
परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँदिल्ली जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल तीन दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।
भ्रमणका क्रममा खनालले नयाँदिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा व्यापार, लगानी, पूर्वाधार तथा कनेक्टिभिटी, ऊर्जा र जनस्तरको सम्बन्धलगायत पारस्परिक हितका विविध विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताका रूपमा हुन लागेको यस भ्रमणले नेपाल–भारतबीचको बहुआयामिक र दीर्घकालीन सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछाने पनि अहिले भारत भ्रमणमा छन् । तर उनले उच्चस्तरीय राजनीतिक भेटघाट गरेका छन् ।
रवि नेतृत्वको टोली भोलि शुक्रबार स्वदेश फर्किँदै छन् । रवि फर्केकै दिन परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जान लागेका हुन् ।