
कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले स्थायी बसोबासको विकल्प नदिई सेन्टर खाली गराउन खोजिए आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन् ।
बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई भोलि शुक्रबार (१२ असार) भित्र स्थान खाली गर्न सूचना जारी गरेपछि उनीहरू आक्रोशित बनेका हुन् ।
सरकारले पाँच दिनभित्र २५ हजार रूपैयाँ लिएर आफैं व्यवस्थापन गर्न र होल्डिङ सेन्टर छोड्न बाध्यकारी दबाब दिएपछि पीडितहरू आक्रोशित बनेका छन् ।
सरकारले उनीहरूलाई उपलब्ध गराउने भनेको २५ हजार रूपैयाँ भुक्तानीका लागि बैंक खाताको विवरण समेत मागेको छ ।
सरकारले व्यवस्थित बसोबासमा राख्न नसक्ने भएर हटाउनको लागि बैंक विवरण मागेको सुकुम्बासीहरूको बुझाइ छ । हाल यो होल्डिङ सेन्टरभित्र फोटो र भिडियो खिच्न रोक लगाइएको छ ।
सुकुम्बासीहरूले होल्डिङ सेन्टर बाहिर ‘पीडितहरूको सरोकार पत्र’ टाँसेर आफ्ना माग सार्वजनिक गरेका छन् ।
सुकुम्बासीहरूले भूमि समस्या समाधान आयोग गठन भइसकेकाले स्थानीय सरकारमार्फत उठिबास गराइएका परिवारको तत्काल लगत संकलन, प्रमाणीकरण र पहिचान गर्न माग गरेका छन् ।
जबर्जस्ती उठिबास गराइएका परिवारलाई पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्नुपर्ने उनीहरूको भनाइ छ ।
त्यसैगरी, स्थायी व्यवस्थापन नभएसम्म होल्डिङ सेन्टरमै पर्याप्त सेवा–सुविधा उपलब्ध गराउन वा सुरक्षित बसोबासको विकल्प दिन, सरकारी नीति तथा कार्यक्रमअनुसार सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उचित र स्थायी व्यवस्थापन गर्न समेत माग गरिएको छ ।
माग सम्बोधन नभई स्थायी विकल्पबिना सेन्टर खाली गराउन खोजिए आफूहरू पुरानै बसोबास स्थलमा फर्किन बाध्य हुने सुकुम्बासीहरूले चेतावनी दिएका हुन् ।
