
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ज्ञानेन्द्र सिंह महताले राजनीतिक प्रभाव र पहुँचका आधारमा विशिष्टको नाममा आवश्यकताभन्दा बढी खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन माग गरेका छन् ।
व्यक्तिको प्रतिष्ठाका लागि सुरक्षाकर्मीको दुरूपयोग गर्न नमिल्ने उनको भनाइ छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा रास्वपा सांसद महताले शान्ति प्रक्रिया टुंगिइसकेको अवस्थामा सुरक्षा मूल्यांकन नै नगरी प्रहरी दिनु गलत भएको बताएका हुन् ।
‘विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी कार्यविधि २०८१ विपरीत राजनीतिक प्रभाव र पहुँचका आधारमा विशिष्टलाई सुरक्षा प्रदान गरिएको छ’, उनले भने, ‘देशमा शान्ति प्रक्रिया टुंगिएको छ, सुरक्षा अवस्था विगतको तुलनामा धेरै सुधारिएको छ । यस्तो बेला सुरक्षाको जोखिम मूल्यांकन नगरी कार्यविधिको मर्म र भावना विपरीत सुरक्षाकर्मी लगिएको छ ।’
सांसद महताले विशिष्टका नाममा खटाइएका प्रहरीलाई फिर्ता गरेर जनताको सुरक्षामा लगाउनु पर्ने बताए ।
‘व्यक्तिको प्रतिष्ठा प्रदर्शन गर्ने माध्यमका रूपमा सुरक्षा सुविधा होइन । कार्यविधि विपरीत हुनेगरी विशिष्टलाई उपलब्ध गराइएका सुरक्षा सुविधाको निष्पक्ष, पारदर्शी र वस्तुगत समीक्षा तथा छानबिन गर्नुपर्छ’, महताले भने, ‘वास्तविक जोखिमको आधारमा मात्र सुरक्षा व्यवस्था कायम गरियोस्, आवश्यकताभन्दा बढी खटाइएका प्रहरीलाई फिर्ता बोलाइ जनताको प्रत्यक्ष सेवामा लगाइयोस् ।’