२० असार २०८३, शनिबार

गोली प्रहार गरेर लागुऔषध कारोबारी पक्राउ

असार १९, २०८३
काठमाडौं
गोली प्रहार गरेर लागुऔषध कारोबारी पक्राउ

लागुऔषध नियन्त्रण ब्यूरोले गोली प्रहार गरेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।

भारतको लालबनिया नाकाबाट नेपालको सिराहा, महोत्तरी हुँदै काठमाडौं उपत्यकामा लामो समयदेखि लागुऔषध खैरो हेरोइन कारोबार गर्दै आएका भारत मधुबनीका अब्दुल कलामलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नियन्त्रमा लिने क्रममा कलामले उल्टै प्रहरीमाथि कटुवा पेस्तोलमार्फत गोली प्रहार गरेका थिए। प्रहरीले आत्मरक्षाका लगि जवाफी फायर गर्दा उनी घाइते भएका ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार भारतमा बसी नेपालमा लागुऔषध हेरोइन आपूर्ति गर्ने गिरोहको प्रोफाइलिङ गर्ने क्रममा कलाम ‘नोटिस’मा आएका कारोबारी हुन्।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहा र सिरहास्थित इलाका प्रहरी कार्यालय महेशपुरको संयुक्त टोलीले कलामलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले कलामलाई घुँडामुनी एक राउण्ड गोली प्रहार गर्दा उनी घाइते भएका छन्।

घटनास्थलबाट ११५ ग्राम २० मिलिग्राम खैरो हेरोइन, एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र एक थान मोबाइल बरामद गरेको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।

घाइते कलामको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ। फरार रहेका तीन जनाको खोजी जारी रहेको ब्यूरोले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्