२४ जेठ २०८३, आइतबार

कांग्रेसमा १५औं महाधिवेशनको तयारी तीव्र, जेठ २१ भित्र क्रियाशील सदस्यता अद्यावधिक सक्ने

जेठ ११, २०८३
काठमाडौं
कांग्रेसमा १५औं महाधिवेशनको तयारी तीव्र, जेठ २१ भित्र क्रियाशील सदस्यता अद्यावधिक सक्ने

नेपाली कांग्रेसले १५औं महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता वितरणको काम यही जेठ २१ गतेभित्र सक्ने निर्णय गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा सोमबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले महाधिवेशन केन्द्रित सदस्यता अभियानलाई समयसीमाभित्र टुंग्याउने निर्णय गरेको हो । बैठक समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको थियो ।

बैठकले क्रियाशील सदस्यता अद्यावधिकलाई द्रुत र व्यवस्थित बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई विशेष जिम्मेवारीसमेत तोकेको छ । 

जसअनुसार कोशी प्रदेशमा डा. डिला संग्रौला, बागमतीमा बहादुरसिंह लामा, गण्डकीमा मुक्ताकुमारी यादव, लुम्बिनीमा अमरसिंह पुन, कर्णालीमा जानकी सिंह, मधेशमा देवराज चालिसे र सुदूरपश्चिममा उदयशमशेर राणालाई जिम्मेवारी दिइएको छ ।

बैठकले १४औं महाधिवेशनका क्रममा गठित क्रियाशील सदस्यता छानबिन समितिले आधिकारिकता दिएका सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय पनि गरेको छ ।

अन्य दलबाट कांग्रेसमा समायोजन भएका व्यक्तिहरूको सदस्यता सम्बन्धी समस्या समाधान गर्न विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णयसमेत गरिएको छ । बारा, सिराहा, धनुषा, सप्तरी, सोलुखुम्बु, सर्लाही, सुर्खेत, महोत्तरी, कपिलवस्तु, सुनसरी, रौतहट, पर्सा र काठमाडौंमा प्रतिनिधि खटाइने भएको छ ।

बारामा डा. गोपाल दहित, सिराहामा आङ्गेलु शेर्पा, धनुषामा अब्दुल सत्तार, सप्तरीमा राजीव ढुंगाना, सोलुखुम्बुमा कुसुम थापा, सर्लाहीमा देवप्रसाद तिमिल्सिना, सुर्खेतमा तिलक रानाभाट, महोत्तरीमा प्रमोदहरि गुरागाईँ, कपिलवस्तुमा, टेकराज पौडेल, सुनसरीमा जगदीश नरसिंह केसी, रौतहटमा कमलकिशोर घिमिरे, पर्सामा कृष्ण रिजाल र काठमाडौंमा ईश्वर अधिकारी केन्द्रीय प्रतिनिधिका रूपमा खटिनेछन् । 

बैठकले विदेशस्थित जनसम्पर्क समितिहरूको अधिवेशन र सदस्यता अद्यावधिक प्रक्रियालाई पनि अघि बढाउने निर्णय गरेको छ । अधिवेशन सम्पन्न गरिसकेका सात देशका जनसम्पर्क समितिलाई क्रियाशील अद्यावधिकको अनुमति दिने तथा समस्या नदेखिएका १५ देशका समितिलाई अधिवेशनको समयतालिका पेश गर्न निर्देशन दिने निर्णय गरिएको केन्द्रीय कार्यालयका कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । 

त्यस्तै, केन्द्रीय कार्यालयसँग लामो समय सम्पर्कविहीन रहेका सात देशका जनसम्पर्क समितिलाई सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणका लागि परिपत्र गर्ने तथा सदस्यता विवाद रहेका आठ देशका समितिबारे अध्ययन गरी समाधान खोज्ने निर्णय भएको छ ।

बैठकले नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा केन्द्रीय कार्यालयका सहसचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

नेपाली कांग्रेसले आउँदो असोज १६–१९ मा काठमाडौंमा १५ ‍‍औं महाधिवेशन गर्नेगरि मिति तय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्