
इरान र संयुक्त राज्य अमेरिकाबीचको सैन्य तनाव पुनः चुलिएको छ। अमेरिकी हवाई हमलाको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले यस क्षेत्रमा रहेको एक अमेरिकी वायुसेना आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ।
अमेरिकी सेनाले दक्षिणी इरानको रणनीतिक बन्दरगाह सहर 'बन्दर अब्बास' मा आक्रमण गरेलगत्तै इरानले यो कदम चालेको हो। अमेरिकाले भने आफूले 'आत्मरक्षा' का लागि इरानी ड्रोनहरू खसालेको र सैन्य ठेगानामा हमला गरेको बताएको छ।
यसैबीच, अमेरिकी सैन्य बेस रहेको कुवेतले आफ्नो आकाशमा आएका 'शत्रुतापूर्ण क्षेप्यास्त्र र ड्रोनहरू' बीचमै नष्ट गरिदिएको जनाएको छ।
अमेरिकी सेन्ट्रल कमाण्डले इरानको यो कदमलाई 'युद्धविरामको गम्भीर उल्लंघन' भन्दै निन्दा गरेको छ। पछिल्लो तीन दिनमा अमेरिकाले इरानमाथि गरेको यो दोस्रो ठूलो आक्रमण हो। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको यो युद्ध रोक्न वार्ताहरू भइरहे पनि पछिल्लो हिंसाले शान्ति प्रक्रियालाई थप जटिल बनाएको छ।
विश्वको २० प्रतिशत तरल प्राकृतिक ग्यास र तेल ढुवानी हुने 'स्ट्रेट अफ हर्मुज' क्षेत्रमा भएको अवरोधका कारण विश्वभर इन्धनको मूल्य आकाशिएको छ। अमेरिकाले उक्त जलमार्गमा व्यावसायिक जहाजहरूसँग शुल्क असुल्ने इरानी निकायमाथि प्रतिबन्ध समेत लगाएको छ।