२१ जेठ २०८३, बिहीबार

लगातार दोस्रो जितसँगै नेपाल तालिकाको पहिलो स्थानमा, भुटानलाई ५१ रनले हरायो

जेठ २१, २०८३
काठमाडौं
लगातार दोस्रो जितसँगै नेपाल तालिकाको पहिलो स्थानमा, भुटानलाई ५१ रनले हरायो

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।

बिहीबार बिहान खेलिएको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ५१ रनले हरायो । यसअघि, बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको थियो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय १३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको भुटानको टोलीले भने निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ६२ रनमात्र बनाउन सक्यो ।

भुटानलाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलर रुविना क्षेत्रीले तीन र रिया शर्माले दुई विकेट लिए । कविता कुँवर र मनिषा उपाध्यायले पनि एक–एक विकेट हात पारे ।

भुटानका लागि ओपनर डेचेन वाङ्मोले सर्वाधिक अविजित ३९ रन बनाइन् । उनले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै ६० बलमा पाँच चौका पनि प्रहार गरिन् ।

त्यसअघि, नेपाली टोलीका माथिल्लो क्रमका कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । छैटौँ नम्बरमा क्रिज समाल्न आएकी अनुभवी खेलाडी सीता राना मगरले सर्वाधिक ३७ रन बनाइन् ।

टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले २८ बलमा ६ चौका पनि प्रहार गरिन् । नवौँ नम्बरकी ब्याटर रुविना क्षेत्रीले पनि २१ बलमा तीन चौकाको मद्दतले २४ रन जोडिन् ।

सानी पाख्रिनले २० बलमा दुई चौकाको मद्दतले १३ रन बटुलिन् । ओपनर सम्झना खड्काले ६ बलमा दुई चौकाको मद्दतले १० रन जोडिन् ।

नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर विन्दू रावल खाता खोल्नुअघि नै पेभेलियन फर्किइन् ।

पूजा महतोले आठ र कप्तान ईन्दू वर्माले पाँच रन बनाए । रुवी पोद्दार एक र कविता कुँवर तीन रनमै आउट भए ।

रिया शर्मा र मनिषा उपाध्यायले खाता खोल्न पाएनन् । नेपाली टोलीले अतिरिक्त रूपमा पनि १२ रन पायो । भुटानका बलर सोनम छोदेन र छिरिङ जाङ्मोले तीन–तीन विकेट लिए ।

यो प्रतियोगिता निकट भविष्यमा आयोजना हुने एसीसी महिला टी–२० एसिया कपको छनोटको आधार पनि हो । प्रिमियर कपमा १८ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल, भुटान, कतार र हङ्कङ समूह ‘डी’मा परेका छन् । समूह ‘सी’मा इन्डोनेसिया, कुवेत, मलेसिया र सिंगापुर रहेका छन् ।

यसैगरी, समूह ‘बी’मा चीन, ओमान, फिलिपिन्स, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । समूह ‘ए’मा बहराइन, जापान, मंगोलिया, म्यानमार र थाइल्यान्ड परेका छन् ।

नेपाली टोलीले समूहगत चरणको आफ्नो अन्तिम खेल जुन ६ तारिखमा हङ्कङसँग खेल्नेछ । प्रत्येक समूहबाट दुई–दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

यो प्रतियोगिताबाट चार टोली आगामी महिला एसिया कपमा छनोट हुनेछन् । त्यसैले आगामी एसिया कपमा छनोट हुन नेपालले कम्तिमा सेमिफाइनलसम्म पुग्नु आवश्यक छ ।

आफ्नो समूहमा लगातार दुई खेल जितेको नेपाल चार अंकसहित तालिकाको पहिलो स्थानमा छ । एक खेलबाट दुई अंक बटुलेको हङ्कङ दोस्रो स्थानमा आसिन छ । भुटान लगातार दुई खेलमा पराजित भएको छ भने कतारले पनि आफ्नो पहिलो खेल हारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्