२० असार २०८३, शनिबार
एमाले सचिवालय बैठक

एमालेद्वारा दुईवटा कार्यदल गठन, अब बल्खुमै पार्टी कार्यालय

पदाधिकारीको वरीयता निर्धारण, असार दोस्रो साता केन्द्रीय समिति बैठक
जेठ १०, २०८३
काठमाडौं
एमालेद्वारा दुईवटा कार्यदल गठन, अब बल्खुमै पार्टी कार्यालय

नेकपा एमालेले पार्टीको आगामी कार्यदिशा र संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने निर्णय गरेको छ । आइतबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा झण्डै साढे ९ घण्टासम्म चलेको बैठकले पार्टीको आगामी कार्यदिशा र संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए  । 

बैठकले पार्टीका पदाधिकारीहरूको वरीयता क्रम निर्धारण गरेको छ ।  जसमा अध्यक्ष ओली पहिलो नम्बरमा रहेका छन् भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ दोस्रो र विष्णु पौडेल तेस्रो वरीयतामा छन् । 

यसैगरी उपाध्यक्षहरू पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, र रघुजी पन्त क्रमशः वरीयतामा रहेका छन् । त्यसैगरी महासचिवमा शंकर पोखरेल र उपमहासचिवहरूमा लेखराज भट्ट, योगेश भट्टराई र पदमा अर्यालको वरीयता तोकिएको छ । यस्तै सचिवमा महेश बस्नेतको वरीयता अन्तिममा रहेको छ ।

संगठनात्मक सुदृढीकरणका लागि पार्टी सदस्यता नवीकरणको प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने समेत बैठकले निर्णय गरेको छ । जेठ मसान्तभित्र संगठनात्मक सदस्यता नवीकरण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने तोकिएको समयमा नवीकरण नगर्नेहरूको म्याद थप नगर्ने नीति लिइएको भट्टले बताए । 

यसका साथै, केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजनलाई पनि बैठकले अन्तिम रूप दिएको छ । जसमा नेताहरूलाई भूगोल र विभिन्न विभागहरूको जिम्मेवारी सुम्पिएको भट्टको भनाइ छ ।

बैठकले दुईवटा कार्यदलहरू पनि गठन गरेको छ । संविधान संशोधनका सन्दर्भमा सुझाव दिन उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा 'संविधान संशोधन सुझाव कार्यदल' र गत निर्वाचनको परिणामको समीक्षा गर्न उपाध्यक्ष रामबहादुर थापा 'बादल' को संयोजकत्वमा 'निर्वाचन समीक्षा प्रतिवेदन तयारी कार्यदल' गठन गरिएको छ । निर्वाचन समीक्षा कार्यदललाई एक महिनाभित्र रिपोर्ट बुझाउन समय दिइएको छ ।

पार्टी कार्यालय निर्माणको विषयमा पनि बैठकले निर्णय गरेको छ । २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएको बल्खुस्थित मदननगरको आफ्नै जग्गामा पार्टी कार्यालयको नयाँ भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । यसअघि कीर्तिपुरमा भवन निर्माण गर्ने प्रस्ताव गर्ने व्यवसायी मीनबहादुर गुरुङको प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्दै आफ्नै जग्गामा भवन बनाउने निष्कर्षमा पार्टी पुगेको हो । नयाँ भवन नबनुन्जेल उपयुक्त ठाउँमा भाडामा कार्यालय सञ्चालन गरिने भट्टले बताए । 

पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र अल्पमतमा परेको र उनको राजीनामा मागिएको भनी बाहिर आएका हल्लाहरूलाई बैठकले पूर्ण रूपमा खारेज गरेको सचिव महेश बस्नेतले दाबी गरे । 

पार्टीभित्र लोकतान्त्रिक ढंगले बहस र छलफल हुनु स्वभाविक भएको तर अध्यक्षको नेतृत्वमा पार्टी एकढिक्का रहेको उनको दाबी थियो । कबस्नेतले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको सन्दर्भमा पनि विगतको निर्णय अनुसार नै उनको सदस्यता कायम रहने गरी अगाडि बढ्ने जानकारी दिए । 

बैठकको अन्त्य गर्नुअघि अध्यक्ष ओलीले आफ्नो स्वास्थ्य अवस्था ९८ प्रतिशत ठीक भइसकेको जानकारी दिँदै अब आफू सातै प्रदेश र विभिन्न जिल्लाहरूमा पुगेर कार्यकर्ताको उत्साह जगाउन सक्रिय हुने बताएका थिए । बैठकमा उनले आगामी असार १५ देखि २० गतेभित्र पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने जानकारी समेत गराएका थिए । 

बैठकले वर्तमान सरकारका कामकारबाहीको आलोचना गर्दै विभिन्न राजनीतिक र सामाजिक मुद्दाहरूमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले प्रतिशोधी र पूर्वाग्रही व्यवहार देखाएको, संसद् बैठक हठात् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउन खोजेको, र सुकुम्बासीहरूलाई अमानवीय ढंगले विस्थापन गरेको भन्दै एमालेले विरोध जनाएको छ ।

 यस्तै, प्रधानन्यायाधीश नियुक्तिमा वरीयता मिचिएको, महँगी बढेको र दलित तथा महिलामाथि हिंसा बढ्दा पनि सरकार मौन रहेको भन्दै एमालेले सदन र सडक दुवै ठाउँबाट भण्डाफोर अभियान चलाउने निर्णय गरेको भट्टले बताए ।

यसैबिच एमालेले राष्ट्रियता, लोकतन्त्र र विधिको शासनका लागि आवश्यकता अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरूसँग पनि सहकार्य गर्न सक्ने ढोका खुल्ला राखेको बस्नेतले बताए । 


salt training

कमेन्ट गर्नुहोस्