
संसद् बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदमाथि छानबिन अघि बढेको छ । जसका लागि सोमबार सभामुख डोलप्रसाद अर्यालले तीन सदस्यीय समिति गठन गरेका छन् ।
प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी संयोजक रहेको समितिमा संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन् ।
समितिलाई ७ दिनभित्र सभामुखसमक्ष प्रतिवेदन पेस गर्न भनिएको छ ।
प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली अनुसार आवश्यक कारबाही अघि बढाउन सकिने सभामुख अर्यालले जानकारी दिए ।
आइतबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गरेका थिए । त्यस क्रममा नाराबाजी र सांसदहरूबीच घम्साघम्सी भएको थियो ।