि शारीरिक शक्ति प्रयोग गरेर रोक्ने प्रयास गर्थे ।

यसले पेलेलाई निराशा बनाउनु स्वभाविक थियो । उनी यति निराश भए कि, उनले विश्वकपलगत्तै अन्तर्राष्ट्रिय फूटबलबाटै सन्न्यास नै लिने घोषणा गरे । यद्यपि, दुई वर्षपछि उनले आफ्नो सन्न्यास फिर्ता लिएका थिए ।

अर्कोतिर, विश्व फूटबलको ‘पावर हाउस’ इटालीलाई उत्तर कोरियाले स्तब्ध: पार्दै उपाधि होडबाटै बाहिर पुर्‍याइदियो । वास्तवमै त्यो अप्रत्यासित नतिजा थियो ।

क्वार्टरफाइनलमा पनि उत्तर कोरियाले पोर्चुगलविरुद्ध शुरूमै ३–० गोलको अग्रता लिएर तहल्का मच्याएको थियो । त्यो अर्को नाटकीय खेल थियो ।

यद्यपि, युसेबियोको जादुमय प्रदर्शनसँगै उक्त खेलमा पोर्चुगलले उत्तर कोरियालाई ५–३ गोलले हराएको थियो । युसेयिबो एक्लैले चार गोल गरेका थिए ।

यो विश्वकपमा पोर्चुगलले तेस्रो स्थानमा हासिल गर्‍यो । तेस्रो स्थानका लागि भएको खेलमा पोर्चुगलले सोभियत संघलाई २–१ गोलले हराएको थियो ।

००

युसेबियोको कमाल

विश्वकपको आठौँ संस्करणमा कुल ३२ खेल खेलाइएको थियो । त्यसमा विभिन्न टोलीका ४७ खेलाडीले कुल ८९ गोल गरेका थिए ।

पोर्चुगलका युसेबियो फेरेइरा प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । उनले ह्याट्रिकसँगै कुल आठ गोल गरेका थिए ।

null

यसैगरी, पश्चिम जर्मनीका हेल्मट हलरले ६ गोल गरेका थिए । विभिन्न टोलीका चारजना खेलाडीले पनि चार–चार गोल गरेका थिए ।

समग्रमा, इङ्ल्यान्डले पहिलोपटक उपाधि उचालेको यो विश्वकप फूटबलमा नयाँ प्रविधिको प्रयोग, केही विवाद र केही अविस्मरणीय कीर्तिमानका लागि सधैँ स्मरणीय रहने पक्का छ ।

null

पक्कै पनि यो विश्वकपमा गोर्डन ब्याङ्क, बबी चार्ल्टन, जेफ हर्स्टजस्ता हस्तीहरूले इङ्ल्यान्डको फूटबल इतिहासमा सुनौलो अध्याय थपेका थिए, जसको चर्चा आज पनि उत्तिकै हुने गर्छ ।

००

आठौँ विश्वकपसँग जोडिएका केही रोचक कथा :

० प्रतिबन्धित शक्तिबर्द्धक औषधिको परीक्षण : फिफाले यो विश्वकपमा खेलाडीले शक्तिबर्द्धक औषधि सेवन गरे–नगरेको पत्ता लगाउन परीक्षण गरेको थियो । विश्वकप फूटबलको इतिहासमा यस्तो परीक्षण गरिएको त्यो पहिलोपटक थियो ।

० कीर्तिमानी संख्यामा दर्शक : प्रतियोगिताको औसत दर्शक उपस्थिति ४८ हजार आठ सय ४७ थियो । यो दर्शक संख्याले सन् १९५० को कीर्तिमान तोडेको थियो ।

null

० हर्स्टको ह्याट्रिकले बनाएको कीर्तिमान : इङ्ल्यान्डका जेफ हर्स्टले फाइनल खेलमा ह्याट्रिक गरेका थिए । योसँगै उनी विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका थिए ।

० ‘ब्ल्याक एन्ड ह्वाइट’मा अन्तिम प्रसारण : टेलिभिजनमा रंगीन प्रसारण शुरू हुनुभन्दा अघिको यो नै अन्तिम विश्वकप थियो । यो विश्वकपको प्रसारण ‘ब्ल्याक एन्ड ह्वाइट’ थियो ।

० धार्मिक कारणले आइतबार खेल नै भएन : धार्मिक कानूनका कारण यो इतिहासको एकमात्र विश्वकप थियो, जसमा आइतबार कुनै पनि खेल खेलाइएन ।

० विश्वकपमा मस्कटको शुरूआत : विश्वकपको यही संस्करणमा पहिलोपटक मस्कटको प्रचलन शुरू भएको थियो । यो विश्वकपमा मस्कटको नाम ‘वर्ल्ड कप विली’ राखिएको थियो ।

० सेमिफाइनलमा सबै युरोपेली टोली : विश्वकपको यो संस्करणमा सेमिफाइनलमा पुग्ने चारवटै टोली युरोपका थिए । पश्चिम जर्मनी, सोभियत संघ, इङ्ल्यान्ड र पोर्चुगल सेमिफाइनलमा पुगेका थिए ।

० एलिजाबेथ द्वितीयको हातबाट ट्रफी : विश्वकपको आठौँ संस्करणको विजेता टोलीलाई बेलायतकी महारानी एलिजाबेथ द्वितीयले ट्रफी प्रदान गरेकी थिइन् । प्रतियोगिताको उद्घाटन पनि रानीबाट नै भएको थियो ।

null

० दौडका कारण अन्यत्रै खेल : उरुग्वे र फ्रान्सबीचको एउटा खेल लन्डनको ह्वाइट सिटीमा खेलिएको थियो, जुन परम्परागत फूटबल स्थल होइन । खासमा त्यो खेल वेम्बली स्टेडियममा खेलाइने तालिका थियो । तर, त्यही समयमा वेम्बलीमा ग्रेहाउन्ड दौडको तालिका थियो र आयोजकले त्यो दौडलाई रद्द गर्न अस्वीकार गरेका थिए ।

० जब खेलाडीले परिचयपत्र होटलमै बिर्सिए : आयोजक इङ्ल्याण्ड र उरुग्वेबीचको उद्घाटन खेल निर्धारित समयभन्दा निकै ढिलो शुरू भएको थियो । त्यसको कारण भने रमाइलो थियो । इङ्ल्यान्डका अधिकांश खेलाडीले आफ्नो परिचयपत्र होटलमै छोडेका थिए । त्यसपछि त्यो परिचयपत्र लिन एक प्रहरी अधिकारीलाई मोटरसाइकलमा होटल पठाइएको थियो ।

० ट्रफीको सुरक्षा उपाय : एफएले खेलपछिको उत्सवका लागि जुल्स रिमेट ट्रफीजस्तै देखिने अर्को ट्रफी बनाएको थियो । सक्कली ट्रफीको सुरक्षाका लागि यस्तो गरिएको थियो । पछि, त्यो ट्रफीलाई सन् १९९७ मा फिफाले लिलामीमा दुई लाख ५४ हजार पाँच सय पाउन्डमा खरिद गरेको थियो ।

थप तस्वीरहरू:

nullnullnullnullnull

पढ्नुहोस् यो पनि :

विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग

पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म

दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम

द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो

पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव

छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय

सातौं फिफा विश्वकप–१९६२ :  भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा

कुराकाओको ऐतिहासिक विश्वकप यात्रा : डच प्रभाव, औपनिवेशिक विरासत र एउटा सानो टापुको ‘ब्लू वेभ’ क्रान्ति

salt training

कमेन्ट गर्नुहोस्