काठमाडौं महानगरपालिकाले निर्माण गरिरहेको ‘यमबुद्ध स्केट बोर्ड पार्क’को काम अन्तिम चरणमा पुगेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको कार्यकालमा शुरू गरिएको यो परियोजना लामो प्रतीक्षा, पहल र संघर्षपछि निर्माण सम्पन्नताको नजिक पुगेको हो । राजधानीमा आधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्ड पार्क निर्माणलाई युवा पुस्ताका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
शुरूदेखि नै स्केटबोर्ड पार्कलाई प्राथमिकतामा राखिए पनि उपयुक्त जग्गा प्राप्त गर्न नसक्दा परियोजना केही समय रोकिएको थियो । प्रारम्भमा वडा नं. १६ मा पार्क निर्माण गर्ने तयारी भए पनि तत्कालीन वडा अध्यक्ष मुकुन्द रिजालको निधनपछि जग्गा व्यवस्थापन हुन नसक्दा योजना स्थगित भएको थियो।
पछि काठमाडौं– ५ का वडा अध्यक्ष वीरेन्द्र प्रजापति तथा स्थानीय समुदायको सक्रिय पहलमा १३ रोपनी सरकारी जग्गा संरक्षण गर्दै २०८१ जेठ २९ गतेदेखि निर्माण कार्य शुरू गरिएको वडा नं. ५ का कार्यबाहक वडाध्यक्ष शशी थापाले जानकारी दिए ।
करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ एरिया निर्माण गरिएको छ । पार्कमा र्याम्प्स, बोल्स र स्ट्रिट्स संरचना समावेश छन् । यससँगै बालबालिकाका लागि खेलमैदान, खुला व्यायामशाला, शौचालय ब्लक तथा भलिबल कोर्ट समेत निर्माण गरिएको छ । पार्कको करिब ७० प्रतिशत भाग वडा नं. ५ मा र बाँकी ३० प्रतिशत भाग वडा नं. ७ मा रहेको बताइएको छ ।
सानु सुवाल पवन जेभीले निर्माण गरिरहेको उक्त पार्क यही महिनाको अन्तिमसम्म सम्पन्न गर्ने तयारी गरिएको छ । भ्याट र पीएससहित पार्क निर्माणको कुल लागत ६ करोड ७० लाख ९७ हजार ४६१ रुपैयाँ रहेको छ ।
स्केट पार्क निर्माणसँगै नयाँ पुस्ताका युवामाझ उत्साह र आकर्षण बढेको देखिएको छ । स्केट खेलाडी अनुप श्रेष्ठले स्वर्गीय र्यापर यमबुद्धलाई सम्झँदै यो पार्कले युवाहरूलाई नयाँ अवसर दिने तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्केट प्रतियोगिता आयोजना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
अर्का खेलाडी साकार गिरीले काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख तथा प्रधानमन्त्री वालेन्द्र शाहलाई धन्यवाद दिँदै यस्ता पार्क अन्य स्थानमा पनि निर्माण गर्न आग्रह गरे । उनले स्केटबोर्डिङमा भविष्य देख्ने युवाहरूलाई यसले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महानगरपालिकाका अनुसार यो परियोजना केवल खेलकुदमै सीमित नभई कला–संगीतलाई प्रोत्साहन गर्ने तथा परिवारमैत्री सामुदायिक स्पेसका रूपमा विकास गर्ने उद्देश्यसहित अघि बढाइएको हो ।
‘यमबुद्ध स्केट पार्क’ निर्माणसँगै काठमाडौंमा आधुनिक शहरी युवा संस्कृतिले नयाँ पहिचान पाउने अपेक्षा गरिएको छ ।
हेर्नुहोस्, भिडियो: