
सीमा विवाद बारेको विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्री बालेनले संसद्मा आएर जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मको लागि स्थगित भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पनि नेपाली कांग्रेसलगायत विपक्षी दलका सांसदले प्रधानमन्त्री स्वयं उपस्थित भएर सो अभिव्यक्तिबारे जवाफ दिनुपर्ने माग गरेका हुन् ।
विपक्षी दलले प्रधानमन्त्रीको जवाफ नआएसम्म सदनको कारबाही अगाडि नबढाउन आग्रह गरे ।
त्यसपछि विपक्षी सांसदले वेलमा गएर नाराबाजी गरेका थिए । नाराबाजीपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले जेठ २५ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
जेठ १७ गतेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालको तर्फबाट पनि भारतीय भूमि मिचिएको अभिव्यक्ति दिएपछि संसद्मा विरोध हुँदै आएको छ ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भने बालेनको आशय फरक रहेको दाबी गरेका छन् ।