२७ जेठ २०८३, बुधबार

अमेरिका, बेलायत र अष्ट्रेलियाले ‘अन्डरवाटर ड्रोन’ विकास गर्ने

जेठ १६, २०८३
काठमाडौं
अमेरिका, बेलायत र अष्ट्रेलियाले ‘अन्डरवाटर ड्रोन’ विकास गर्ने

अमेरिका, बेलायत र अष्ट्रेलिया सम्मिलित सैन्य गठबन्धन 'अकस' ले समुद्रमुनिको रक्षा प्रणालीलाई बलियो बनाउन अत्याधुनिक 'अन्डरवाटर ड्रोन' प्रविधि विकास गर्ने घोषणा गरेका छन्। 

सिंगापुरमा आयोजित सांग्रिला संवाद (सुरक्षा सम्मेलन) का क्रममा तीनवटै देशका रक्षा मन्त्रीहरूले समुद्रमुनिको पूर्वाधार, विशेषगरी सञ्चारका लागि प्रयोग हुने केबलहरूको सुरक्षा र रक्षा क्षमता अभिवृद्धि गर्न यो नयाँ परियोजना सुरु गरिएको जानकारी दिएका हुन्।

'अनक्र्युड अन्डरसी भेइकल' भनिने यो मानवरहित ड्रोन प्रविधि आगामी वर्षसम्ममा तयार हुने लक्ष्य राखिएको छ। यस परियोजनाका लागि बेलायती रक्षा मन्त्री जोन हेलीले आफ्नो देशको तर्फबाट १५ करोड पाउण्ड (करिब २०१ मिलियन डलर) योगदान गर्ने घोषणा गरेका छन्।

अकस गठबन्धन अन्तर्गतका परियोजनाहरू सुस्त गतिमा अगाडि बढेको भन्दै आलोचना भइरहेका बेला यो नयाँ घोषणा आएको हो। रक्षा मन्त्री हेलीले विगतमा कुरा बढी र काम कम भएको स्वीकार गर्दै अब तीनवटै सरकारको नेतृत्वमा परियोजनाले गति लिने विश्वास दिलाए।

यो प्रविधि अकसको 'दोस्रो स्तम्भ' अन्तर्गतको पहिलो प्रमुख परियोजना हो। यस अन्तर्गत तीन देशले लामो दूरीको हाइपरसोनिक मिसाइल, आर्टिफिसियल इन्टेलिजेन्स र अन्डरवाटर रोबोटिक्स जस्ता उन्नत सैन्य क्षमतामा सहकार्य गरिरहेका छन्। नयाँ विकसित हुने ड्रोनहरूले समुद्रमुनिको पूर्वाधार रक्षा गर्नुका साथै निगरानी गर्ने, शत्रुमाथि आक्रमण गर्ने र सैन्य सामग्री ओसारपसार गर्ने क्षमता राख्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ।

विशेषगरी प्रशान्त, एटलान्टिक र सुदूर उत्तरी क्षेत्रका समुद्रमुनि बिछ्याइएका केबल र पाइपलाइनहरूमाथि बढ्दो खतरालाई मध्यनजर गर्दै यो कदम चालिएको हो। बेलायती अधिकारीहरूका अनुसार पछिल्ला वर्षहरूमा बेलायती जलक्षेत्रमा रुसी जहाजहरूको गतिविधि ३० प्रतिशतले बढेको छ, जसले गर्दा समुद्रमुनिका सञ्चार पूर्वाधार जोखिममा परेका छन्। 

त्यस्तै, ताइवान र स्वीडेनको आसपासका जलक्षेत्रमा पनि चिनियाँ जहाजहरूले केबलमा क्षति पुर्‍याएको आशंका गरिएको छ। यद्यपि, पत्रकारहरूको प्रश्नको जवाफमा रक्षा मन्त्रीहरूले यो प्रविधि सीधा चीन वा रुस लक्षित नै हो भनेर स्पष्ट रूपमा भने खुलाएनन्।

अकस गठबन्धनको 'पहिलो स्तम्भ' अन्तर्गत अष्ट्रेलियाका लागि आणविक ऊर्जाबाट चल्ने पनडुब्बीहरू निर्माण गर्ने योजना छ। यो परियोजना सन् २०४० को दशकसम्म मात्र पूर्ण हुने भए पनि त्यसअघि सन् २०३० को दशकमा अष्ट्रेलियाले अमेरिकासँग पुराना आणविक पनडुब्बीहरू खरिद गर्ने र अमेरिकी तथा बेलायती पनडुब्बीहरू अष्ट्रेलियामा आलोपालो परिचालन गर्ने तयारी भइरहेको छ। अमेरिकी रक्षा सचिव पेट हेगसेथले पनडुब्बी परिचालनको योजना सही गतिमा अगाडि बढिरहेको र यसै वर्षको अन्त्यसम्ममा अमेरिकी नौसेनाका कर्मचारीहरू अष्ट्रेलिया पुग्ने जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्