२६ जेठ २०८३, मंगलबार

भिजिट भिसा प्रकरण : त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

जेठ २५, २०८३
काठमाडौं
भिजिट भिसा प्रकरण : त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘काउन्टर सेटिङ’ गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेपाल वायुसेवा निगममा करार सेवामा कार्यरत ग्राउण्ड ह्याण्डेलिङ स्टाफ प्रविन लामिछाने र सुमित्रा चन्द छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लामिछाने र चन्दलाई आइतबार नियन्त्रणमा लिएको हो ।

ग्राउण्ड ह्याण्डेलिङमा कार्यरत कर्मचारीहरूले विमानस्थलमा काउन्टर सेटिङ गरी यात्रु विदेश पठाउने गरेको तथ्य खुलेपछि अध्यागमन विभागले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो ।

अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको पत्रका आधारमा अनुसन्धान अघि बढाइएको एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा आरोपितहरूले एक भारतीय नागरिकलाई शुरूमा भारत जाने बोर्डिङ पास उपलब्ध गराएका थिए । सुरक्षा जाँच पार गरेपछि सोही यात्रुलाई दुबई जाने अर्को बोर्डिङ पास दिई उडान गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अध्यागमन विभागको अभिलेखअनुसार ती भारतीय नागरिक जेठ ३ गते दुबई उडेका थिए । अनुसन्धानका क्रममा आरोपितहरूले इन्डीगो एयरलाइन्सको भारत जाने बोर्डिङ पास र फ्लाई दुबईको दुबई जाने बोर्डिङ पास उपलब्ध गराएको तथ्य खुलेको छ।

नेपालबाट तेस्रो मुलुक जान भारतीय नागरिकले ‘नो अब्जेक्सन सर्टिफिकेट’ पेस गर्नुपर्ने व्यवस्था छ। तर आवश्यक अनुमति नै दिन नमिल्ने यात्रुलाई दुई फरक विमान कम्पनीका बोर्डिङ पास उपलब्ध गराएर प्रस्थान गराइएको पाइएको प्रहरीले जनाएको छ ।

अध्यागमन विभागका एक अधिकारीका अनुसार सुरक्षा जाँच पार गरिसकेपछि सुमित्रा चन्दले ती भारतीय नागरिकबाट इन्डीगो एयरलाइन्सको बोर्डिङ पास फिर्ता लिएको दृश्य सीसीटीभीमा कैद छ ।

salt training

कमेन्ट गर्नुहोस्