
सिंगापुरमा जारी एसियाली खेलकुदको छनोट क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई जितका लागि दुई सय ७६ रनको विशाल लक्ष्य दिएको छ ।
नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै बनाएको यो नै सर्वाधिक रन पनि हो ।
यसअघि नेपालले सन् २०२२ को अप्रिल २ तारिखमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियाविरुद्ध पाँच विकेट गुमाएर दुई सय २३ रन बनाएको थियो ।
बिहीबार टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय ७५ रन बनाएको हो ।
नेपाली टोलीका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले उत्कृष्ट शतकीय र आसिफ शेखले अर्धशतकीय पाली खेले ।
कुशल भुर्तेलले एक सय २६ रनको योगदान गरे । लामो समय क्रिजमा टिकेका कुशलले केवल ५४ बलको सामना गरी आठ छक्का र १४ चौका हिर्काए ।
उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक प्रहार गरेका हुन् । समग्रमा भने यो ढाँचाको क्रिकेटमा उनले तेस्रो शतक बनाएका हुन् ।
यही प्रतियोगिताको चीनविरुद्धको खेलमा पनि उनले शतक बनाएका थिए । त्यो खेलमा उनले केवल ४३ बलको सामना गरी १६ छक्का र पाँच चौका हिर्काएका थिए ।
यो ढाँचाको क्रिकेटमा उनले १४ वटा अर्धशतक पनि बनाएका छन् । अर्का ओपनर आसिफ शेखले पनि टोलीका लागि ६८ रनको योगदान गरे । उनले केवल २४ बलमा सात छक्का र पाँच चौका हिर्काए ।
मलेसियाविरुद्ध कुशल र आसिफ शेखले कीर्तिमानी साझेदारी पनि गरे । २४ वर्षीय आसिफ र कुशलले पहिलो विकेटका लागि एक सय ३४ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका हुन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि पहिलो विकेटको यो सबैभन्दा ठुलो साझेदारी हो । आसिफ शेख टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ११ औं अर्धशतक पूरा गर्दै आउट भए । यी दुवै ओपनरले ८.४ ओभरसम्म साझेदारी गरेका थिए ।
यसअघि पनि पहिलो विकेटको कीर्तिमान आसिफ र कुशलकै नाममा थियो । कुशल र आसिफले सन् २०२५ को अप्रिल १० मा खेलिएको कुवेतविरुद्धको खेलमा एक सय २७ रनको साझेदारी गरेका थिए ।
चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि टोलीको खातामा ३१ रन थपे । आक्रामक रूपमा प्रस्तुत भएका उनले ११ बलको सामना गरी चार छक्का र एक चौका हिर्काए ।
सन्दीप जोरा भने १४ बलमा दुई छक्काको मद्दतले १५ रन बनाउँदै आउट भए । लाकेश बमले पनि ६ बलमा दुई चौकाको मद्दतले १० रन थपे । रोहित पौडेल पहिलो बलमै आउट भए ।
करण केसी तीन बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भए । कुशल मल्ल नौ रन र सोमपाल कामी एक रनमा अविजित रहे ।
नेपालले अतिरिक्त रूपमा पनि आठ रन पायो । मलेसियाका बलर विरनदीप सिंहले तीन विकेट लिए । विजय उन्नी र सइद अजिजले पनि दुई–दुई विकेट हात पारे ।