२१ असार २०८३, आइतबार
थारू सभ्यता चियाउने आँखीझ्याल

इतिहासको भव्य संग्रह दंगीशरणको थारू ‘म्युजियम’

असार २०, २०८३
बुटवल
इतिहासको भव्य संग्रह दंगीशरणको थारू ‘म्युजियम’

तराईका मूलवासी मानिने थारू जातिको उद्गमथलोका रूपमा लुम्बिनी प्रदेशको दाङलाई मानिन्छ । थारूको आधारभूमिका प्रथम राजा दंगीशरणले शासन गरेको विश्वासका आधारमा पश्चिम दाङमा पर्ने एउटा स्थानीय तहको नामकरण दंगीशरण गाउँपालिका गरिएको छ ।

जिल्ला सदरमुकाम तुलसीपुरबाट झण्डै १० किलोमिटर पश्चिम दंगीशरण–३ चखौरामा थारूको इतिहास, संस्कृति र परम्पराको संरक्षण गर्न भव्य ‘म्युजियम’ निर्माण गरिएको छ । संग्रहालयमा संस्कृतिका धनी मानिने थारू समुदायको कला, संस्कृति, इतिहास तथा जीवनशैली एकै थलोमा बसेर अवलोकन, बुझ्न र अध्ययन गर्न सकिन्छ ।

‘टिपिकल’ थारूको इतिहास, गाउँ/समुदाय, खेती प्रणाली, जन्मदेखि मृत्युसंस्कारसम्म सजिलै बुझाउने अनुसन्धान केन्द्र बनेको यस ‘म्युजियम’को निर्माणका पहलकर्ता लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता डिल्लीबहादुर चौधरी हुन् ।

संग्रहालयमा थारू समुदायलाई मूर्ति, चित्र र सामग्रीमार्फत प्रस्तुत गरिएको छ । पहिलो पटक पुग्ने जो–कोहीलाई फरक र रोमाञ्चक अनुभूति गराउने थारू संग्रहालयमा सम्पूर्ण जीवनशैली बुझ्न सहज हुन्छ । दंगीशरणदेखि सबै थारूका प्रमाण, घटनाक्रम, तिनका नायक, पुस्तक, अभिलेख, तस्बिर र संग्रह आदिले संग्रहालय भरिभराउ छ ।

null

परम्परागत थारू घर, अन्न भण्डारण गर्ने संरचना, कृषि औजार, माटोका भाँडा, माछा मार्ने सामग्री, चाँदीका गहना र परम्परागत पोशाक प्रदर्शनमा राखिएका छन् ।

२०७५ मा निर्माण गरिएको संग्रहालय अहिले देशभरका थारूको अध्ययन/अनुसन्धानको केन्द्रसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । दाङ आफैंमा पर्यटकीय क्षेत्रका रूपमा चिनिने जिल्ला हो । जिल्लामा विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा रहेका छन् । तिनैमध्ये थारू सांस्कृतिक संग्रहालय पनि एक हो ।

null

थारू कला, संस्कृति जोगाउन स्थापना गरिएको सांस्कृतिक संग्रहालय पर्यटकीय गन्तव्य त बनेको छ नै, ग्रामीण अर्थतन्त्रलाई समेत चलायमान बनाएको छ ।

संग्रहालय अवलोकनका लागि हरेक दिन आन्तरिक पर्यटकको घुइँचो लाग्छ । संग्रहालयमा थारू समुदायको जीवन्त इतिहास अवलोकन गर्न पाइने संग्रहालयकी उपाध्यक्ष तथा व्यवस्थापक शान्ता चौधरी बताउँछिन् ।

शान्ताका अनुसार म्युजियममा दैनिक झन्डै ५०० भन्दा बढी पर्यटकले अवलोकन गर्ने गरेका छन् । त्यसमा आन्तरिकसँगै बाह्य पर्यटक पनि हुन्छन् ।

null

‘थारू समुदाय मात्र नभई अन्य समुदायका मानिस पनि आउँछन् । विशेषगरी देशभरबाट विद्यार्थी आउने गरेका छन्,’ शान्ता भन्छिन्, ‘पछिल्लो समय थारू समुदायको संस्कृति र रहनसहनबारे अध्ययन र अवलोकन गर्न विदेशी पनि आइरहेका छन् ।’

तराईका २४ जिल्लामा थारू समुदायको बाक्लो बसोबास छ । सबै जिल्लामा बसोबास गर्ने थारू समुदायका फरक–फरक कला, संस्कृति र पहिचान झल्किने सामग्री संग्रहालयमा राखिएको छ । डगौरा, राना, चितवन्या, डशौरी, माझी र पूर्वेली गरेर थारू समुदायका विभिन्न पहिचान छन् ।

null

सबैका फरक–फरक परम्परागत भेषभूषा, भाँडाकुँडा, रहनसहन, कला र संस्कृति छन् । ती सबै एउटै ठाउँमा अवलोकन गर्न पाइन्छ । खाना पकाउने माटाका भाँडाकुँडा, ढिक्री, रक्सी बनाउने भाँडाकुँडा तथा गरगहना संग्रहालयमा राम्रोसँग हेर्न सकिन्छ ।

थारू समुदायका पुर्खाले लुगा राख्न बनाएका भौका, ढक्या, सुत्ने खटिया, बस्ने बेरी, खटौली, ढक्या गोन्द्री, धान राख्ने डेह्री, कुठली, भकारी, बिहेमा दुलाहादुलहीले चढ्ने ड्वाला र चौठ्यार पनि संरक्षण गरेर सजाइएका छन् ।

शिकार खेल्न प्रयोग गरिने हातहतियार, माछा मार्न चाहिने हेल्का, जाल, खोग्या र डेल्या म्युजियममा अवलोकन गर्न सकिन्छ । थारू समुदाय बिरामी हुँदा औषधिका रूपमा प्रयोग गर्ने विभिन्न जडीबुटी पनि त्यहाँ राखिएका छन् ।

null

थारू समुदायले हरेक वर्ष माघ महिनामा बरघर, मटावा तथा भलमन्साको चयन गर्छ । यसका लागि बस्ने बैठक तथा कचेहरीको झल्को पनि संग्रहालयमा देख्न सकिन्छ ।

२०७० सालमा ५ बिघा क्षेत्रफलमा स्थापना सुरु गरिएको संग्रहालय ५ वर्षमा निर्माण भएको हो । २०७५ सालदेखि सञ्चालनमा आएको संग्रहालय निर्माणमा २० करोड रुपैयाँ खर्च भएको छ । त्यसमध्ये लुम्बिनी प्रदेश सरकारले ३ करोड ६५ लाख रुपैयाँ सहयोग गरेको छ ।

null

डिल्ली चौधरीले आफू राज्यमन्त्री हुँदा संग्रहालय बनाउनुपर्छ भन्ने सोचसहित अघि बढेका थिए । यो निर्माण गर्दा चौधरीले देशभरका ३ हजारभन्दा बढी थारूसँग कुराकानी गरेका थिए । धेरै साहित्यको समीक्षा (रिभ्यू) गरेपछि निर्माण सुरु गरेको चौधरी बताउँछन् ।

‘अझै पहाडसँग थारूको सम्बन्ध, बाघ–भालुसँगको सम्बन्ध, हरेक जिल्लाका थारूका घरहरू संग्रहालयभित्र निर्माण गरिँदैछन्,’ डिल्ली भन्छन्, ‘अहिलेसम्म ६० प्रतिशत बनाइयो, अझै ४० प्रतिशत बाँकी छ । थारूले के खान्थे, जंगलबाट कसरी ल्याउँथे भन्ने देखाउने एउटा क्षेत्र निर्माण बाँकी छ । त्यो जंगल पनि संग्रहालयभित्रै बन्दैछ । अब बनाउन आवश्यक संरचनाका लागि यहीँको टिकटबाट पुग्छ । बाहिरबाट पैसा ल्याउन पर्दैन ।’

null

संग्रहालयमा भवन निर्माण, आकृति बनाउन तथा परम्परागत गरगहना खरिदमा खर्च भएको छ । सञ्चालनमा आएपछि भने आम्दानी हुन थालेको छ । अहिले वार्षिक ७५ लाख रुपैयाँसम्मको टिकट बिक्री हुने गरेको छ । टिकटको मूल्य १३० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै, विद्यार्थीका लागि १०० रुपैयाँ तोकिएको छ । संग्रहालयको आम्दानीले कर्मचारीलाई तलब खुवाउन पुगिरहेको छ । संग्रहालयसँगै थारू होमस्टे सञ्चालन गरिएको छ । संग्रहालय अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको होमस्टेमा रैथाने परिकार मात्र खुवाइन्छ । यसले रोजगारी पनि सिर्जना गरेको छ ।

रेखदेखदेखि व्यवस्थापनसम्म ५० जना खटिँदै आएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै थारू संग्रहालय लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको डिल्ली बताउँछन् ।

null

salt training

कमेन्ट गर्नुहोस्