२५ जेठ २०८३, सोमबार
ओलीको गम्भीर दाबी

परिणाम पहिले नै निर्धारित थियो, चुनाव त एउटा तमासा र नाटक मात्रै हो : ओली

जेठ २०, २०८३
काठमाडौं
परिणाम पहिले नै निर्धारित थियो, चुनाव त एउटा तमासा र नाटक मात्रै हो : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुनमा सम्पन्न निर्वाचनमाथि गम्भीर प्रश्न उठाएका छन् । चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका उनले चुनाव केवल एउटा 'तमासा' र 'नाटक' मात्र भएको टिप्पणी गरे। 

पार्टीको सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले निर्वाचनको परिणाम पहिले नै निश्चित गरिएको दाबी गरे। 'चुनाव एउटा तमासा थियो, नाटक थियो। यो पूर्वनिर्धारित परिणाम थियो,' ओलीले आक्रोश पोखे, 'हामीले यो कुरा पहिले नै बुझेका थियौँ, तर अरूले बुझ्न सकेनन्। यो साच्चिकैको चुनाव नै होइन।'

अध्यक्ष ओलीले निर्वाचन प्रक्रियाको विश्वसनीयता र प्राविधिक पक्षमाथि समेत व्यङ्ग्य गरे। उनले मतदाताहरू मतदान गरेर घर नपुग्दै औँलामा लगाइएको मसी मेटिएको दाबी गरे । 

मतपेटिका (ब्यालेट) भित्र कस्तो चलखेल भयो होला भनी उनले आशंका व्यक्त गरे। 'यसपटक चुनावमा भोट हालेर घर नपुग्दै नङको रङ हट्यो, ब्यालेटमा के भयो होला?,' उनले प्रश्न गरे।

आफूहरूले इतिहासमा धेरै पटक चुनाव लडेको अनुभव सुनाउँदै ओलीले यो निर्वाचन कुनै निष्पक्ष प्रतिस्पर्धा नभएर एउटा पूर्वनिर्धारित योजनाअन्तर्गत रचिएको खेल भएको दाबी गरे। यद्यपि, योजनाबद्ध रूपमा परिणाम प्रभावित पारिएको भए पनि आफूहरूले लोकतान्त्रिक मूल्यको सम्मान गर्दै परिणामलाई भने स्विकारेको उनले प्रस्ट पारे।

अध्यक्ष ओलीले मुलुकको नेतृत्व र नयाँ राजनीतिक शक्तिहरूको उदयका विषयमा पनि कडा टिप्पणी गरे। देश सञ्चालनका लागि दूरदर्शिता र परिपक्वता चाहिने उल्लेख गर्दै उनले नबुझेका व्यक्तिहरूबाट देश चल्न नसक्ने ठोकुवा गरे। 

अहिलेको राजनीतिक परिदृश्यमा प्रत्येक चुनावमा नयाँ पार्टी आउने लहरतर्फ संकेत गर्दै उनले स्थापित अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण दिए। अमेरिका, भारत र चीन जस्ता ठूला मुलुकहरूमा चुनावैपिच्छे नयाँ पार्टीहरू नबन्ने भन्दै उनले नयाँ पार्टी बन्न विचार र सिद्धान्त मुख्य आधार हुनुपर्ने बताए। "

सम्बोधनका क्रममा अध्यक्ष ओलीले वर्तमान राज्य संयन्त्र र सत्तामा रहेकाहरूलाई शक्तिको दुरुपयोग नगर्न चेतावनी दिए। समय र परिस्थिति सधैँ अनुकूल रहिरहँदैन भन्दै उनले संयमित हुन आग्रह गरे। 'राज्य संयन्त्रमा रहेकालाई भन्न चाहन्छु— समय परिस्थिति सधैँ एकैनासको रहँदैन,' ओलीले चेतावनीपूर्ण भाषामा भने, 'उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला।'

salt training

कमेन्ट गर्नुहोस्