
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्यमा वृद्धि गरेको छ। सोमबार बसेको बैठकले अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा नयाँ मूल्य कायम गर्ने निर्णय गरेको हो।
चितवनलाई आधार मानेर तय गरिएको नयाँ मूल्य सूची अनुसार जेष्ठ १२ गतेदेखि एक्सएल साइजको अण्डाको फार्म मूल्य प्रति क्रेट ५४५ रुपैयाँ पुगेको छ। यसअघि जेष्ठ ४ गतेदेखि लागू भएको दरमा यसको मूल्य ५३० रुपैयाँ थियो। त्यसैगरी, ठूलो अण्डाको मूल्य प्रति क्रेट ५३० रुपैयाँ र मिडियम अण्डाको मूल्य प्रति क्रेट ५०० रुपैयाँ कायम गरिएको छ।
यसअघि ठूलो अण्डा प्रति क्रेट ५१५ रुपैयाँ र मिडियम अण्डा ४८५ रुपैयाँमा कारोबार भइरहेको थियो। पछिल्लो निर्णयसँगै सबै प्रकारका अण्डामा प्रति क्रेट १५ देखि २५ रुपैयाँसम्म मूल्य वृद्धि भएको हो। यस्तै, सानो अण्डाको मूल्य प्रति क्रेट ४०० रुपैयाँ तोकिएको संघका सचिव मदन पोखरेलले बताए ।
अण्डाको फार्म मूल्य बढे पनि उपभोक्ता मूल्य भने प्रति गोटा २५ रुपैयाँ नै यथावत राखिएको संघले जनाएको छ। उत्पादन लागत र बजारको मागलाई मध्यनजर गर्दै संघले एक साताको अन्तरालमा यो मूल्य समायोजन गरेको संघको भनाइ छ ।