
नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् ।
कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई सोमबार रुपन्देहीमा सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएर देशको अखण्डतालाई कमजोर बनाएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाटै आफ्नो भनाइ सच्याउँदै माफी माग्नुपर्ने पनि बताए ।
‘प्रधानमन्त्रीको भनाइले जनता र प्रधानमन्त्री बनाउने मतदातालाई लज्जित गराउने अनैतिक र अराजनीतिक कदमको कांग्रेसले विरोध गर्छ’, थापाले भने, ‘संसद्को रोष्ट्रममा मैले नजानेर गल्ती बोलेँ भनेर माफी माग्नुस् । त्यसमा कांग्रेसले कुनै अवरोध गर्ने छैन ।’
प्रधानमन्त्री नबुझेर बोलेको भए चिन्ताजनक र जानीजानी बोलेको भए झन् खतरनाक हुने उनको टिप्पणी छ । संविधान, कानून र राष्ट्रभन्दा माथि कोही पनि नरहेको भन्दै उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको जिम्मेवारी लिनुपर्ने बताए ।
थापाले आइतबार सत्तापक्षले संसद्को नियमावली पारित गरेको घटनालाई पनि आलोचना गरे । संसद् सञ्चालनका लागि बनाइने कानून बलपूर्वक पारित गर्नु गलत भएको उनको भनाइ छ ।
हिजो संसद्को शक्तिको चरम दुरुपयोग भयो, कांग्रेसले त्यसको प्रतिरोध र विरोध गरेको छ’, उनले भने, ‘जबर्जस्ती पारित गरियो भन्दैमा विषय टुंगिएको छैन ।’
फरक प्रसंगमा थापाले कांग्रेस अब पुरानै शैलीमा नचल्ने दाबी गर्दै पार्टीलाई नयाँ मार्गमा अघि बढाइएको बताए । जनताले पार्टीभित्र देखेका कमजोरी र विकृति हटाउन आवश्यक रहेको उल्लेख गर्दै उनले कांग्रेसप्रति विश्वास गुमाएका मतदाताको मन जित्न पार्टीभित्रको ‘फोहोर’ सफा गर्नुपर्ने बताए ।