
नेपाली टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक प्रहार गरेका छन् ।
उनले सिंगापुरमा जारी एसियाली खेलकुदको पुरुष छनोट क्रिकेट प्रतियोगितामा बिहीबार मलेसियाविरुद्ध शतक बनाएका हुन् ।
उनले ४४ बलमा सात छक्का र १० चौकाको मद्दतले शतक पूरा गरेका हुन् । २९ वर्षीय कुशलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो तेस्रो शतक हो ।
यही प्रतियोगिताको चीनविरुद्धको खेलमा पनि उनले शतक बनाएका थिए । त्यो खेलमा उनले केवल ४३ बलको सामना गरी १६ छक्का र पाँच चौका हिर्काएका थिए ।
यो ढाँचाको क्रिकेटमा उनले १४ वटा अर्धशतक पनि बनाएका छन् । मलेसियाविरुद्ध कुशल र आसिफ शेखले कीर्तिमानी साझेदारी पनि गरे ।
आसिफ र कुशलले पहिलो विकेटका लागि एक सय ३४ रनको साझेदारी गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि पहिलो विकेटको यो सबैभन्दा ठूलो साझेदारी हो ।
आसिफ शेख टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ११ औं अर्धशतक पूरा गर्दै आउट भएपछि यो साझेदारी तोडिएको थियो । यी दुवै ओपनरले ८.४ ओभरसम्म साझेदारी गरेका थिए ।
यसअघि पनि पहिलो विकेटको कीर्तिमान आसिफ र कुशलकै नाममा थियो । कुशल र आसिफले सन् २०२५ को अप्रिल १० मा खेलिएको कुवेतविरुद्धको खेलमा एक सय २७ रनको साझेदारी गरेका थिए ।
२४ वर्षीय आसिफ शेख ६८ रन बनाउँदै आउट भए । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर एक सय ९५ रन बनाएको छ ।