
वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको नियत र लोकतन्त्रप्रतिको प्रतिबद्धतामा शंका गर्दै नेपाली कांग्रेसकी सांसदले ‘हाउ डेमोक्रेसिज डाई’ भन्ने पुस्तक पढ्न मन्त्रीलाई सुझाव दिएकी छिन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद गीता गुरूङले स्टिभन लेभित्स्की र ड्यानियल जिब्लाटको पुस्तक ‘हाउ डेमोक्रेसिज डाई’ पढ्न बालेन सरकारका मन्त्रीलाई सुझाव दिएकी हुन् ।
‘हाल क्याबिनेटमा रहेका एकजना मन्त्रीले तत्कालीन प्रधानमन्त्रीलाई हाउ डेमोक्रेसिज डाई लिखित अध्ययन गर्न र आफ्नो कामको मूल्याकंन गर्न सुझाउनु भएको थियो’, सांसद गुरूङले भनिन्, ‘पुस्तकमा लोकतन्त्रको हत्या सैनिक कूमार्फत् होइन निर्वाचित नेताले लोकतान्त्रिक संस्थाको प्रयोगबाट विस्तारै र विधिसम्मत गर्छन् भनिएको थियो ।’
२०८२ साउन २७ गते रास्वपाका तत्कालीन सांसद शिशिर खनालले आफूअनुकूल कानून बनाउने, न्यायपालिकाको स्वतन्त्रता कुण्ठित गर्ने र मिडियामाथि नियन्त्रण गर्ने काम गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाउ हेमोक्रेसिज डाई भन्ने किताब बढ्न सुझाव दिएका थिए ।
पुस्तकमा रहेको मर्म हिजो प्रतिपक्षमा मात्र होइन; आज सत्तापक्षमा रहँदा पनि मनन् गर्न उनले बालेन क्याबिनेटका मन्त्रीलाई सुझाव दिएकी हुन् ।
‘हाम्रो संविधानको प्रस्तावनामै कानूनी राज्य स्थापनाका लागि शक्ति पृथकीकरणको कुरा गरिएको छ । संवैधानिक परिषद्मा ६ मध्ये ३ नै बहुमत हो भनियो, यो कहाँको कस्तो गणित हो ? के यो अध्यादेशमार्फत संवैधानिक निकायमा दलको प्रभुत्व कायम गर्न खोजिएको होइन ? सरकारको नियत र लोकतन्त्रप्रतिको प्रतिबद्धतामा गम्भीर प्रश्न खडा गरेको छ’, सांसद गुरूङले भनिन् ।
यसअघि उनले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको प्रतिवाद गरेकी थिइन् ।