
नेपाली टोलीका माथिल्लो क्रमका ब्याट्सम्यान इशान पाण्डेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो अर्धशतक बनाएका छन् ।
२८ वर्षीय इशानले शुक्रबार कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा पनि अर्धशतक बनाएका हुन् ।
इशानले अमेरिकाविरुद्ध ६१ बलको सामना गरी एक छक्का र तीन चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरे ।
उनले यही लिग–२ शृंखलामार्फत एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गरेका हुन् । अमेरिकाविरुद्धको यो खेल एकदिवसीय अन्तर्राष्ट्रियमा उनको केवल तेस्रो खेल हो ।
यसअघि, उनले यही शृंखलाको स्कटल्यान्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए । उक्त खेलमा उनले ५५ रन बनाएका थिए ।
अमेरिकाविरुद्धको जारी खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३४.४ ओभरमा दुई विकेट गुमाएर एक सय ६८ रन बनाएको छ । कप्तान रोहित कुमार पौडेल पनि ४० रन बनाउँदै क्रिजमा छन् ।