०३ साउन २०८३, आइतबार
सल्लेरी–लुक्ला सडकको बेहाल

सगरमाथा जाने ७० किमि सडक पार गर्न १६ घण्टा सास्ती- पर्यटकलाई स्वागत कि सजाय ?

जेठ १३, २०८३
विराटनगर
सगरमाथा जाने ७० किमि सडक पार गर्न १६ घण्टा सास्ती- पर्यटकलाई स्वागत कि सजाय ?

सगरमाथाको नाममा विश्वभर नेपाललाई पर्यटनको स्वर्ग भनेर प्रचार गरिन्छ । तर, त्यही सगरमाथाको प्रवेशद्वार मानिने सल्लेरी–लुक्ला सडकमा पुग्नेवित्तिकै राज्यका ती सबै दाबी हिलो, धुलो र खाल्डाखुल्डीमा गाडिएको महसुस हुन्छ । वार्षिक करोडौँ राजस्व उठ्ने क्षेत्रमा ७० किलोमिटर पार गर्न १६ घण्टासम्म लाग्ने अवस्था हुँदा पनि सरकार भने ‘पर्यटन वर्ष’को रंगीन नारा, होर्डिङ बोर्ड र प्रचारबाजीमै व्यस्त छ ।

एकातिर कोशी सरकारले ‘पर्यटन वर्ष’का नाममा करोडौँ बजेट बालुवामा पानी खन्याएझैँ सिध्याइरहेको छ भने अर्कोतिर प्रदेशकै सबैभन्दा बढी राजस्व उड्ने सडकको अवस्था भने दयनीय छ ।

सगरमाथा पुग्ने सपना बोकेर आउने पर्यटकहरूले भोग्नुपर्ने सास्तीले नेपालको पर्यटन प्रवर्द्धन कति खोक्रो छ भन्ने तथ्यलाई उजागर गरिदिएको छ ।

गत आइतबार कोशी प्रदेशसभाको बैठकमा सांसद गणेश उप्रेतीले सरकारको आँखै खुल्ने गरी एउटा कठोर यथार्थ पस्किए । उनले ७० किलोमिटरको सडक पार गर्न १६ घण्टाभन्दा बढी समय लाग्ने टिठलाग्दो अवस्था सुनाउँदै सरकारलाई प्रश्न गरे— ‘जहाँबाट वार्षिक २५ करोडभन्दा बढी राजस्व उठ्छ, त्यहाँ पुग्न १६ घण्टा लाग्ने सडकमा कुन पर्यटक जान्छ ? हामीले पर्यटकलाई स्वागत गरिरहेका छौँ कि उनीहरूलाई यातना दिइरहेका छौँ ?’

उद्योग पर्यटन तथा वातावरण समितिका सदस्यसमेत रहेका उप्रेतीले प्रदेश र संघ सरकारले आजका दिनसम्म उक्त सडकका लागि एक रुपैयाँ पनि लगानी नगरेको तर, राजस्व मात्र असुल्ने गरेको गुनासो गरे ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको तथ्यांकअनुसार गत साउन १ गतेदेखि वैशाख ३१ गतेसम्म मात्र ५६ हजार ८३९ बाह्य पर्यटक त्यहाँ पुगेका छन् । अघिल्लो वर्ष ५४ हजार ४५६ पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेका थिए ।

पालिकाले राख्ने तथ्याङ्कअनुसार चिनियाँ र दक्षिण एसियाली पर्यटकले २ हजार र अन्य देशकाले ३ हजार रुपैयाँ प्रवेश शुल्क तिर्छन् ।  विडम्बना के छ भने ९५ प्रतिशत पर्यटक हवाई मार्गबाटै सिधै लुक्ला पुग्छन्, किनकि सडक मार्गको यात्रा कुनै युद्ध जित्नुभन्दा कम छैन । मात्र ५ प्रतिशत पर्यटकले मात्र सडक मार्ग प्रयोग गर्ने आँट गर्छन् ।

null

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार पालिकाले ७ करोड खर्चेर आफ्नो क्षेत्रमा सडक बनाइरहेको भए पनि प्रदेश सरकारले विनियोजन गरेको १ करोडको काम भने अझै अलपत्र छ । सरकारी वित्त व्यवस्थापन ऐनअनुसार पर्यटन शुल्कको २५ प्रतिशत स्थानीय तह, २५ प्रतिशत प्रदेश र ५० प्रतिशत केन्द्र सरकारमा जम्मा हुन्छ । तर, राजस्वको ठूलो हिस्सा लैजाने माथिल्ला सरकारहरू सडक बनाउने बेला भने कानमा तेल हालेर बसिरहेका छन् ।

तेह्रथुमको तीनजुरे–मिल्के–जलजले क्षेत्रमा, जहाँ ३२ प्रजातिका गुराँस पाइन्छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको कार्यक्रममा गुराँस नफुलेपछि हतार–हतार दमकल लगेर रुखका टुप्पामा पानी छर्किइएको थियो । यो घटनाले सरकारको विकास र पर्यटन प्रतिको दृष्टिकोण कति सतही र देखावटी छ भन्ने प्रमाणित गरेको थियो । प्रधानमन्त्रीलाई राताम्मे गुराँस देखाउन प्राकृतिक चक्रलाई नै चुनौती दिने गरी दमकलबाट सिँचाइ गरीएपछि आलोचना भएको थियो ।

पर्यटन वर्ष मनाउन सरकारले गत आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजन गरेको थियो, तर उपलब्धि केवल दमकलले गुराँस भिजाउने र फेसबुकमा तस्वीर हाल्नेमै सीमित भएको मन्त्रालयकै कर्मचारीहरू बताउछन् ।

चालु आर्थिक वर्षमा पनि सरकारको पारा फेरिएको छैन । ५ करोड ४६ लाख बजेट विनियोजन गरिएको भए पनि कार्यक्रमहरू उस्तै अनुत्पादक र विलासी छन् । पर्यटन मन्त्रालयले कर्मचारीहरूलाई हिमाल चढाउन ५ लाख बजेट विनियोजन गर्नेदेखि मिडिया इन्फ्लुएन्सरलाई पैसा बाँड्ने, विभिन्न स्थानमा होर्डिङ बोर्ड राख्ने र सीमावर्ती भारतीय सहरमा ‘रोड शो’ गर्नेजस्ता योजना बनाएको छ । सडकमा एउटा खाल्डो पुर्ने बजेट नहुने तर, कर्मचारीका लागि हिमाल आरोहण र सेलिब्रेटी ब्रान्डिङमा लाखौँ खर्च गर्ने प्रवृत्तिले कोशी प्रदेशको पर्यटन प्रशासन प्रति प्रश्न उठिहरहेको छ ।

पर्यटन मन्त्रालयका उपसचिव कृष्णकुमार न्यौपानेले कतिपय उपलब्धि नहुने कार्यक्रम रद्द गरिएको बताए । सगरमाथा आधार शिविरमा उच्चस्तरीय बैठक र कोशिका कर्मचारीहरूको हिमाल आरोहणजस्ता योजना रद्ध गरीएको उनले बताए ।

null

सरकारको नीति तथा कार्यक्रम पनि कुनै गम्भीरता बिना तयार पारिएको भन्दै विपक्षीले प्रदेशसभाको बैठकमा कडा आलोचना गरीरहेका छन् ।  आव २०८२/८३ को नीति तथा कार्यक्रममा कोशी प्रदेश पर्यटन वर्ष २०८२ मनाउने घोषणा गरियो, तर त्यसबाट कति पर्यटक भित्रिए, कति राजस्व संकलन भयो र कुन–कुन पूर्वाधार बने भन्ने कुनै समीक्षा नै भएन ।

मन्त्रालयकै कर्मचारीहरू पर्यटकको संख्या यकिन गर्न नसकिने स्वीकार गर्छन्, तर कागजमा भने सफलताका रङ्गिन कथाहरू लेखिन्छन् । यस वर्षको नीति तथा कार्यक्रममा त झन् उदेकलाग्दो घोषणा गरिएको छ— ‘२०८३ साल साउनदेखि २०८५ साल असारसम्मलाई कोशी प्रदेश भ्रमण वर्ष मनाइने छ ।’ आधारभूत पूर्वाधारको अभावमा वर्षैपिच्छे ‘पर्यटन वर्ष’ र ‘भ्रमण वर्ष’का नाममा नयाँ–नया घोषणा गर्नु भनेको जनतालाई मुर्ख बनाउनु र राज्यकोषको दोहन गर्नु मात्रै भएको केही कर्मचारीहरूको बुझाइ छ ।

सडकको दुरावस्थाका कारण सल्लेरीदेखि लुक्लासम्मको यात्रा एउटा भयानक सपनाजस्तो बनेको छ । ७० किलोमिटरको यात्रामा १६ घण्टा खर्चिनुपर्ने बाध्यताले पर्यटक मात्र होइन, स्थानीय बासिन्दा र व्यवसायीहरू पनि उत्तिकै पीडित छन् । उद्योग पर्यटन तथा वातावरण समितिले लुक्लामा गरेको छलफलमा व्यवसायीहरूले बाटो अभावकै कारण पर्यटन व्यवसाय धरासायी हुन लागेको दुखेसो पोखेका थिए ।

पर्यटन व्यवसायीले समितिसँग बाटो विजुली बत्ती, फोहोरमैला व्यवस्थापनको समस्या लगायतका विषयमा गुनासो गरेको समितिका सदस्य जयप्रकाश चौधरीले जानकारी दिए । गाडी फसेका कारण बाटोमै ओर्लिएर हिँड्नुपर्ने अवस्था रहेको उनले बताए । सुर्केदेखि लुक्लासम्म भने गाडी चल्दैन्न । त्यहाँ पुग्न ३ देखि ४ घण्टा हिँड्नुपर्ने  उनले बताए ।

कमेन्ट गर्नुहोस्