२३ जेठ २०८३, शनिबार

हिरासतमा मृत्यु प्रकरण : एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिश

जेठ १२, २०८३
काठमाडौं
हिरासतमा मृत्यु प्रकरण : एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिश

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक (एसपी) देखि प्रहरी जवानसम्म १० जनालाई कारबाहीको सिफारिश भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको हिरासत कक्षमा मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीलाई कारबाही सिफारिश गरेको हो ।

समितिले एक जनालाई सचेत, दुई जनालाई ध्यानाकर्षण, पाँच जनालाई चेतावनीसहित जिम्मेवारीबाट अलग, एक जनालाई नसिहत र एक जनालाई ग्रेड घटुवा गर्न सिफारिश गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न, हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने डिउटीका समयमा अन्य काममा सङ्लग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्ने सुझाव दिएको छ ।

२०८३ वैशाख ७ गते साँझ हिरासतमै रहेको अवस्थामा झुन्डिएको अवस्थामा भेटिएका विकको घटना शङ्कास्पद देखिएपछि प्रहरीले डीआईजी आचार्यको नेतृत्वमा समिति बनाएको थियो ।

समितिमा यूएन शाखाका एसपी रवीन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का इन्स्पेक्टर इन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रेम रेग्मी र सोही कार्यालयका सई राजेश्वर देवकोटा सदस्य थिए ।

प्रहरीका अनुसार मृतक श्रीकृष्ण विक र खोटाङ घर भएकी एक किशोरीबीच करिब २ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । चैत २८ गतेदेखि ती किशोरी बेपत्ता भएको भन्दै उनको परिवारले प्रहरी वृत्त सातदोबाटोमा चैत ३० गते खोजतलासका लागि निवेदन दिएका थिए ।

त्यसपछि वैशाख ३ गते दिउँसो बेपत्ता भनिएकी किशोरी र श्रीकृष्ण आफन्तहरूसहित प्रहरी वृत्त सातदोबाटो प्रहरी वृत्त पुगेका थिए । घटनास्थल सिन्धुली भनेपछि सातदोबाटोले उतै पठाएको थियो । वैशाख ४ गते श्रीकृष्णलाई इलाका प्रहरी कार्यालय खुर्कोट पुर्‍याइएको थियो ।

खुर्कोट लगेपछि आफन्तले बलात्कार भएको भन्दै श्रीकृष्णविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले बलात्कारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्