
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषय कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा उठाउनुपर्ने बताएका छन्।
विदेश भ्रमणबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले ‘नेपाल–भारत सीमा विवादबारे कुरा उठाउनु भएन नि?’ भन्ने प्रश्न गरेपछि शुक्रबार उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
लामिछानेले कुनै पनि विषयको समाधानका लागि कूटनीतिक पहल सबैभन्दा महत्त्वपूर्ण हुने उल्लेख गर्दै हल्ला र सार्वजनिक रूपमा ढोल बजाएर मात्र समस्या समाधान नहुने बताए।
'कुनै पनि विषय कूटनीतिको माध्यमबाट गरिनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। त्यो हल्ला गरेर, ढोल बजाएर हुँदैन,' उनले भने, 'गर्नुपर्ने ठाउँमा गर्नुपर्ने जसरी चरणबद्ध रूपमा हुन्छ।'
उनले पत्रकारले उठाउने विषय र जनताबाट व्यापक मत प्राप्त गरेको राजनीतिक दलले उठाउने विषय तथा शैली फरक हुने पनि बताए ।
'पत्रकारका रूपमा उठाउने विषय र जनताको सबैभन्दा धेरै मत पाएको पार्टीले उठाउने कुरा एकै हुँदैन,' उनले भने, 'कुनै पनि कुराको एउटा चरण हुन्छ।'