०८ असार २०८३, सोमबार

वासिङ्टन रिफ्लेक्टिङ पुल तोडफोडको आरोपमा पूर्व ओलम्पियन पक्राउ

असार ७, २०८३
काठमाडौं
वासिङ्टन रिफ्लेक्टिङ पुल तोडफोडको आरोपमा पूर्व ओलम्पियन पक्राउ

अमेरिकाको वासिङ्टन डिसीको चर्चित रिफ्लेक्टिङ पुल तोडफोड गरेको आरोपमा पूर्व अमेरिकी ओलम्पियन डेभिड 'डेभी' हर्न पक्राउ परेका छन् । तर उनले आफूले कुनै पनि सरकारी सम्पत्तिमा क्षति नपुर्‍याएको दाबी गरेका छन्। 

६७ वर्षका हर्नलाई शुक्रबार पोखरीको छेउबाट अमेरिकी पार्क पुलिस र नेशनल गार्डका जवानले नियन्त्रणमा लिएका थिए। हर्नमाथि सरकारी सम्पत्ति नष्ट गरेको अभियोग लगाइएको छ।
हर्नले आफू साइकल चलाउँदै जाँदा पोखरीको भुइँबाट रङ उप्किएको देखेर केवल हातले छोएको बताएका छन्। उनले आफू वाटरप्रूफ सामग्रीहरूको डिजाइनर समेत भएकाले त्यहाँ प्रयोग भएको वस्तुप्रति जिज्ञासा लागेर मात्र छोएको तर कुनै पनि सामग्री नच्यातेको वा ननिकालेको स्पष्ट पारे। उनले आफ्नो पक्राउलाई 'स्वेच्छाचारी' र 'प्रतिशोधपूर्ण' भनेका छन्।

करिब १ करोड ३० लाख डलरको लागतमा भर्खरै मर्मत गरिएको यो पोखरीमा प्रयोग गरिएको नीलो रङ उप्किन थालेको भन्दै केही समयदेखि आलोचना भइरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यो परियोजनालाई आफ्नो गौरवको योजनाका रूपमा अघि सारेका थिए। ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै पोखरी तोडफोड गर्ने अपराधीहरूलाई कडा सजाय दिने बताएका छन्। उनले केही व्यक्तिले पोखरीमा रसायन हालेको र चक्कुको प्रयोग गरेर संरचना बिगारेको दाबी समेत गरेका छन्।
हर्नले पक्राउ परेपछि आफूलाई पाँच घण्टासम्म जेलमा राखिएको र फोन गर्न समेत नदिइएको गुनासो गरे। उनले टेलिभिजनका पत्रकारहरूले पनि त्यसरी नै पोखरीको सामग्री छोएको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै आफूलाई मात्रै निशाना बनाइएको बताए।

 तीन पटक ओलम्पिक खेलिसकेका र दुई पटक विश्व च्याम्पियन बनेका हर्नले पोखरीको अवस्था आफू जानुअघि र पछि उस्तै रहेको जिकिर गरे। प्रशासनले भने यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

salt training

कमेन्ट गर्नुहोस्