भारतका विभिन्न राज्यमा भारी वर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ। उत्तर प्रदेश (यूपी) का १० र बिहारका ८ गरी कुल १८ जिल्लामा मुसलधारे वर्षा भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
समाचारअनुसार प्रदेशका हरदोई, लखनऊ, रायबरेली, सीतापुर र उन्नावसहित उत्तर प्रदेशका ३६ जिल्लामा वर्षाको ‘अलर्ट’समेत जारी गरिएको छ ।
अर्कातर्फ, उत्तर-पूर्वी राज्य अरुणाचल प्रदेशमा विगत २४ घण्टामा गएको बाढी, पहिरो र वर्षाका कारण १ लाख २ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । त्यहाँ हालसम्म ७ जनाको मृत्यु भइसकेको छ भने २९ जना घाइते भएका छन् । त्यस्तै, असम राज्यका ६ जिल्लाका ९९ वटा गाउँ बाढीको चपेटामा परेको समाचारमा उल्लेख छ, जसबाट ३७ हजार ३२ जना मानिस प्रभावित भएका छन्।
ओडिशाको पुरीमा पनि भारी वर्षा भइरहेको छ।
अर्कोतर्फ पूर्वी नेपालमा परेको अविरल वर्षाका कारण पनि बाढी र डुबानको जोखिम छ । गएराति कोशी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेको थियो । अधिकारीहरूले पूर्वी नेपालमा वर्षा जारी रहेमा पानीको बहाव अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।
नदीमा पानीको बढ्दो जलस्तरलाई ध्यानमा राख्दै ब्यारेजका कुल ५६ वटा ढोका (गेटका) मध्ये २१ वटा ढोका खोलिएका छन् । कोशी बैराज नेपाल र भारतका छिमेकी क्षेत्रहरूका लागि बाढी नियन्त्रण गर्ने एक महत्त्वपूर्ण संरचना हो ।