२४ जेठ २०८३, आइतबार
चार वर्षमा चार सरकार, चारै पटक मन्त्री

मुख्यमन्त्री जोसुकै होऊन्, भण्डारीलाल मन्त्री पक्का !

जेठ २१, २०८३
बुटवल
मुख्यमन्त्री जोसुकै होऊन्, भण्डारीलाल मन्त्री पक्का !

लुम्बिनी प्रदेशसभा सदस्य भण्डारीलाल अहिर चौथो पटक मन्त्री बनेका छन्। २०७९ को निर्वाचनमा बाँके क्षेत्र नम्बर २ (क) बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अहिर चार वर्ष नपुग्दै चौथो पटक मन्त्री भएका हुन्।

लुम्बिनीमा जसपा (अशोक राई समूह) का दुई सांसद छन्। हरेक पटक मन्त्रिमण्डल पुनर्गठन हुँदा सत्ताको खेलमा सिपालु अहिरको  मन्त्री बन्ने पालो आइहाल्छ।

चार वर्षको अवधिमा चार वटै सत्ता समीकरणमा पटक–पटक मन्त्री बन्ने मौका पाउने उनी प्रदेशकै एक्ला सांसद हुन्। जसको सरकार बने पनि अहिर मन्त्री बनिहाल्छन् । 

लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालमा लिला गिरी नेतृत्वको पहिलो सरकारमा उनी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका थिए। गिरी नेतृत्वको सरकार छोटो समयमै ढलेपछि नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारमा उनी फेरि कृषि मन्त्री बने।

चौधरी नेतृत्वको सरकार पनि एक वर्षमा ढलेपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जोखबहादुर महराको नेतृत्वमा सरकार बन्यो। महरा नेतृत्वको सरकारमा पनि उनले फेरि कृषि मन्त्री नै हत्याउन सफल भए।

त्यसपछि फेरि अर्को सरकार बन्यो नेकपा (एमाले)का चेतनारायण आचार्य नेतृत्वमा । आचार्य सरकारमा शुरूमा जसपाका नेता आदेशकुमार अग्रवाल मन्त्री थिए ।

आदेशकुमारलाई हटाएर बुधबार मुख्यमन्त्री आचार्यले मन्त्रिमण्डल पुनर्गठन गर्दा अहिर फेरि मन्त्री बन्न सफल भएका हुन्। उनलाई मुख्यमन्त्री आचार्यले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिएका छन्।

अहिरको दाबी भने फरक छ । आफू मन्त्री बन्नैपर्छ भनेर कहिल्यै नलागेको उनको भनाइ छ। ‘केन्द्रको निर्देशनअनुसार नै मन्त्री बनेको हुँ, मन्त्री बन्नैपर्छ भनेर कहिल्यै लागेको छैन,’ उनी भन्छन्, ‘मन्त्री धेरै पटक बनेको देखिए पनि समय लामो छैन। मैले कृषि मन्त्री हुँदा समग्र प्रदेशमा किसानलाई मल, बिउदेखि गृहजिल्लामा डुबान र कटानको समस्या समाधानका क्षेत्रमा काम गरेको छु। अहिले जनतासँग प्रत्यक्ष जोडिने मन्त्रालय छैन।’

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–३ निवासी अहिरले २५ वर्ष शिक्षण सेवामा बिताएका थिए । प्रावि स्थायी शिक्षक उनी सेवा निवृत्त भएर राजनीतिमा आएका हुन् ।

२०७४ मा उनी आफ्नै वडामा वडाध्यक्ष निर्वाचित भएका थिए । २०७९ मा गाउँपालिका अध्यक्षको निर्वाचनमा झिनो मतले पराजित भए। त्यसपछि प्रदेशसभा निर्वाचनमा पार्टीले उनलाई उम्मेदवार बनायो ।

गाउँपालिका अध्यक्ष हारेका अहिर तत्कालीन जसपा नेपालबाट प्रदेशसभामा एमालेका विजयबहादुर यादवलाई पराजित गरी निर्वाचित भएका थिए।

उपेन्द्र यादव र अशोक राईबीचको विवादले पार्टी विभाजन भएपछि अहिर र आदेशकुमार अग्रवाल राई समूहमा लागेका थिए। यादव समूहमा अम्बिका काफ्ले मात्र छिन्। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८३ सांसद मात्र छन्।

गएको फागुन २१ को आम निर्वाचनमा चार जना प्रदेशसभा सदस्यले राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका थिए। सरकार बनाउन ४४ सांसद भए पुग्छ। लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।

salt training

कमेन्ट गर्नुहोस्