
फिफा विश्वकप–२०२६ रोमाञ्चक मोडमा पुगेको छ । समूहगत चरण, अन्तिम–३२ चरण र अन्तिम–१६ चरण पार गर्दै आठ टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गरेका हुन् ।
क्वार्टरफाइनलसम्म आइपुग्दा विश्व फुटबलका सुपरस्टारहरू अर्लिङ हालान्ड, ह्यारी केन, किलियन एमबाप्पे, लियोनल मेसी र युवा सनसनी लामिन यामल मैदानमा देखिनु आफैँमा रोमाञ्चक हुनेछ ।
अबको यात्रा केवल ‘रमाइलो’का लागि मात्र होइन, लामो इतिहास बोकेको सुनौलो ट्रफी उचाल्ने लक्ष्यका साथ गरिने ‘व्यावसायिक’ प्रतिस्पर्धा पनि हुनेछ ।
अन्तिम आठमा स्थान बनाउन सफल अर्जेन्टिना, बेल्जियम, इङ्ग्ल्याण्ड, फ्रान्स, मोरक्को, नर्वे, स्पेन र स्विट्जरल्याण्डले अब उपाधिको सपना थप पसिना बगाउनु पर्नेछ ।
फ्रान्सविरुद्ध मोरक्को : एमबाप्पेको कीर्तिमान कि मोरक्कोको इतिहास ?
जारी विश्वकपमा २७ वर्षीय किलियन एमबाप्पे फ्रान्सका लागि सर्वाधिक गोलकर्ता बनिसकेका छन् । यो उनको तेस्रो विश्वकप सहभागिता हो ।
यदि, फ्रान्सले यो वर्ष उपाधि जित्यो भने, एमबाप्पेको नाम लगातार तीन विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा दर्ता हुनेछ ।
अर्कोतर्फ, मोरक्को सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेर इतिहास रच्ने टोली हो । यसपटक मोरक्को फाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्ने दाउमा देखिन्छ ।
नेदरल्यान्ड्स र क्यानडालाई हराउँदै बलियो आत्मविश्वाससहित अघि बढिरहेको मोरक्कोका लागि अजेडिन ओनाही, ब्राहिम डियाज र अचरफ हकिमी मुख्य हतियार हुन् ।
बिहीबार बिहान १:४५ मा खेलिने फ्रान्सविरुद्धको क्वार्टरफाइनल खेलमा मोरक्को ‘अन्डरडग’ भए पनि उनीहरूमा उलटफेर गर्ने गजबको क्षमता छ ।
स्पेनविरुद्ध बेल्जियम : अभेद्य डिफेन्स कि भेट्रानहरूको अनुभव ?
यो विश्वकपमा स्पेनको डिफेन्स निकै बलियो देखिएको छ । जारी विश्वकपमा स्पेनले हालसम्म कुनै पनि गोल खाएको छैन ।
स्पेनका गोलरक्षक युनाई सिमोनले ६०९ मिनेटसम्म गोल नखाएर विश्वकपमा ऐतिहासिक कीर्तिमान पनि बनाएका छन् ।
तर, अब क्वार्टरफाइनलमा स्पेनको सामना बेल्जियमसँग हुँदैछ । बेल्जियले पछिल्ला दुई खेलमा नौ गोल गरेर आफ्नो क्षमताको परिचय दिइसकेको छ ।
बेल्जियमका थिवाउट कोर्टोइस, रोमेलु लुकाकु, केभिन डी ब्रुयन र लियान्ड्रो ट्रोसार्डजस्ता अनुभवी खेलाडीका लागि यो विश्वकप अन्तिम अवसर हुन सक्छ ।
विशेष शैलीको फुटबल खेल्ने स्पेन र अनुभवी बेल्जियमबीचको भिडन्त हेर्नलायक हुनेछ । स्पेन र बेल्जियमबीचको खेल शनिबार बिहान १२:४५ बजे खेलिने छ ।
नर्वे विरुद्ध इङ्ल्यान्ड : हालान्डको जादु कि केनको सफल नेतृत्व ?
अर्को क्वार्टरफाइनल खेलमा विश्वका दुई उत्कृष्ट स्ट्राइकर हालान्ड र केन आमने–सामने हुँदैछन् । यो खेलमा लयमा देखिएका हालान्डलाई रोक्ने चुनौती इङ्ल्यान्डको डिफेन्ससामू हुनेछ ।
अर्कोतर्फ, इङ््ल्यान्ड सन् १९९६ पछि ठूलो प्रतियोगिताको उपाधि कुम्ल्याउने धुनमा छ । इङ्ल्यान्ड विश्वकपको पूर्वविजेता पनि हो ।
प्रशिक्षक थोमस टुचेलले टोली चयनमा गरेका केही विवादित निर्णयबीच इङ्ल्यान्ड क्वार्टरफाइनलसम्म आइपुगेको हो ।
नर्वेजस्तो प्रतिस्पर्धी टोलीविरुद्धको यो खेल इङ्ल्यान्डका लागि ‘गर या मर’को स्थितिजस्तै हुनेछ । इङ्ल्यान्ड र नर्वेबीचको खेल आइतबार बिहान २:२५ बजे खेलिने छ ।
अर्जेन्टिनाविरुद्ध स्विट्जरल्यान्ड : मेसीको इतिहास रच्ने सपना कि स्विस टोलीको उच्च मनोबल ?
लियोनल मेसी आफ्नो करियरको अन्तिम विश्वकपमा अर्को एउटा इतिहास रच्ने संघारमा छन् । त्यसैले उनका लागि यो निकै ठूलो अवसर हो ।
यदि अर्जेन्टिनाले उपाधि जित्यो भने मेसी कप्तानका रूपमा दुई पटक विश्वकप जित्ने पहिलो खेलाडी बन्नेछन् । अर्जेन्टिना पनि ६४ वर्षपछि लगातार दोस्रो पटक उपाधि रक्षा गर्ने टोली बन्नेछ ।
अर्कोतिर, स्विट्जरल्यान्ड सन् १९५४ पछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । त्यसैले यसपटक स्विस टोलीको मनोबल निकै उच्च छ र अर्को इतिहार कोर्ने दाउमा देखिन्छ ।
यसअघि, तीनपटक विश्वकपको क्वार्टरफाइनलमा पुगे पनि कहिल्यै त्योभन्दा अघि बढ्न नसकेको स्विट्जरल्यान्डका लागि यस पटक मेसीको अर्जेन्टिनालाई हराउनु निकै कठिन देखिन्छ । यो खेल आइतबार बिहान ६:४५ मा खेलिने छ ।
समग्रमा, विश्वकपको २३औँ संस्करण अब उत्तरार्धतर्फ चरणतर्फ लम्किरहेको छ । यसपटक कसले बाजी मार्ला ? के मेसीले दोस्रो पटक ट्रफी उचाल्लान् ? कि, एमबाप्पेले फ्रान्सलाई पुन: विश्व विजेता बनाउलान् ? वा, कुनै नयाँ राष्ट्रले इतिहास रच्ला ? अबको केही दिनमै विश्व फुटबलका यी रोचक प्रश्नहरूको जवाफ पाइने छ ।