
आगामी एसियाली खेलकुद प्रतियोगिताको छनोटका लागि खेलिएको महिला क्रिकेटमा बुधबार नेपालले चीनलाई जितका लागि एक सय २६ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय २५ रन बनाएको हो ।
नेपाली टोलीका लागि पूजा महतोले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । ओपनर ब्याटर पूजाले लामो समय टिकेर ६३ रन बनाइन् ।
उनले केवल ५७ बलको सामना गरी ६ वटा चौका पनि हिर्काइन् । अर्की ओपनर सम्झना खड्का भने चार रन बनाउँदै आउट भइन् ।
२० वर्षीया पूजाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो । उनले ५७औँ टी–२० अन्तर्राष्ट्रिय खेलिरहेकी हुन् ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएकी सोनी पाख्रिनले टोलीको खातामा १८ रन थपिन् । उनले २४ बलमा दुई चौका प्रहार गरिन् ।
कविता कुँवर पाँच रन बनाउँदै आउट भइन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी रुवी पोद्दारले २५ बलमा एक चौकाको मद्दतले अविजित २२ रन बटुलिन् ।
कप्तान इन्दु बर्मा खाता खोल्नुअघि नै पेभेलियन फर्किइन् । अनुभवी ब्याटर रुविना क्षेत्री भने चार रनमा अविजित रहिन् ।
नेपाली टोलीले अतिरिक्त रुपमा पनि नौ रन पायो । चीनकी बलर मा रुइकेले दुई तथा वाङ हुइङ र जिआपिङ लीले एक/एक विकेट लिए ।
छनोट प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह ‘ए’मा थाइल्यान्ड, मलेसिया र हङकङ छन् । समूह ‘बी’मा नेपाल, चीन र इन्डोनेसिया रहेका छन् ।
प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई/दुई टोली छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।