
लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा बुझाएका छन् ।
बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम बहादुर सारू र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् । मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको राजीनामा स्वीकृत समेत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सरकारको संरचना पुनर्गठन गर्ने तयारी अन्तर्गत मन्त्रीहरू परिवर्तन गरिएको बताइएको छ । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ कायम गर्ने निर्णय यसअघि नै गरिसकेको छ । मन्त्रालय संख्या घटाउने विषय सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ ।
सत्ता साझेदार दलहरूबीच सरकार पुनर्गठनबारे छलफल चलिरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्य यथावत् रहने र एमालेबाट नयाँ मन्त्री नियुक्तिका लागि आन्तरिक छलफल भइरहेको स्रोतले जनाएको छ ।