
आगामी एसियाली खेलकुदको महिला क्रिकेट छनोट प्रतियोगितामा बिहीबार नेपालले इन्डोनेसियालाई चार विकेटले हराएको छ ।
जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । यसअघि, आफ्नो पहिलो खेलमा नेपालले चीनलाई पराजित गरेको थियो ।
लगातार दोस्रो जितसँगै नेपाली टोली समूह विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले आयोजक मलेसियाको सामना गर्नेछ ।
समूहमा दोस्रो हुँदै अगाडि बढेको चीनले भने सेमिफाइनलमा थाइल्यान्डसँग भिडन्त गर्नेछ । समूह ‘ए’बाट थाइल्यान्ड विजेता र मलेसिया उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।
मलेसियाको क्वालालम्पुरमा बिहीबार सम्पन्न खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने १९.३ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको हो ।
नेपाली टोलीको जितमा कप्तान इन्दु वर्माले अविजित ४२ रनको योगदान गरिन् । उनले ४३ बलमा पाँच चौका पनि प्रहार गरिन् ।
सोनी पाख्रिनले पनि टोलीको खातामा २९ रन थपिन् । उनले ३६ बलमा तीन चौका हिर्काइन् । कविता कुँवरले १४ र सीता रानामगरले अविजित १३ रन जोडे ।
त्यसअघि, आफ्ना दुवै ओपनरलाई सस्तैमा गुमाएको इन्डोनेसियाका लागि चौथो नम्बरकी ब्याट्र नि पुटु आयु साकारिनीले अविजित ५६ रनको योगदान गरेकी थिइन् ।
टोलीको कप्तानसमेत रहेकी उनले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै ६२ बलमा तीन चौका पनि प्रहार गरिन् । नि लु डेवीले पनि टोलीको खातामा २३ रन थपिन् ।
नि मादे पुत्री सुवान्देवी पनि १३ रन जोडिन् । इन्डोनेसियाली टोलीले अतिरिक्त रुपमा पनि १७ रन पाएको थियो । नेपाली टोलीकी बलर मनिषा उपाध्यायले दुई र रिया शर्माले एक विकेट लिइन् ।
छनोट प्रतियोगितामा ६ टोली सहभागी छन् । यो छनोट प्रतियोगिताबाट तीनवटा टोली जापानमा आयोजना हुने २० औं एसियाली खेलकुदमा छनोट हुनेछन् ।
छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली र तेस्रो हुने टोलीले एसियाली खेलकुदमा स्थान पक्का गर्ने प्रावधान छ ।
एसियाली खेलकुदको महिला क्रिकेटमा नौ टोलीको सहभागिता रहने छ । ६ वटा टोली यसअघि नै एसियाली खेलकुदमा छनोट भइसकेका छन् ।
जापानले आयोजकका रूपमा एसियाली खेलकुद खेल्नेछ । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानले आईसीसीको पूर्णकालीन सदस्य राष्ट्रको रुपमा सहभागिता जनाउने छन् ।
आगामी एसियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ ।