काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई आधुनिक, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यसहित ‘फेसलेस ट्राफिक व्यवस्थापन प्रणाली’ परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ । प्रारम्भिक चरणमा यो प्रणाली थापाथली क्षेत्रमा लागू गरिएको हो ।
नयाँ प्रणालीअन्तर्गत अब सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थितिविना नै कृत्रिम बुद्धिमत्ता (एआई), सीसीटीभी क्यामेरा तथा स्मार्ट ट्राफिक लाइटमार्फत सवारी साधनको निगरानी गरिनेछ । उच्च गुणस्तरका क्यामेराले सडक गतिविधि निरन्तर रेकर्ड गर्नेछन् भने रेड लाइट उल्लंघन, लेन मिच्ने तथा तीव्र गतिमा सवारी चलाउनेजस्ता गतिविधि स्वतः पहिचान हुने व्यवस्था गरिएको छ ।
यसअघि ट्राफिक प्रहरीले सडकमै सवारी रोकेर कारबाही गर्ने अभ्यास रहेकामा अब भने केन्द्रीय नियन्त्रण कक्षबाटै निगरानी र कारबाही प्रक्रिया सञ्चालन गरिनेछ । नियम उल्लंघन पुष्टि भएपछि सम्बन्धित सवारीधनीको विवरणका आधारमा ई–चलान स्वतः जारी गरिने व्यवस्था मिलाइएको छ । जरिवाना तथा सूचना सिधै सवारीधनीसम्म पुग्ने भएकाले कारबाही प्रक्रिया थप पारदर्शी र छिटो हुने अपेक्षा गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार परीक्षण चरणमा यो प्रणाली थापाथलीसहित बानेश्वर–माइतीघरजस्ता अत्यधिक भीडभाड हुने क्षेत्रमा सञ्चालन गरिनेछ ।
प्रविधिमा आधारित यो प्रणालीमार्फत ट्राफिक जाम न्यूनीकरण, सडक अनुशासन कायम, प्रत्यक्ष विवाद कम गर्ने तथा घुसजस्ता गतिविधि नियन्त्रण गर्ने लक्ष्य राखिएको छ ।
यस प्रणाली पूर्ण रूपमा प्रभावकारी बनेपछि चालकहरूले सवारी दर्ता विवरण, मोबाइल नम्बर तथा सम्पर्क जानकारी अद्यावधिक राख्नुपर्ने आवश्यकता अझ बढ्ने देखिएको छ । अन्यथा ई–चलानसम्बन्धी सूचना प्राप्त गर्न कठिनाइ हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौंको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित र स्मार्ट बनाउने दिशामा यो कदमलाई महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ ।
विस्तृत विवरण भिडियोमा: