२९ असार २०८३, सोमबार
विश्वकप

इङ्गल्याण्ड र नर्वेबीचको क्वाटरफाइनल अतिरिक्त समयमा धकेलियो; ९० मिनेटको खेल १–१ को बराबरीमा

असार २८, २०८३
काठमाडौं
इङ्गल्याण्ड र नर्वेबीचको क्वाटरफाइनल अतिरिक्त समयमा धकेलियो; ९० मिनेटको खेल १–१ को बराबरीमा

 फिफा विश्वकप २०२६ को दोस्रो क्वाटरफाइनल खेल निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरीमा सकिएपछि अब अतिरिक्त समयमा धकेलिएको छ। 

मियामी स्टेडियममा जारी निकै प्रतिस्पर्धात्मक खेलमा इङ्गल्याण्ड र नर्वेले थप गोल गर्न नसक्दा खेलको निर्णय अब थप ३० मिनेटको समयबाट लिइने भएको छ।
पहिलो हाफमा नर्वेका लागि आन्द्रेअस सेल्डरुपले ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने इङ्गल्याण्डका जुड बेलिङ्घमले इन्जुरी समयमा बराबरी गोल फर्काएका थिए। दोस्रो हाफमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि स्कोर बोर्डमा परिवर्तन हुन सकेन।

दोस्रो हाफको ५७ औं मिनेटमा नर्वेका टोर्बजोर्न हेगेमले गोल गर्दै टोलीलाई अग्रता दिलाएको जस्तो देखिएको थियो, तर भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा उक्त गोल रद्द गरियो। रिप्लेमा अर्लिङ हालान्डले इङ्गल्याण्डका इलियट एन्डरसनलाई धकेलेको देखिएपछि रेफ्रीले गोललाई मान्यता दिएनन्। 

यसअघि इङ्गल्याण्डका कप्तान ह्यारी केनको गोल पनि अफसाइडका कारण रद्द भएको थियो।

खेलको अन्तिम समयमा इङ्गल्याण्डका प्रशिक्षक थोमस टुचेलले टोलीमा थप ऊर्जा भर्न बुकायो साका, एबेरेची एजे, ड्जेड स्पेन्स र मोर्गन रोजर्सलाई मैदान पठाएका थिए। ८८ औं मिनेटमा साकाले उत्कृष्ट मुभ बनाउँदै बल क्रस गरे पनि इङ्गल्याण्डका कुनै पनि खेलाडी फिनिसिङका लागि सही स्थानमा नहुँदा टोलीले गोल गर्ने अवसर गुमायो।

 २८ वर्षपछि विश्वकप खेलिरहेको नर्वेले इङ्गल्याण्डलाई कडा टक्कर दिँदै ऐतिहासिक सेमिफाइनल यात्राको सपना कायमै राखेको छ। नर्वेका कप्तान मार्टिन ओडेगार्डले मैदानमा निकै प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन्।

अब थप ३० मिनेटको अतिरिक्त समयमा पनि नतिजा नआए खेलको फैसला पेनाल्टी सुटआउट मार्फत गरिनेछ। यस खेलको विजेताले सेमिफाइनलमा अर्जेन्टिना वा स्विजरल्याण्डको सामना गर्नेछ।

salt training

कमेन्ट गर्नुहोस्