
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पद छाड्नुपर्ने दबाब बढेको छ । सचिवालयका बहुसङ्ख्यक नेताहरू उनले मार्ग प्रशस्त गर्नुपर्ने निचोडमा पुगेका छन् ।
जारी सचिवालय बैठक अन्तर्गत शनिबारसम्म बोल्ने नेताहरूमध्ये अधिकांशले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् । पार्टीभित्र पार्टी पुनर्गठनको आवाज बलियोसँग उठेको भन्दै नेताहरूले अब अहिलेकै नेतृत्वबाट पार्टी र आन्दोलन अघि बढ्न नसक्ने बताएका छन् ।
शनिबारको बैठकमा धारणा राखेका महासचिव शंकर पोखरेल पनि उपाध्यक्षहरूकै लाइनमा उभिए । महासचिव पोखरेलले अहिलेकै अवस्थामा पार्टीको आन्दोलन र पार्टी अघि बढ्न नसक्ने बताए ।
उनले राजीनामा भन्ने शब्द प्रयोग नगरे पनि अहिलेकै नेतृत्वमा आन्दोलन अघि बढ्न नसक्ने कुरा प्रस्टसँग राखेको बैठकमा सहभागी एक नेताले बताए । ओली अहिले सचिवालयमै अल्पमतमा परेका छन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्यक्षबाट राजीनामा नदिने बताएका छन् ।
शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र सहमति भए पनि, नभए पनि आफूले नछाड्ने बताएका हुन् ।
००००
नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशाङ्क कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस बृहत एकता र भावि कार्यदिशाको लागि गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीलाई शनिबार पोखरामा सम्बोधन गर्दै नेता कोइरालाले भने, “पार्टी बलियो भयो भने हामी बाँच्छौँ, पार्टी कमजोर भए हामी झन् कमजोर हुँदै जान्छौँ ।”
००००
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक आन्दोलनलाई सुदृढ वैचारिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताएकी छन् ।
मदन भण्डारी हीरक जयन्ती मूल व्यवस्थापन समितिद्वारा शनिबार काठमाडौँमा आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उनले मदन केवल राजनीतिक नेतृत्वकर्ता मात्र नभई जनताको आकाङ्क्षा, लोकतान्त्रिक मूल्य र राष्ट्रिय आवश्यकतालाई राजनीतिक कार्यक्रममार्फत संस्थागत गर्न सक्ने विशिष्ट चिन्तक भएको बताइन् ।
००००
आगामी आर्थिक वर्ष (२०८३/०८४) को नीति, कार्यक्रम र बजेटको मुखैमा लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि दलहरूले छलफललाई तीब्र बनाएका छन् ।
सरकारको नेतृत्व गरेको नेकपा एमाले पूर्वसहमति अनुसार बजेटपछि मात्र सरकारको नेतृत्व छाड्ने मनस्थितिमा भने, प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस त्यसअघि नै सरकारको नेतृत्व लिनेगरी नेतृत्व बदल्न कस्सिएको छ ।
००००
विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा गरिने भएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ भने सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीलाई हालको दर्जाको न्यूनतम अवधि पुगेपछि हवल्दारमा बढुवा गरिने भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।
००००
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सात प्रदेशका सांसद पाल्ने खर्चले देशको स्वास्थ्य र शिक्षा निःशुल्क हुने दाबी गरेका छन् ।
पार्टीले शनिबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता केसीले संघीयता खारेजीको विकल्प नभएको दोहोर्याउँदै मुलुकका सातै प्रदेश खारेज गर्न सके राज्यले शिक्षा र स्वास्थ्यको जिम्मा लिन सक्ने बताए ।
००००
प्रहरीले काठमाडौंको गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र सप्तरी राजविराज–१३ घर भइ हाल काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
००००
नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी ओलीको राजीनामा मागेकी छन्। जारी सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व छाड्न बहुमत पदाधिकारीले दबाब दिइरहेको बेला शाक्यले पनि राजीनामा मागेकी हुन् ।
शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने ओलीको सोच गलत भएको उनको भनाइ छ । उनले पार्टी कमजोर अवस्थामा पुग्दा समेत ओलीको दम्भ घमन्ड र गुटगत सोच उस्तै रहेको बताइन् ।