
गणेश नेपालीको आत्मदाह घटनामा छानबिन समिति बन्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा १४ घण्टा लामो वार्तापछि आइतबार साँझ नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच नौ बुँदे सहमति भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसमेतको उपस्थितिमा पीडित पक्षसँग छलफल भइ सहमति भएको हो ।
सहमति भएसँगै पीडित पक्ष नेपालीको शव परीक्षण प्रक्रिया अगाडि बढाउन र शव बुझ्न सहमत भएका छन् ।
मुगुको सोरु गाउँपालिका–१ जवलधारा घर भएका नेपालीले यही असोज २५ गते त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए । उनको वीर अस्पतालको ‘बर्न युनिट’मा उपचारका क्रममा यही असार २५ गते राति निधन भएको थियो । उक्त घटनालाई लिएर पीडित पक्ष आन्दोलित भएका थिए ।
सहमति पत्रमा नेपाल सरकार तथा काठमाडौं महानगरपालिकाले मृतक गणेश नेपालीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
सहमतिपत्रमा घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ । उक्त समितिले गठन भएको मितिले सात दिनभित्र आफ्नो प्रतिवेदन सरकारसमक्ष पेस गरिसक्नुपर्नेछ ।
मृतक गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानून, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।