
विश्व फुटबलको मानचित्रमा सन् २००२ एउटा यस्तो वर्ष थियो, जसले ‘फुटबल भनेको युरोप र अमेरिकाको मात्र बिर्ता हो’ भन्ने भाष्यलाई पूर्णरूपमा तोडिदियो ।
जापान र दक्षिण कोरियाले संयुक्त आयोजना गरेको फिफा विश्वकपको १७औँ संस्करणलाई फुटबल इतिहासकै सबैभन्दा विवादित, रोमाञ्चक र परिवर्तनकारी अध्याय मानिन्छ ।
यो संस्करण सन् २००२ को मे ३१ देखि जुन ३० तारिखसम्म आयोजना भएको थियो । यो विश्वकपमा ३२ राष्ट्रले सहभागिता जनाएका थिए ।
एसियाबाट चीन, जापान, दक्षिण कोरिया र साउदी अरेयिबा सहभागी थिए । अफ्रिकाबाट क्यामरुन, नाइजेरिया, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसियाले भाग लिएका थिए ।

ओसेनिया क्षेत्रबाट कुनै पनि टोली सहभागी थिएन । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको प्रतिनिधित्व कोस्टा रिका, मेक्सिको र अमेरिकाले गरेका थिए ।
दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, उरुग्वे, इक्वेडर र पाराग्वे सहभागी थिए । युरोपबाट भने सर्वाधिक १५ राष्ट्रले भाग लिएका थिए ।

युरोपबाट सहभागी हुने टोली बेल्जियम, क्रोएसिया, डेनमार्क, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, पोर्चुगल, आयरल्यान्ड, रुस, स्लोभानिया, स्पेन, स्वीडेन र टर्की सहभागी थिए ।
चीन, सेनेगल र स्लोभानियाको भने यो पहिलो विश्वकप सहभागिता थियो । यो विश्वकपका खेलहरू दुवै आयोजक राष्ट्रका विभिन्न २० शहरमा खेलाइएको थियो ।
ऐतिहासिक सहकार्य र दुई प्रतिद्वन्द्वीको अनौठो संगम
सन् २००२ को विश्वकपको आयोजना सहज थिएन । ऐतिहासिक रूपमा तनावपूर्ण सम्बन्ध रहेका जापान र दक्षिण कोरियालाई आयोजक बनाउने निर्णय फिफाभित्रकै आन्तरिक राजनीति र रस्सा–कस्सीको परिणाम थियो ।

सन् १९९६ मा यी दुई राष्ट्रलाई संयुक्त आयोजक तोकिएपछि विश्वकपको इतिहासमै पहिलो पटक दुई देशले सहकार्य गरे । शुरूमा यसले दुई देशको सम्बन्धमा ठूलो बदलाव नल्याए पनि, यसले विश्वलाई नै एउटा साझा सहकार्यको सन्देश दियो ।
यो आयोजना यति भव्य थियो कि, यसले एसियाली अर्थतन्त्रमा समेत अर्बौं डलरको योगदान पुर्याएको थियो ।
‘ड्रेसिङ रुम’को विवाद र आपसमै गालिगलौच
विश्वकप नजिकिँदै गर्दा धेरै टोलीको भित्री तस्वीर निकै अस्तव्यस्त थियो । आयरल्यान्डका रोय किनले तयारी निकै ‘फितलो’ भएको भन्दै प्रशिक्षक मिक म्याकार्थीलाई सराप्दै टोली छोडेका थिए ।
उक्त विवादले विश्व फुटबलमा निकै चर्चा पाएको थियो । प्रभावशाली खेलाडी किनले म्याकार्थीलाई निकै तल्लोस्तरको गालीसमेत गरेका थिए ।
त्यतिमात्र होइन, स्वीडेनका ओलोफ मेल्बर्ग र फ्रेडरिक ल्युङ्बर्गबीच त नियमित प्रशिक्षणकै क्रममा कुटाकुटसमेत भएको थियो ।
डेनमार्कका खेलाडीहरूबीचको झगडाले त झन् सीमा नै नाघेको थियो । डेनमार्कका थोमस ग्राभेसनले जिसपर ग्रोनक्जियरको आँखामा औँलाले घोचेपछि स्थिति नियन्त्रणबाहिर गएको थियो ।

इङ्ल्यान्डका डेभिड बेकह्यामको चोट र अर्जेन्टिनासँगको ‘बदला’को चर्चाले पनि मिडियालाई दिनहुँ कुनै न कुनै मसला दिइरहेको थियो ।
रोनाल्डोमाथि ब्राजिलकै अविश्वास र प्रशिक्षको आलोचना
अझ रमाइलो पक्ष त के हो भने, यो विश्वकप शुरू हुँदा ब्राजिल च्याम्पियन बन्ने कल्पना धेरैले गरेका थिएनन् । त्यतिबेलाको सट्टेबाजहरूको सूची हेर्ने हो भने अर्जेन्टिना (७/२) उपाधिको सबैभन्दा ठूलो दाबेदार थियो ।
मार्सेलो बिएल्साको प्रशिक्षणमा अर्जेन्टिनासँग हर्नान क्रेस्पो, गाब्रियल बाटिस्टुटा र जुआन भेरोनजस्ता चमत्कारिक खेलाडीहरू थिए । अर्कोतर्फ, साविक विजेता फ्रान्समा जिनेदिन जिदान आफ्नो करिअरको उत्कर्षमा थिए ।
ब्राजिल त त्यतिबेला निकै दयनीय अवस्थामा थियो । ब्राजिल क्वालिफायर चरणमा ईक्वेडरभन्दा पनि पछि थियो र ब्राजिलियन खेलाडीहरू मैदानमा गोल गर्न संघर्ष गरिरहेका देखिन्थे ।

प्रशिक्षक लुइज फिलिप स्कोलारीले जब घुँडाको गम्भीर चोटका कारण साढे दुई वर्षदेखि मैदान बाहिर रहेका रोनाल्डोलाई टोलीमा समावेश गरे, तब सारा ब्राजिल उनीविरुद्ध खनियो ।
स्कोलारीलाई ‘ब्राजिलको सबैभन्दा घृणित व्यक्ति’सम्म भन्न थालियो । समर्थकहरूले रोमारियोको अनुपस्थितिलाई लिएर आक्रोश व्यक्त गरिरहेका थिए ।
तर, प्रशिक्षक स्कोलारी आलोचनाबाट रत्तिभर हतास भएनन् । ‘म पागल भएर नै रोनाल्डोलाई लगेको हुँ’ भन्दै उनले आफ्नो अडान कायमै राखे । यो उपाधि प्रशिक्षक स्कोलारीकै जिद्धीको परिणाम थियो, जसले इतिहास रच्यो ।
व्यवस्थापकीय चुनौती र आयोजनाको प्रभाव
यो विश्वकपका खेलहरू खेलाउन आयोजक राष्ट्रले २० वटा रंगशाला निर्माण गरेका थिए । समय भिन्नताका कारण युरोपका दर्शकहरूले बिहान सबेरै खेल हेर्नुपर्ने बाध्यता थियो ।

सोही कारणले युरोपका कार्यालय र विद्यालयहरूमा समेत त्यसको असर परेको थियो । यति हुँदाहुँदै पनि टिकट बिक्रीको व्यवस्थापनमा देखिएका केही सानातिना कमजोरीबाहेक, यो विश्वकप एसियाको लागि गर्वको विषय बन्यो ।
३२ टोलीको सहभागिता, डेब्यू गर्ने टोलीहरूको साहस, रेफ्रीसँगका विवाद र अन्त्यमा ब्राजिलको विजय, यी सबै कुराले सन् २००२ को विश्वकपलाई फुटबलको इतिहासमा सधैं यादगार बनाउने पक्का छ । यो विश्वकपले प्रमाणित गर्यो कि, फुटबल मैदानमा खेलिने खेलमात्र होइन, यो भूगोल, राजनीति र मानवीय भावनालाई जोड्ने एउटा महासागर पनि हो ।
चर्चित ‘उल्टफेर’ र नयाँ उचाइ
यो विश्वकप ‘उलटफेर’का लागि निकै चर्चित रह्यो । साविक विजेता फ्रान्स समूहगत चरणबाटै बाहिरिनु र अर्जेन्टिनाले पनि त्यही बाटो पछ्याउनुले समर्थकलाई चकित बनाएको थियो ।
अर्कोतर्फ, नवप्रवेशी सेनेगलले आफ्नो ‘डेब्यू’ खेलमै क्वार्टरफाइनलसम्मको यात्रा तय गरेर अफ्रिकी फुटबलको शक्ति प्रदर्शन गर्यो ।
तर, सबैभन्दा ठूलो आश्चर्य दक्षिण कोरियाको प्रदर्शन रह्यो । पोल्यान्ड, पोर्चुगल, इटाली र स्पेनजस्ता दिग्गज टिमहरूलाई पाखा लगाउँदै दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो ।

समूह ‘डी’मा परेको दक्षिण कोरियाले पहिलो खेलमा पोल्यान्डलाई २–० ले हराएको थियो भने दोस्रो खेलमा अमेरिकालाई १–१ गोलको बराबरीमा रोकेको थियो ।
तेस्रो खेलमा निकै बलियो पोर्चुगललाई १–० गोलले हराउँदै दक्षिण कोरिया समूह विजेताका रूपमा नकआउट चरणमा पुगेको थियो ।
नकआउट चरणमा त दक्षिण कोरियाको प्रदर्शन झनै गजबको थियो । अन्तिम–१६ टोलीबीचको भिडन्तमा कोरियाले विश्वकपको पूर्वविजेता इटालीलाई स्तब्ध: पारेको थियो ।
त्यसपछि, क्वार्टरफाइनलमा पनि यो एसियाली ‘पावर हाउस’ले बलियो स्पेनलाई पेनाल्टी सुटआउटमा पाखा लगाएको थियो ।
अन्तत: सेमिफाइनलमा कोरियाली टोली जर्मनीसँग ०–१ गोलले पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो । यसरी, दक्षिण कोरिया सेमिफाइनलमा पुग्ने पहिलो एसियाली टोली बन्यो ।
यद्यपि, दक्षिण कोरियाको यो ऐतिहासिक यात्राले रेफ्रीको विवादास्पद निर्णयहरूका कारण लामो समयसम्म गतिलै चर्चा र आलोचना बटुल्यो ।
खासगरी, इटाली र स्पेनविरुद्धका खेलमा रेफ्रीको निर्णयलाई लिएर विश्वभर करिब चार लाख उजुरी परेका थिए ।
ब्राजिलको पाँचौँ उपाधि र रोनाल्डोको जादु
यो विश्वकपको उपाधि भने ब्राजिलले आफ्नो नाममा लेखायो । फाइनलमा जर्मनीलाई २–० गोलले हराउँदै ब्राजिलले पाँचौँ पटक विश्व विजेता बन्ने कीर्तिमान कायम गर्यो ।
ब्राजिलियन टार रोनाल्डोको लय यति उत्कृष्ट थियो कि उनले आठ गोल गर्दै ‘गोल्डेन बुट’मात्र जितेनन्, विपक्षी टोलीका लागि काल पनि साबित भए ।
सन् १९७० पछि विश्वकपका सबै खेल जितेर उपाधि चुम्ने ब्राजिल पहिलो टोली बन्यो । कप्तान काफुको नेतृत्वमा ब्राजिलले विश्व फुटबलमा आफ्नो वर्चस्व पुन:स्थापित गर्यो ।
तेस्रो स्थानका लागि भएको खेलले पनि इतिहास बनायो । दक्षिण कोरिया र टर्कीबीचको खेलमा टर्कीका हकान सुकरले खेल शुरू भएको मात्र १०.८ सेकेन्डमा गोल गरे, जुन आजसम्म पनि विश्वकपको इतिहासमा सबैभन्दा छिटो गोल हो ।
समग्रमा, सन् २००२ को विश्वकप खेलमात्र थिएन । यो विश्वकप दबाब, विवाद र पुनरागमनको एक अद्भुत मिश्रण पनि थियो । स्कोलारीको जिद्दी, रोनाल्डोको ‘चमत्कारी’ पुनरागमन र साना मानिएका टोलीहरूको सानदार प्रदर्शनले यो विश्वकपलाई विशेष बनाएको थियो ।
यो विश्वकपले सिकाएको कुरा प्रस्ट थियो, फुटबल कागजमा लेखिएको तथ्याङ्क वा सट्टेबाजको अनुमानले चल्दैन । बरु, फुटबल मैदानमा खेलाडीको ‘सैनिक’जस्तो अनुशासन र प्रशिक्षकको विश्वासमा निर्भर रहन्छ ।
दक्षिण कोरियाका प्रशिक्षक गुस हिडिन्कले भनजस्तै, ‘हाम्रा खेलाडीहरू सिपाही हुन्, यदि कमान्डरले आदेश दियो भने उनीहरू अन्धभक्त भएर त्यसलाई पछ्याउँछन् ।’ त्यही पछ्याइले नै सन् २००२ को विश्वकपलाई फुटबलको इतिहासको एउटा अजम्बरी अध्याय बनाइदियो ।

१७औँ विश्वकपसँग जोडिएका केही रोचक कथा :
० गोल्डेन गोलको नियम खारेज :यो संस्करण विश्वकपका केही नियम र परम्पराका लागि ‘अन्तिम’ साबित भयो । अतिरिक्त समयमा पहिलो गोल गर्ने टोलीले जित्ने ‘गोल्डेन गोल’को नियम यही संस्करण पछि हटाइयो ।
० स्वत: छनोटको परम्परा अन्त्य :सन् २००२ सम्म साविक विजेता टोली अर्को विश्वकपमा स्वत: छनोट हुने नियम थियो । यही संस्करणपछि त्यो नियम पनि हटाइयो ।

० म्याच बल : विश्वकपका सबै खेलमा एउटै टेक्निकल स्पेसिफिकेशनको बल (फिभरनोभा) प्रयोग गर्ने अन्तिम संस्करण पनि यही थियो ।
० सेनेगलको हुंकार : विश्वकपअघि फिफा वरीयतामा ७९औँ स्थानमा रहेको सेनेगललाई धेरैले सामान्य टोली ठानेका थिए । तर, प्रशिक्षक ब्रुनो मेट्सुले गर्जँदै भनेका थिए, ‘सेनेगल यहाँ रमाइलो गर्न आएको होइन, विश्वलाई चकित पार्न आएको हो ।’ भयो पनि त्यस्तै, क्वार्टरफाइनलसम्म पुगेर सेनेगलले विश्वलाई चकित पार्यो ।
० माल्दिनीको कीर्तिमान :यो विश्वकपमा ७० वर्षीय सेसारे माल्दिनी पाराग्वेका प्रमुख प्रशिक्षक थिए । उनी विश्वकप इतिहासकै सबैभन्दा पाका प्रशिक्षक बने ।

० गजबका प्रशिक्षक बोरा : बोरा मिलुचिनोभिच पाँच फरक राष्ट्रलाई विश्वकपमा डोर्याउने पहिलो प्रशिक्षक बनेका थिए ।
० क्यामरुनालाई जर्सी लगाउन प्रतिबन्ध :फिफाले क्यामरुनलाई ‘स्लिभलेस शर्ट’ लगाउन प्रतिबन्ध लगाएको थियो । फिफाले क्यामरुनको ‘स्लिभलेस शर्ट’लाई ‘भेस्ट’का रूपमा लिएको थियो ।
० रोनाल्डोको कपालको शैली :रोनाल्डोले क्वार्टरफाइनलपछि आफ्नो कपालको शैली परिवर्तन गरेका थिए ।
विश्वकप फुटबलबारे यसअघिका शृखला :
- जब विश्वकपले काचुली फेर्यो : रोनाल्डोको ‘रहस्यमय’ रात र जिदानको उदय
- १५औं फिफा विश्वकप-१९९४ : त्यो ‘ब्लकबस्टर’ संस्करण, जसले फुटबलको परिभाषा नै बदल्यो
१४औँ फिफा विश्वकप : ‘डिफेन्सिभ’को दबदबा, रातो कार्डको वर्षा र विश्व फुटबलको बदलिएको ‘कथा’
- ५२ वर्ष लामो ‘फुटबल वनवास’को अन्त्य : कसरी बदलियो ‘अफ्रिकी लेपाडर्स’को भाग्य ?
- विवाद र रोमाञ्चकताले भरिएको १९८२ को विश्वकप- 'गिजोनको लज्जा'देखि इटालीको ऐतिहासिक उपाधिसम्म
- ११औं फिफा विश्वकप- १९७८: ‘कन्फेटी’को वर्षाले सेताम्मे रंगशाला र अर्जेन्टिनाको पहिलो उपाधि
- १० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’
- उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान
- नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो
- ‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्यो असम्भव सपना ?
- आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो
- सातौं फिफा विश्वकप–१९६२ : भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा
- छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय
- पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव
- द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो
- विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग
- दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम
- पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म