
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान वा त्यसभन्दा केही उत्तरतर्फ अवस्थित रहेकाले देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार आज हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ।
यसैगरी, पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईतर्फ कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ।
विशेषगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज राति पनि कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भू-भागका केही स्थानमा मध्यम वर्षा हुनेछ। मधेश, कर्णालीको पहाडी क्षेत्र र सुदूरपश्चिमका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
राति कोशी, बागमती र गण्डकीका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।