
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियार विकास गर्न वा प्राप्त गर्न नसक्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत एक विज्ञप्ति जारी गर्दै ट्रम्पले इरानसँगको आणविक मुद्दामा आफ्नो प्रशासनको कडा अडान सार्वजनिक गरेका हुन्।
राष्ट्रपति ट्रम्पले इरानसँगको वर्तमान वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अगाडि बढिरहेको बताएका छन्। यद्यपि, उनले अमेरिकी वार्ता टोलीलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएको जानकारी दिए। 'अहिले समय हाम्रो पक्षमा छ, त्यसैले सम्झौताका लागि हतारिनु आवश्यक छैन,' ट्रम्पले भनेका छन्, 'दुवै पक्षले पर्याप्त समय लिएर यसलाई सही ढङ्गले टुङ्ग्याउनुपर्छ। यसमा कुनै पनि गल्ती हुनुहुँदैन।'
ट्रम्पले जबसम्म एउटा ठोस सम्झौता तय हुँदैन, त्यसको प्रमाणीकरण गरिँदैन र हस्ताक्षर हुँदैन, तबसम्म इरानमाथिको अमेरिकी नाकाबन्दी पूर्ण रूपमा जारी रहने स्पष्ट पारेका छन्।
पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको आणविक सम्झौताको आलोचना गर्दै ट्रम्पले त्यसलाई अमेरिकाले अहिलेसम्म गरेका खराब सम्झौताहरूमध्ये एकको संज्ञा दिएका छन्। उनले सो सम्झौतालाई ओबामा प्रशासनका अपरिपक्व मानिसहरूले ल्याएको भन्दै त्यसले इरानलाई आणविक हतियार निर्माणका लागि सिधा बाटो खोलिदिएको आरोप लगाए।
इरानसँगको सम्बन्ध अहिले व्यावसायिक र उत्पादक बन्दै गएको दाबी गर्दै ट्रम्पले मध्यपूर्वका देशहरूलाई 'अब्राहम एकोर्ड्स' मार्फत सहकार्य गर्न आह्वान गरे। उनले भविष्यमा इरान पनि यो ऐतिहासिक शान्ति प्रक्रियामा सहभागी हुन सक्ने सम्भावना रहेको संकेत गरेका छन्।