बरु सीमावर्ती क्षेत्रमा गएर रिपोर्टिङ गर्न सजिलो होला, तर सुकुम्बासीको होल्डिङ सेन्टरमा पुगेर रिपोर्टिङ गर्न महाभारत पर्ने रहेछ ।
मंगलबार हामी खोला किनारबाट हटाइएका सुकुम्बासी राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका थियौँ ।
उद्देश्य थियो– त्यहाँ राखिएका सुकुम्बासीहरूको वास्तविक अवस्था बुझ्ने ।
तर, गेटनजिक पुग्ने बित्तिकै महसुस भयो, यो सामान्य अस्थायी बसोबास केन्द्र होइन । यहाँ सबै कुरा नियन्त्रणमा थियो । निगरानीमा थियो । र, बाहिरको नजरबाट धेरै हदसम्म टाढा राखिएको जस्तो देखिन्थ्यो ।
हामीलाई पहिल्यै थाहा थियो– पत्रकारलाई भित्र प्रवेश गर्न दिइँदैन । त्यसैले भित्र छिर्न धेरै प्रयास पनि गरिएन । हामीले बाहिरबाट सामान्य फुटेज मात्रै खिच्न खोज्यौँ ।
तर, क्यामेरा देख्नेबित्तिकै नेपाल प्रहरी र नगर प्रहरीका दुई सुरक्षाकर्मी हामीतिर आए ।
उनीहरूमध्ये एक जना असई थिए ।
हामीले आफूहरू मिडियाबाट आएको र बाहिरबाट मात्रै केही दृश्य खिच्न खोजेको बतायौँ ।
तर, जवाफ स्पष्ट थियो, 'फोटो–भिडियो केही खिच्न मिल्दैन । महानगरको आदेश बिना यहाँ केही गर्न पाइँदैन ।'
हामीले त्यहाँ बसिरहेका सुकुम्बासीहरूसँग कुरा गर्न पाइन्छ कि भनेर सोध्यौँ ।
तर, फेरि उही उत्तर आयो– 'महानगरको अनुमति चाहिन्छ ।'
त्यसपछि हामी गेटनजिकैको एउटा चटपटे–पानीपुरी पसलमा गएर बस्यौँ ।
त्यो क्षेत्र अस्वाभाविक रूपमा सुनसान थियो ।
गेटभित्र के भइरहेको छ भन्ने कुरा बाहिरबाट अनुमान गर्न पनि कठिन थियो ।
'पहिले धेरैजना बाहिर आउनुहुन्थ्यो...'
चटपटे खाँदै हामीले पसल चलाइरहेकी एक महिलासँग कुरा गर्न थाल्यौँ ।
हामीले सोध्यौँ, 'यहाँ बस्नुभएका सुकुम्बासीहरू बाहिर आउनुहुन्न ? हामी मिडियाबाट हो, उहाँहरूसँग कुरा गर्न चाहन्थ्यौँ ।'
उनले भनिन्, 'कहिलेकाहीँ निस्कनुहुन्छ । तर, तीन दिनदेखि त एकदम कम निस्किरहनुभएको छ । पहिले त धेरै जना बाहिर आउनुहुन्थ्यो ।'
समय बित्दै गयो । हामी त्यहीँ बसिरह्यौँ । करिब एक घण्टा बितिसकेको थियो । मानिसहरूको आवतजावत अत्यन्त कम थियो ।
त्यही बेला एकजना वृद्ध चुरोट किन्न पसलमा आइपुगे ।
चुरोट सल्काउँदै गर्दा हामीले उनीसँग सोध्यौं, 'बुवा, भित्र बसाइ र खानपिन कस्तो छ ?'
उनले छोटो उत्तर दिए, 'एकदमै राम्रो छ । ठीक छ । बिहान बेलुका खाना दिन्छ । दिउँसो नास्ता दिन्थ्यो, अहिलेचाहिँ दिँदैन ।'
उनले परिवारसहित त्यहाँ बसिरहेको बताए । उनी २० वर्ष बसेपछि थापाथलीबाट हटाइएका रहेछन् ।
हामीले उनलाई भिडियोमा थोरै कुरा गर्न आग्रह गर्यौं ।
तर, उनी तुरुन्तै पछि हटे ।
'हामीलाई नबोल्न भनेको छ ।'
यति मात्र भने । अनि भित्र फर्किए ।
गेटभित्र प्रवेश गर्ने बित्तिकै...
उनी गेटभित्र पस्दा हामीले ध्यानपूर्वक हेरिरहेका थियौँ ।
प्रवेश गर्ने बित्तिकै प्रहरी बस्ने एउटा टेन्ट थियो ।
त्यहाँ भित्र आउने र बाहिर जाने सबैको नाम रुजु गरिँदो रहेछ ।
ठीक त्यही बेला एक महिला आफ्नो सानो बच्चासहित भित्र पसिन् ।
उनको हातमा एउटा झोला थियो ।
गेटबाट छिर्नासाथ प्रहरीले झोला खोलेर जाँच गर्यो । त्यसपछि नाम टिपियो, अनि मात्रै भित्र जान दिइयो ।
त्यो दृश्य हेर्दा, होल्डिङ सेन्टर कुनै अस्थायी आश्रयस्थलभन्दा बढी निगरानी केन्द्रजस्तो देखिन्थ्यो ।
त्यहाँ थापाथली, गैरीगाउँ र शंखमूल क्षेत्रबाट हटाइएका सुकुम्बासीहरूलाई राखिएको रहेछ ।
'मासु खान पाइँदैन... अरू त ठीकै छ'
हामी बाहिरै थियौं ।
त्यही क्रममा गैरीगाउँबाट त्यहाँ ल्याइएकी महिला बाहिर निस्किइन् ।
उनी आउनासाथ अर्की एक महिलाले सोधिन्– 'अघि प्रहरीसँग कहाँ गएको ?'
उनले उत्तर दिइन्, 'त्यही तलको पुलिस चौकी गएर आएको । भित्र केटी जिस्काएको भनेर दुई जनाको झगडा भएको थियो ।'
कुरा हुँदै गयो । हामीले उनीसँग पनि भित्रको अवस्थाबारे सोध्यौँ– 'दिदी, कस्तो छ भित्र बसाइ ?'
उनले भनिन्, 'एकदमै राम्रो छ । यहाँ भएका बालबालिकालाई ट्युसन पढाइरहेको छ । कतिपयलाई त होस्टेल पनि राखिदिएको छ । खाना पनि राम्रो छ ।'
त्यसपछि उनले अर्को कुरा थपिन्- 'मासु खान पाइँदैन । यो राधास्वामीको भवन भएकाले होला । तर, अरू त ठीकै छ ।'
उनका अनुसार सरकारले छानबिन थालेपछि केही परिवार अन्यत्र बस्न गइसकेका रहेछन् ।
'पाँच–छ जना त अरू ठाउँमा व्यवस्थापन भएर गए,' उनले भनिन्, 'अरू सबै यहीँ छन् ।'
अनि अचानक डराइन्...
कुरा गर्दै जाँदा उनी अलि खुलेको जस्तो लागिरहेको थियो । त्यसपछि उनी एक्कासि रोक्किइन् ।
'पाँच–सात दिनअघिसम्म त्यस्तो कडाइ थिएन । तर, अहिले बाहिर आए पनि कुनै मिडियासँग नबोल्न भनेको छ,' थप बोल्न इन्कार गर्दै उनले भनिन् ।
उनलाई शुरूमा हामी पत्रकार हौँ भन्ने थाहा थिएन ।
तर, जब हामीले मिडियाबाट आएको र भित्रको वास्तविक अवस्था बुझ्न चाहेको बतायौँ, उनको व्यवहार एक्कासि फेरियो ।
भित्र जान हतारिँदै उनले भनिन्– 'मैले भनेको कुरा केही नलेख्नु है । गाह्रो हुन्छ ।'
त्यसपछि उनले आवाज अझ सानो पार्दै अर्को कुरा सुनाइन् ।
'अस्ति केही मानिस खाना ठीक छैन, पानी भएन भनेर मिडियामा बोलेका थिए । त्यतिबेला राधास्वामीले नै खाना खुवाइरहेको थियो । त्यस्तो समाचार आएपछि उहाँहरूले खाना खुवाउन छोड्नुभयो । अहिले बाहिरको क्यान्टिन ल्याएर राखिदिएको छ । नास्ता पनि बन्द भयो । दूध र चिया पनि दिन छोडे ।'
हामीले उनलाई भिडियोमा बोल्न आग्रह गर्यौं ।
तर उनी पनि स्पष्ट रूपमा डराएको देखियो ।
'खाना दिएको छ, बस्न दिएको छ, अब के बोल्नु...?'
यति भन्दै उनी फेरि भित्र पसिन् ।
पछि हामी होल्डिङ सेन्टरको पछाडितिर पुग्यौँ ।
त्यहाँबाट भित्रको दृश्य खिच्न प्रयास गर्यौं ।
तर, त्यहाँबाट पनि खासै केही देखिँदैनथ्यो ।
हामीले जे देख्यौँ, त्यति मात्रै खिच्यौँ । र, फर्कियौँ ।
तर फर्किँदा मनमा एउटै प्रश्न घुमिरह्यो –
यदि सबै कुरा ठीक छ भने मानिसहरू किन बोल्न डराइरहेका छन् ?
किन बाहिर निस्किनेहरू कम हुँदै गएका छन् ?
किन एउटा होल्डिङ सेन्टर यति धेरै नियन्त्रणमा राखिएको छ ?
भिडियो स्टोरी :