२३ जेठ २०८३, शनिबार
विश्वकप फूटबल शृंखला- १२

उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान

जेठ ९, २०८३
काठमाडौं
उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान

सन् १९७९ को त्यो कालो दिन, जब ‘पाख्ताकोर’ क्लबका खेलाडीहरू बोकेको विमान आकाशमै दुर्घटनाग्रस्त भयो । उक्त दुर्घटनामा उज्बेक फुटबलले आफ्नो एउटा पूरै पुस्ता नै गुमायो ।

त्यो दुर्घटनाले उज्बेकिस्तानको फुटबललाई दशकौँसम्म शोक र अनिर्णयको बन्दी बनाएर राख्यो । त्यसयताका ३५ वर्ष विशेष गरी स्वतन्त्रता प्राप्तिपछि, उज्बेक फुटबलले सातपटक विश्वकप छनोटको ढोका ढकढक्यायो ।

हरेकपटक हताश भएर रित्तो हात फर्कनु पर्‍यो । तर, आज इतिहासले कोल्टे फेरेको छ । ‘ह्वाइट उल्भ्स’ अर्थात, ‘सेता ब्वाँसाहरू’को उपनामले चिनिने उज्बेकिस्तानले सन् २०२६ को फिफा विश्वकपमा स्थान सुरक्षित गर्दै मध्यएसियाली फुटबलमा नयाँ युगको सूत्रपात गरेको छ ।

तीन दशकको आँसु र ‘हार्टब्रेक’को कथा

उज्बेकिस्तानको विश्वकप छनोटको इतिहास ‘अधुरो सपना’को पर्याय बनेको थियो । सन् २००६ मा बहराइनसँगको विवादास्पद रेफ्री निर्णय त झनै दूर्भाग्यपूर्ण क्षण थियो । त्यतिबेला जितिसकेको खेल रद्द गरिएपछि उज्बेकिस्तान प्ले–अफबाट बाहिरिएको थियो ।

त्यसको आठ वर्षपछि सन् २०१४ मा जोर्डनसँगको पेनाल्टी सुटआउटमा व्यहोरेको त्यो हृदयविदारक हार अझै पनि उज्बेक समर्थकको मानसपटलमा ताजै छ ।

त्यतिबेला पेनाल्टी प्रहारको अवसरलाई सदुपयोग गर्न नसकेका अन्जुर स्माइलोभलाई इतिहासको त्यो गल्तीले आज पनि पिरोल्छ ।

null

उनी आज ४० वर्षको उमेरमा पनि क्लबस्तरमा खेलिरहेका छन् । उनले त्यो रातको पीडालाई राष्ट्रिय पीडाका रूपमा बाँडेका थिए । तर, यो पुस्ताले भने ती सबै पुराना घाउमा मलम लगाइदिएको छ ।

फबियो कानाभारोको ‘इम्पेक्ट’ र ‘रक्षात्मक कला’को नयाँ शैली

उज्बेकिस्तान फुटबल संघले छनोट अभियानको सफलतापछि टोलीका मुख्य आर्किटेक्ट टिमुर कापाड्जेलाई सहायक प्रशिक्षकमा झारेर विश्व फुटबलकै एक दिग्गज फबियो कानाभारोलाई मुख्य प्रशिक्षक बनायो ।

सन् २००६ को विश्वकप विजेता र बालोन डी’ओर विजेता कानाभारोको नियुक्तिले उज्बेकिस्तानमा मात्र होइन, पूरै एसियामा हलचल ल्याएको छ ।

null

कानाभारोले टोलीमा इटालेलीको ‘कातेनाचियो’ अर्थात, रक्षात्मक रणनीतिको झल्को दिएका छन् । उनको मुख्य जोड ‘डिसिप्लिन’ र ‘ट्याक्टिकल अवेयरनेस’मा छ ।

आफैँ पूर्वडिफेन्डर हुनुको नाताले उनले उज्बेकिस्तानको रक्षापँक्तिलाई यति मजबुत बनाएका छन् कि कठिनभन्दा कठिन खेलमा पनि उनीहरू सहजै पराजित हुँदैनन् । कानाभारो र उनको टोलीले उज्बेक खेलाडीमा ‘ठूला खेल’ खेल्न मनोवैज्ञानिक आत्मविश्वास भरिदिएका छन् ।

‘ह्वाइट उल्भ्स’को नयाँ ‘गोल्डेन जेनेरेसन’

उज्बेकिस्तानको यो सफलताका पछाडि युवा प्रतिभाहरूको ताँती नै छ भन्दा फरक नपर्ला । एल्डोर शोमुरोदोभ (कप्तान) यसैको महत्वपूर्ण कडी हुन् ।

एएस रोमा र काग्लियारीजस्ता इटालियन सिरीए क्लबको अनुभव बटुलेका शोमुरोदोभ टोलीका मुटु नै हुन् भन्दा फरक नपर्ला । उनको गति र फिनिसिङ क्षमताले जुनसुकै ठूला टोलीको डिफेन्सलाई पनि तहस–नहस पार्न सक्छ ।

अब्बोसबेक फायजुलाएभ टोलीका अर्का प्रभावशाली युवा खेलाडी हुन् । २२ वर्षका यी युवा खेलाडी उज्बेक फुटबलका भविष्य पनि हुन् । छनोट चरणको अन्तिम खेलहरूमा उनको गोल गर्ने क्षमताले उज्बेकिस्तानलाई अघि बढ्न निकै सघाएको थियो ।

null

यसैगरी, जालोलिद्दिन मासारिभोभ पनि यस्तै अर्का क्षमतावान खेलाडी हुन् । उनी टोलीका प्रभावशाली ‘प्ले–मेकर’ हुन् । उनको पासिङ र फ्रीकिक क्षमताले कुनै पनि बेला खेलको नतिजा बदल्न सक्छ ।

रणनीतिक पहिचान र एसियाली फुटबलको दबदबा

उज्बेकिस्तानको खेल शैलीमा कडा अनुशासन र तीव्र गति देख्न पाइन्छ । स्वतन्त्रता (सन् १९९१) पछि विकसित उनीहरूको फुटबल संस्कृतिमा यतिबेला ‘व्यावसायिकता’ पनि जोडिएको छ ।

छनोट चरणको अन्तिम राउन्डमा इरान, कतार र युएईजस्ता टोलीहरूसँगको प्रतिस्पर्धामा उज्बेकिस्तानले आफ्नो स्तर प्रमाणित गरिसकेको छ ।

घरमा कतार र युएईलाई हराउनु अनि, इरानजस्तो बलियो टोलीलाई बराबरीमा रोक्नुले ‘ह्वाइट उल्भ्स’ अब एसियाली फुटबलको ‘पावर हाउस’ बन्ने बाटोमा रहेको स्पष्ट संकेत गर्छ ।

null

भविष्यको रणनीति र विश्वकपको लक्ष्य

विश्वकपमा छनोट हुनुमात्र उज्बेकिस्तानको अन्तिम लक्ष्य होइन । उनीहरूको सम्पूर्ण ध्यान अब विश्वकपमा हुने ‘पहिलो प्रभाव’ मा केन्द्रित छ ।

उज्बेकिस्तान फुटबल संघले युवा एकेडेमी र पूर्वाधारमा गरेको लगानीले नै यो सफलतालाई सम्भव बनाएको हो । भविष्यमा उनीहरू मध्यएसियाको एउटा यस्तो केन्द्र बन्न चाहन्छन्, जहाँबाट विश्व फुटबलका स्टारहरू उत्पादन गर्न सकियोस् ।

उज्बेकिस्तानको यो यात्राले एउटा कुरा प्रस्ट पारेको छ, फुटबलमा ‘सानो’ वा ‘ठूलो’ देश हुँदैन, केवल ‘दृढ संकल्प’ हुन्छ । 

३५ वर्षदेखि विश्वकपको ढोका ढक्ढक्याइरहेका ‘सेता ब्वाँसाहरू’ अब ढोका खोलेर भित्र पसेका छन् । जुन २०२६ मा जब उज्बेकिस्तानको राष्ट्रिय गान बज्नेछ, त्यो तास्कन्दको सडकमा मात्र होइन, पूरै मध्यएसियाको गौरवका रूपमा गुञ्जिने छ ।

null

आगामी विश्वकपमा उज्बेकिस्तान समूह ‘के’मा परेको छ । उक्त समूहमा समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगल पनि छ ।

कंगो र कोलम्बियाजस्ता लामो इतिहास बोकेका टोली पनि सोही समूहमा परेका छन् । उज्बेकिस्तानले आफ्नो पहिलो खेल जुन १७ तारिखमा कोलम्बियासँग खेल्नेछ ।

यसैगरी, उज्बेकिस्तानले आफ्नो दोस्रो खेल जुन २३ तारिखमा पोर्चुगलसँग खेल्नेछ । जुन २७ हुने समूहगत चरणको अन्तिम खेलमा उज्बेकिस्तानले कंगोको सामना गर्नेछ ।

के उज्बेकिस्तान विश्वकपमा ‘सरप्राइज प्याकेज’ बन्न सक्ला ? कानाभारोका ‘सेता ब्वाँसाहरू’ले विश्वकपको मञ्चमा आफूलाई प्रमाणित गर्लान् ? यसको जवाफ पाउन फुटबल पाखरीले अब धेरै लामो समय प्रतिक्षा गर्नुपर्ने छैन ।

salt training

कमेन्ट गर्नुहोस्